|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दै छन्। प्रधानमन्त्री मोदीको भ्रमणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विज्ञहरू तथा दलका नेताहरूसँग छलफल गरेका छन्। 

छलफलका क्रममा उनीहरूले नेपालका तर्फबाट राष्ट्रिय हितका पक्षमा काम गर्न सुझाएका छन्। मोदीको भ्रमणबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेपछि उनीहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। प्रधानमन्त्री ओलीले एक महिनाअघिको भारतको राजकीय भ्रमणका क्रममा भारतीय समकक्षीसँग सुझाएको मितिमै मोदीको भ्रमण हुन लागेको बताएका थिए। 

पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूलाई मोदीको भ्रमणका बारेमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको बताए। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सकारात्मक रहेको भन्दै डा. भट्टराईले भेटमा राष्ट्रिय हितलाई सर्वोपरि ठान्न सुझाव दिइएको जानकारी दिए।

छलफलका क्रममा पूर्वप्रधानमन्त्री तथा पूर्वपराराष्ट्रमन्त्री माधवकुमार नेपालले भारतले सीमा क्षेत्रमा बनाएका बाँधहरूका कारण हरेक वर्षातका मौसममा नेपालपट्टि डुबान हुने समस्याका सम्बन्धमा भारतीय पक्षले संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिए।

पूर्वपरराष्ट्रमन्त्रीहरू, दलका नेताहरूबीचको छलफलमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले आफूहरूले नेपालको प्रतिष्ठा कायम हुने गरी भ्रमणलाई सार्थक बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएको बताए। नेपाल र भारतबीच अहिले पनि केही समस्या रहेको भन्दै सिमानाहरूमा बाटो खन्ने, बाँध लगाउने, तारबार हटाउने, विराटनगरमा भारत सरकारले अनधिकृत तरिकाले कार्यालय राख्नेलगायतका काम भएकाले ती काम भारतले रोक्नुपर्ने नेताहरूले ओलीलाई सुझाव दिएका छन्। 'बोर्डरहरूको तारबार हटाउने, बाटो खन्ने, बाँध लगाउनेलगायतका केही समस्या छन्, यी समस्या समाधान नभएसम्म हाम्रो सुमधुर मित्रता कायम रहन सक्दैन', नेता गौतमले भने।

परराष्ट्र मामिलासम्बन्धी जानकार तथा एमाले नेता डा. राजन भट्टराईले नेपाल-भारतबीच हिजोदेखि उठ्दै आएका तर अहिलेसम्म नटुंगिएका विषय पनि टुंगो लगाउन सुझाव दिइएको बताए। सीमाका समस्या समाधान, विराटनगरमा रहेको कार्यालय हटाउने कुरा, एयर रुट पाउने कुराहरू उठाइएको नेता भट्टराईले बताए। 'भारतीय प्रधानमन्त्रीको भ्रमणका सिलसिलामा प्रधानमन्त्रीले अहिलेसम्म भएका कुराहरूको जानकारी दिनुभयो', उनले भने, 'उहाँहरूले मूलभूत रूपमा राष्ट्र हितलाई ध्यानमा राखेर सहमति सम्झौताहरू गर्न सुझाव दिनुभएको छ।'

त्यस क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणका अवसरमा आयोजना गरिने कार्यक्रमहरूका बारेमा जानकारी दिए।पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले प्रधानमन्त्री ओलीको पहलमा नेपाल र भारतबीच यसअघि कहिल्यै नभएको सम्वाद भइरहेको धारणा व्यक्त गर्दै भारतको राजनीतिक तहमा नेपालको सुनुवाइ प्रभावकारी रूपमा भइरहेको बताए। भारतीय पक्षको कार्यान्वयन गर्ने तहबाट पनि त्यसअनुसार व्यवहार हुनेछ भन्ने अपेक्षा गरिएको उनले बताए।

संघीय लोकतान्त्रिक फोरमका राजेन्द्र श्रेष्ठले पनि नेपालका तर्फबाट भारतीय पक्ष समक्ष दुई पक्षीय मामिलामा वार्ता गर्दा राष्ट्र हितको विषयलाई शिरोपर गर्नुपर्ने धारणा व्यक्त गरे। पूर्वपरराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, पूर्वरक्षामन्त्री भीम रावल, राजपाका नेता महन्थ ठाकुरले भारतका तर्फबाट गरिएका प्रतिवद्धता पूरा गरिनुपर्ने धारणा राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.