|

दार्चुला : देशको ५२ खुला दिसामुक्त जिल्लाका रुपमा दार्चुलालाई घोषणा गरिएको छ। सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दार्चुलालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन्।

खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आवश्यक सबै पूर्वाधार र सूचकांक पुगेकाले जिल्लालाई क्षेत्रीय खानेपानी तथा सरसफाइ समन्वय समितिको निर्णयअनुसार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय दार्चुलाका प्रमुख प्रकाश रावलले जानकारी दिए।

खुला दिसामुक्त कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेश सरकारका भौतिक योजना पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरासहित प्रदेश सांसदहरु गेल्बुपसिह बोहरा र मानबहादुर धामी पनि दार्चुला पुगेका थिए। कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

कार्यक्रम तय भएको ६ वर्षपछि घोषणा

जिल्लालाई सन् २०१२ मै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम तय भएको थियो तर आवश्यक सूचकांकहरु नपुगेको भन्दै खुला दिसामुक्त क्षेत्र घोषणा हुन सकेको थिएन।

सन् २०१३ देखि सन् २०१७ सम्म जिल्लाका सबै स्थानीय तहहरुलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो सदरमुकाम रहेको तत्कालीन अपि नगरपालिकालाई भने खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थिएन। सन् २०१८ को सुरुसम्म पनि हालको महाकाली नगरपालिकाको वडा नम्बर ४ मा शौचालयका पाइपहरु खुला वा महाकाली नदीमा मिसिएकोले त्यसको व्यवस्थापन नभएसम्म नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न समस्या भएको भन्दै पटक पटक महाकाली नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम सर्दै आएको थियो।

सदरमुकाममा सार्वजनिक शौचालय पनि नभएको र महाकालीमा ढल समेत मिसाइएकाले मौजुदा अवस्थामा खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुहुँदैन भन्ने मान्यताका साथ नगरपालिका आफैँले खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकेको थिएन।

ढाँट तथ्यांक

जिल्ला सदरमुकाम रहेको महाकाली नगरपालिका वडा नम्बर ४ मै सयभन्दा बढी घरपरिवारको शौचालयको फोहोर महाकाली नदीमा मिसाइएको भएपनि जिल्ला खानेपानी तथा सरसफाई तथा स्वच्छता समन्वय समितिले भने जिल्लाका सबै घरधुरीमा शौचालय भएको ढाँट तथ्यांक सार्वजनिक गरेको छ।

जिल्लाका २६ हजार २६ सबै घरपरिवारसँग शौचालय नभए पनि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जारी गरेको तथ्यांकमा ९७ प्रतिशित सुधारिएको शौचालय र ३ प्रतिशतसँग कच्ची शौचालय भएको उल्लेख छ।

खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम राखिएको खुला मञ्चको पछाडि र सोही खुला मञ्चको अधिल्लतिर रहेको कभर्ड हल वरपर रहेको दिसाजन्य फोहोरलाई खुला दिसामुक्त क्षेत्र घोषणाको क्रममा सफा गरेको जिल्ला खानेपानी सरसफाई तथा सच्छता समन्व्य समितिले जिल्लाको सरफाइको अवस्था १०० प्रतिशत रहेको उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.