|

भक्तपुर : संरक्षण अभावमा भक्तपुरका हनुमन्ते नदीको किनारमा रहेका चुपिङघाट र मंगलतीर्थका शिवालयहरू जीर्ण अवस्थामा छन्। धार्मिक, सामाजिक तथा ऐतिहासिक क्षेत्रमा आफ्नो छुट्टै महत्व रहेको विभिन्न कलात्मक शैलीमा निर्माण गरिएका चुपिङघाट र मंगलतीर्थका शिवालय सरोकारवालाको ध्यान आकर्षण हुन सकेको छैन।  

बढ्दो जनसंख्या वृद्धि र बसाइँसराइका कारण धार्मिक आस्था नभएका मानिसले शिवालय भत्काइएका छन्, भने केही संरक्षण र जीर्णद्धारको अभावमा पुरिएर घाँसे मैदानका रूपमा परिणत भएका छन्। दिवंगत व्यक्तिको सम्झनामा बनाइएका मल्लकालीन शिवालयलाई सम्बन्धित निकायले समयमै संरक्षण र सम्बर्द्धनका लागि उचित व्यवस्था नगरेकाले बेहाल अवस्थामा पुगेको संस्कृतिकर्मी ओम धौभडेलले बताए।  उनले भने, ‘मानिसको मृत्यु भएपछि घरबाट घाट लिएर जाँदा मृतआत्माले मोक्ष प्राप्त होस् भन्ने उद्देश्यले खोलाको छेउमा शिवालय निर्माण गरिएको हुन्छ। जहाँ जोकोही पनि दिवंगत व्यक्तिको सम्झनामा गरिने मृत्यु संस्कारका कार्यहरु सम्पन्न गरिन्छ।’

ऐतिहासिक तथा धर्मिक आस्था बोकेका शिवालय वरिपरि र पानी बग्ने ढुंगेधारा विभिन्न देवीदेवताका मूर्तिका साथै गणेश पार्वतीलगायतका मूर्तिहरु कलात्मक ढंगले निर्माण गरिएका छन्। झण्डै नौ रोपनी जग्गमा फैलिएको करिब १९० वर्ष पुरानो सतलसहितको शिवालय घर नभएका मानिसहरूका लागि कर्मकाण्ड गर्न तथा नगरको सुन्दरता, शोभनीयता बढाउने उद्देश्यले पनि निर्माण गरिएको स्थानीय बताउँछन्। 

शिवालयहरूको जीर्णोद्धारका लागि स्थानीयहरू मिलेर पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको सम्पदा शाखामा पटक-पटक पत्राचार गरे पनि त्यसबारे केही सुनवाइ नभएको भनपा-३ का तुल्सीभक्त जोशीले गुनासो गरे। ‘शिवालय जीर्णोद्धार गर्ने र यसलाई जीवन्तता दिन सरोकारवालाले साथ नदिएको कारण शिवालयको संरक्षणमा प्रतिकूल असर परेको छ। घाँसपात फोहोर आदिले पुरिएर अलपत्र र बेवारिसे अवस्थामा पुगे, तर शिवालय जिर्णोद्धार गर्नेमा भने ध्यान केन्द्रित गर्न सकेन, पुर्खाले आर्जेका दिंवगतका कीर्ति पाखा लगाए,’ उनले भने।

पुरातात्विक विभागका प्रमुख मोहन सिं लामाले मल्लकालीन शिवालय ऐतिहासिक तथा जिउँदो इतिहास भएका कारण यसको संरक्षण गर्न, यसलाई जीवन्तता दिनु र सुरक्षा गर्नु विभागको काम भएको स्वीकार गरे। ‘कुनै पनि सम्पदाको पुनर्निर्माणका लागि केन्द्रीय बजेटको परिधिभित्र रहेर हामीले काम गर्नुपर्छ। तत्कालको लागि हामीसँग बजेट छैन, तत्काल गर्न सक्ने स्थिति पनि छैन। भक्तपुरका सम्पदाहरूको जीर्णोद्धारका लागि केही कार्यक्रमहरु तयार पारेका छौँ, ती कार्यक्रम हामीले ०७५/७६ को बजेटमा हालेका छौँ। त्योअनुसार हामी अगाडि बढ्ने हो। यदि स्थानीयले सम्पदाको व्यवस्थापन र स‌ंरक्षण गर्ने हो भने त्यतातिर पनि हामी हेर्छौं।’ उनले भने।


सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा समस्या

दिवंगतको आत्माको सम्झनामा पुर्खाले बनाइएका शिवालयलाई जीर्णद्धार गर्न नसक्नुमा स्थानीय निकाय, सम्पदा शाखा र पुरातात्विक विभागबीच समन्वय हुन नसकेको शिवालय जीर्णोद्धार समितिका संयोजक तीर्थ सुवालले बताए।

‘हामीले पटक-पटक निवेदन गर्दासमेत कुनै प्रतिक्रिया नदिने, यस्तो नि हुन्छ। ठाउँमा बसेपछि त कि गरिदिन्छु कि गर्न सक्दिनँ भन्न सक्नुपर्‍यो। इतिहास, र संस्कृति अनि समाज विकासको दर्पण रहेका रूपमा रहेका शिवालयलाई जीवन्तता दिन, जीर्णद्धार गर्न नसक्नुमा सम्बन्धित निकायको आपसी टकराव हो। नगरपालिका कार्यलय  गए पुरातत्व जाऊ भन्ने पुरातत्व गए उता जाऊ भन्ने हामी कहाँ जाने?’उनले आक्रोश पोखे।

यता, भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले चुपिङघाट र मंगलतीर्थका शिवालयहरु धौभडेल, गोंग र प्रधानांगलगायतका समुदायको प्रतिनिधित्व भएको हुनाले कसैको निजी सम्पदामा हामीले हात हाल्न नमिल्ने बताए। उनले भने, ‘यदि उनीहरूले गर्न सकेनन् भनी निवेदन दिए भने मात्र हामी वडा-वडाको जिम्मामा यसको जीर्णोद्धारको लागि अघि बढ्ने हो।’ 

सरकारी उदासीनता, मानवीय चेतनाको कमीले, पछिल्लो समयमा सार्वजनिक जग्गा तथा सम्पदाहरुको अतिक्रमण वृद्धिले मल्लकालीन ऐतिहासिक महत्व बोकेको सम्पदाहरूमा नराम्ररी प्रभावित भएका छन्। सम्बधित निकायले समयमै आवश्यक ध्यान पुर्‍याउने हो भने सांस्कृतिक, धार्मिक सभ्यताको विकासको चिनो, इतिहासको दर्पणको रूपमा रहेका शिवालयहरुको उचित संरक्षण गर्न सके भक्तपुरको लागि नयाँ पर्यटकीय गन्तव्य हुने सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.