|
आफ्नै जीपमा ठम्म आचार्य

कालिकोट : खाँडाचक्र नगरपालिका–४ बद्रीगाउँ किसानहरू तरकारी बेचेरै गाडीका धनी भएका छन्। उनीहरूले तरकारी बेचेर आएको आम्दानीबाट नै गाडी किनेका हुन्।

वडा नम्बर ४ का हरिचन्द्र आचार्य, ठम्म आचार्य, ऋषि आचार्य र प्रकाश आचार्य आलु, गोलभेंडा, काउली, गाजर, प्याजलगायत तरकारी बाली लगाउँछन्। उनीहरूले तरकारी खेतीबाट भएको आम्दानीबाट जीप, कार, ट्रक, ट्रयाक्टर किनेका छन्।

हरिचन्द्रको एउटा निजी नम्बर प्लेटको जीप र एउटा सार्वजनिक जीप किनेका छन् भने ठम्म आचार्यका दुई वटा निजी नम्बरको जीप जोडेका छन्। यस्तै, ऋषि आचार्य र प्रकाश आचार्यले पनि एउटा एउटा गाडी किनेका छन्।

उनीहरूजस्तै उक्त गाउँका अन्य आठ जना किसानका आफ्नै ट्रयाक्टर, ट्रकलगायत सवारी तथा ढुवानी साधन किनेका छन्। बद्रीगाउँका किसानहरूले गाडी खरिद गर्ने मात्र होइन, सदरमुकाममा मान्मलगायतका बजारमा घर समेत जोडेका छन्। केहीले सुर्खेत र नेपालगंजमा घर खडेरी किनेका छन्। 

बद्रीगाउँका किसानहरू कर्णालीमा सडक नपुग्जेल आफूले उत्पादन गरेका तरकारी डोकोमा बोकेर दुई घण्टाको पैतल यात्रा गरी मान्म बजार लगेर बिक्री गर्दथे। अहिले गाडीले लान थालेका छन्। ‘गाउँमा तरकारी नलगाउने मान्छे नै छैनन्।’ धनप्रसाद आचार्यले भने, ‘प्रत्येक बिहान तरकारी बेच्न बजारमा जाने गरेका छन्।’

यस गाउँमा आचार्य थरका ५१ घरधुरी रहेका छन्। स्थानीय भानुभक्त आचार्यले भने, ‘तरकारी नलगाउने एक जना पनि भेटिँदैन।’ उनीहरू सबैले आफ्ना बालबालिका राम्रा विद्यालयमा पढाउादै आएका छन्।

बजारको राम्रो व्यवस्था भए गाउँमा नै मेहेनत गरेर सुन फलाउन सकिने किसान गणेश आचार्य बताउँछन्। उनले भने, ‘पहिला त बजारको आवश्यकता पर्दो रहेछ।’

यस गाउँमा विगतमा खाद्यान्न बालीको खेती गर्दा वर्षभरि खान समेत धौ–धौ हुने गरेको यहाँका बासिन्दाहरू स्मरण गर्छन्। खाना नपुगेपछि उनीहरू रोजगारीका गाउँबाहिर जानुपर्ने बाध्यता थियो। तर, एक दशकदेखि तरकारी खेती गर्न थालेपछि यस गाउँका बासिन्दाको अवस्था फेरिएको स्थानीय परमानन्द आचार्यले बताए।

गाउँमा उत्पादन हुने तरकारी बेच्नका लागि मान्मबजारमा १० जनाभन्दा बढी किसानहरुले तरकारी ब्यवसाय समेत शुरु गरेका छन्। ‘गाउँका १० जनाभन्दा बढी किसानहरुले मान्मबजारमा तरकारी पसल सञ्चालन गरेका छन्।’ भवानी आचार्यले भने, ‘उनीहरूले गाउँमा उत्पादन भएको तरकारी आफ्नै पसल ल्याएर बेच्ने गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.