अवैध रूपमा ढुंगा, गिटी, बालुवा निकासी

|

उदयपुर : भित्री मधेसमा पर्ने चुरे जंगलका नदीनाला दोहन हुने क्रम रोकिएको छैन। सरोकारवाला निकाय मौन हुँदा विकास निर्माणलगायतका कार्यको नाममा नदीजन्य ढुंगा, गिटी, बालुवाको दोहन हुने क्रम नरोकिएको हो।

उदयपुरको चुरे क्षेत्रका ठूला नदीअन्तर्गत तावा, बरुवा र त्रियुगा नदीबाट उत्खन्न भइरहेको छ। ‘बरुवाखोलाबाट ढुंगा, गिटी, बालुवा दैनिक ३० वटाभन्दा बढी टिप्परले ओसार्छन्,’ स्थानीय रमा काफ्ले भनिन्, ‘कानुनी प्रक्रिया पुर्‍याएर लगेका छाैं भन्छन्, अनुगमन गर्न कोही आएका छैनन्।’

जिल्ला सम्नवय समिति उदयपुरले ढुंगा, गिटी र बालुवका उत्खनन् गर्न चालु आर्थिकमा ठेक्का लगाएको छ। समन्वय समितिका स्थानीय विकास अधिकारी शिवप्रसाद हुमेगाईंले वातावरणीय प्रभाव मूल्यांकन(आईईई) गरेर ठेक्का लगाएको बताए। ‘ठेक्का स्थानीय तहले लगाउनुपर्ने थियो,’ हुमेगाईंले भने, ‘चालु आर्थिक वर्षमा हामीले लगाएकाले अनुगमन हामीले नै गर्नुपर्ने हो। तर जनशक्ति अभाव भएकाले प्रभावकारी अनुगमन भएको छैन।’

उत्खनन् स्थलमा चार किल्ला खुलाई ढुंगा, गिटी र बालुवा निकाल्ने होर्डिङ बोर्ड समेत राख्नुपर्ने प्रावधान छ। तर, यस क्षेत्रमा उक्त प्रावधानअनुसार काम नभएको स्थानीय विकास अधिकारी हुमेगाईको भनाइ छ। ठेकेदारहरुले चरम लापरवाहीपूर्ण रुपले उत्खनन् गरिरहेका छन। जथाभावी रुपमा नदी उत्खन्न गर्दा नदी किनारका वस्ति समेत जोखिममा परेको स्थानीयको भनाइ छ।

वैकल्पिक लोकमार्ग निर्माण सामग्री तयार गर्न बरुवा, त्रियुगा र तावाखोला किनारमा जेडआईइसी लामा एण्ड शर्मा जे.भी. कम्पनीले दैनिक एक्साभेटर प्रयोग गरिरहेको छ।     उक्त कम्पनीले राष्ट्रिय गौरवको आयोजनाको नाममा चुरे क्षेत्रका नदीमा दोहन गर्दा पनि प्रभावकारी अनुगमन हुन नसकेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘कटारी क्षेत्रमा पर्ने तावाखोलामा हामीले मापदण्डभन्दा बढी उत्खन्न नर्गनु भन्दा जिल्ला समन्वय समितिबाट ठेक्का लिएका हौं भन्छ,’ उनले भने, ‘जिल्ला समन्वय समितिले अनुगमन गर्दैन।’

जिल्लाका बेलका, चौदण्डी, त्रियुगा र कटारी नगरपालिकामा निर्माण भइरहेको बैकल्पिक लोकमार्ग सुनसरीको चतरादेखि हेटौडा जोड्ने सडक हो। सोही सडकको ठेक्का बेलका नगरपालिकको बसाहादेखि सिन्धुलीको भिमानसम्म जेडआईईसी लामा एण्ड शर्मा जे.भी.ले लिएर काम गरिरहेको छ। 

अवैध निकासी

उक्त कम्पनीले लोकमार्गको नाममा जिल्लाबाहिर त्यस क्षेत्रबाट गिट्टी, बालुवा निकासी गर्ने गरेको रहस्य खुलेको छ। केही दिन अघि मात्र जेडआईईसी लामा एण्ड शर्मा जे.भी.को क्रसर उद्योगबाट सिरहा र सप्तरीतर्फ बिक्रीका लागि गिट्टी, बालुवा लैजाँदै गर्दा ११ वटा टिप्पर जलजले प्रहरी चौकीले नियन्त्रणमा लिएका थियो। ती टिप्पलाई दुई हजार रुपैयाँ जरिवाना लिएर छाडिएको थियो।

स्थानीय तहका केही जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको मिलेमत्तोमा अवैधरुपमा गिट्टी, बाुला जिल्लाबाहिर निकासी भइरहेको स्थानीयको आरोप छ। ‘नदीजन्य गिट्टी, बालुवा तस्कारी हुने गरेको छ,’ गाईघाटका खड्ग राउतले भने, ‘न नगरपालिका बोल्छ, न जिल्ला समन्वय समिति न प्रहरीले पक्राउ गर्छ।’

जिल्ला समन्वय समितिले ठेक्का लगाउँदा ११ हजार घनमिटर गिटी, बालुवा निकासीको सम्झौता भएको थियो। सम्झौतामा बिहान साढे ६ बजेदेखि बेलुका बिहान साढे ६ बजेसम्म उत्खन्न, लोडअनलोड गर्न स्वीकृत दिइएको समन्वय समितिका प्रमुख खड्बहादुर परियारले बताए।

‘गुनासो आएको ठाउँमा हामी त्यहाँको स्थाानीय तहका प्रमुख तथा प्रतिनिधि लिएर पुगेका छौं, तर प्रभावकारी हुन सकेको छैन,’ उनले भने, ‘सम्झौताको शर्तअनुसरा काम नर्गेलाई कारबाही गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.