|

बाँके : नेपालगन्जस्थित औद्योगिक क्षेत्रमा रहेको शिखर केवल प्रालिका कामदारले तार उत्पादनका लागि मेसिन चलाए । केहीबेर मेसिन तताए पछि तार उत्पादनका लागि मेसिनमा कच्चा पदार्थ राखेर उत्पादन सुरु गर्न थाले । तर उत्पादन सुरु भएको पाँच मिनेट नबित्दै अकस्मात विद्युत अवरुद्ध भयो। विद्युत् अवरुद्ध भएपछि उत्पादनका लागि मेसिनमा राखेको कच्चा पदार्थ काम नलाग्ने भएर खेर गयो।

‘तपाईले देख्नु भएको त एक पटक मात्र हो, यस्तो प्रक्रिया दैनिक दशौँ पटक हुन्छ,’ शिखर केवलका संचालक चम्फालाल बोथ्राले दुखेसो पोखे। 

उत्पादनका लागि तयार पारेको कच्चा पदार्थ दैनिक जसो खेर जाने गरेको उनी बताउँछन्। उत्पान नहुँनुभन्दा विद्युत् आपूर्ति अचानक बन्द हुँदा धेरै घाटा हुने गरेको उनको भनाइ छ। ‘झ्याप्प–झ्याप्प विद्युत् अवरुद्ध हुँदा कच्चा पदार्थ खेर गइरहेको छ नै विद्युत मोटर र मेसिन समेतबिग्रिएका छन्,’ उनले भने । 

उत्पादनमा कमी

विद्युत जाने समस्या सँगै लो–भोल्टेजको समस्या पनि विद्यमान रहेको उनले बताए। पछिल्लो समयमात्र नभई विगतका वर्षदेखि नेपालगन्जका उद्योगी, व्यवसायी र सर्वसाधारणले लो–भोल्टेजको समस्या झेल्दै आएका छन्। ‘लो–भोल्टेजले पंखा त घुम्दैन, मेसिन चलाउने कल्पना समेत गर्न सकिदैन,’ शिखर प्लाई उडका प्रोप्राइटर समेत रहेको बोथ्राले भने। 

विद्युत अनियमित भएपछि उत्पादनमा ५० प्रतिशत कमी आएको जय मंगलम सिमेन्ट प्रालिका संचालक संजय अग्रवालले बताए। उनले अचानक बत्ती जाँदा मेसिन चलाउन नसकिएको बताए। विद्युत नियमित नहुँदा दोहोरो मारमा उद्योगी, व्यवसायी परेको उनले बताए । ‘एकातिर कामदारलाई काम नगराएर ज्याला दिनु परेको छ, अर्को तर्फ उत्पादनका लागि तयार पारेको कच्चा पदार्थ बिग्रिएर खेर गएको छ,’ उनले भने । 

विद्युत् अपुगले वितरणमा समस्या

विद्युत् अपुग भएका कारण नेपालगन्जमा लो–भोल्टेज र पटक–पटक विद्युत अवरुद्ध हुने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जका प्रमुख रामदुलार यादवले बताए। उनले माग अनुसारको विद्युत आपूर्ती नहुँदा एकातिरको फिडर काटेर अर्को फिडरमा लाइन दिने गरेको बताए। 

नेपालगन्जमा २० मेगावाट विद्युत् माग भए पनि हाल भारतबाट १२ मेगाबाट विद्युत नियमित रुपमा आइरहेको छ। भारतको विद्युत सँगै नेपालको विद्युत् आएमात्र सबै ठाउँमा पुर्‍याउन सकिने उनले बताए। ‘भारतबाट ल्याएको विद्युतले मात्र पुग्दैन, नेपालको विद्युत कम आएर सबैतिर वितरण गर्न सकिएको छैन,’ उनले भने। 

उनका अनुसार, नेपाल र भारतको विद्युत भएकोले फिडर परिवर्तन गर्ने क्रममा १५–२० मिनेट लाइन काट्नु पर्ने हुन्छ। त्यसैले नेपालगन्जमा बेला–बेलामा विद्युत अवरुद्ध हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.