|

दैलेख : सिँचाइ आयोजना सुरु भएको ३१ वर्षसम्म पनि निर्माण सपन्न हुन सकेको छैन्। दैलेखको गीताचौर–रावतकोट सिँचाइ आयोजाना तत्कालिन राजा विरेन्द्र शाहको ठाडो आदेशमा सुरु भएको थियो।

अहिलेसम्म उक्त आयोजनामा करिब चार करोड अाठ लाख रकम खर्च भैसकेको सिँचाइ डिभिजन कार्यालय दैलेखले जनाएको छ। वर्षेनी बजेट खन्याइए पनि आयोजना सम्पन्न हुनसकेको छैन। सिँचाइ डिभिजन कार्यालयले प्रत्येक वर्ष उक्त आयोजनाका लागि टेन्डर खोल्ने गर्दछ। ३१ वर्ष अघिदेखि निर्माण सुरु गरिएको आयोजना क्षेत्रफलको हिसाबले पश्चिमी पहाडी भेककै ठूलो हो। आयोजनाको मुहानमा बनाइएको नहर अहिले जीर्ण अवस्थामा पुगेको छ।

विगतमै उपभोक्ता समिति र ठेकेदारकै लापरवाहीका कारण सिँचाइ आयोजना सम्पन्न हुन नसकेको डिभिजन कार्यालयका प्रमुख तारा वाग्लेले बताए। सिँचाइ डिभिजनको कार्यालय सुर्खेतमा हुँदा यहाँ काम गर्ने कामदारले ज्याला पाउन सकेका छैनन्। तर, डिभिजन कार्यालय दैलेखमा आएसँगै काम भैरहेको प्रमुख वाग्ले बताउँछन्। 

प्रमुख वाग्लेका अनुसार सरकारले सिँचाइ डिभिज कार्यालयमार्फत कम बजेट पठाउने, उपभोक्ता समितिले श्रमदान नगर्ने र ठेकेदारले काम नसक्ने कारणले यो योजना लथालिङ अवस्थामा पुगेको हो। निर्माण कम्पनी स्वच्छन्द÷प्रदीप जेवी सुर्खेतले काम गर्दागदै भागेपछि दैलेखको महत्वकांक्षी सिचाई योजना अलपत्र परेको हो। 

१४ किलोमिटर लम्वाई रहेको रहेको उक्त आयोजना छ करोड ३० लाख लागतमा बनाइन लागेको प्रमुख वाग्लेले बताए। ‘सवैको सहयोग र बजेट भए किसानको सपना पूरा हुन्छ’, उनले भने, ‘साइफनको निर्माण समितिमार्फत ४० लाख रुपैयाँ लागतमा सम्पन्न गरिएका छ।’ तर, उपभोक्ता समितिका अध्यक्ष तिलकप्रसाद रिजाल भने ४० लाखमा आठ लाख रुपैयाँ मात्र पाएको बताउछन्।

दैलेखका (साबिक) का रावतकोट, वडलम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन गाविसका कृषकहरूका चार सय ३६ हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले २०४२ सालदेखि यसको निर्माण थालिएको हो। विस २०२२ सालबाट सुरु गरि १८ वर्ष लामो विस्तृत सर्वेक्षण पश्चात् आयोजनाको निर्माण कार्य विस २०४३ सालबाट सुरु गरिएको थियो।

निर्माण सम्बद्ध पक्षले सिँचाइका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोग, माओवादी द्वन्द्वको कारण जनाउदै बीचमा आयोजनाको निर्माण कार्य रोकेको थियो। सुरुमा पानीको स्रोत नपुग्ने भन्दै सिँचाई कार्यालयले सवा दुई करोडको यो परियोजना बीचैमा रद्द गरेको थियो। कामै सम्पन्न नगरी बजेट सिध्याउनलाई उपभोक्ता समिति र ठेकेदारहरूले स्थानीयले सहयोग नगरेको कारण देखाउँदै करिव छ वर्षसम्म काम रोकेको स्थानीय सूर्यबहादुर थापाले बताए। 

तत्कालिन सिँचाइ कार्यालयले २०४७ सालमा पुनः टेण्डर आह्वान गरि काम सुचारु गर्न निर्माण पक्षलाई जिम्मा दिएको थियो। यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ता बीचको मिलेमतोमा आधा काम सम्पन्न गरी आयोजना सम्पन्न गरेको परफारक गरी प्रतिवेनद बुझाएको स्थानीय थापा बताउँछन्। आयोजनाको प्रारम्भिक चरणका काम सम्पन्न नगरी २०४९ देखि २०५६ सालसम्म दुई करोड ९७ लाख रुपैयाँ खर्च भैसकेको जनाइएको छ।

आयोजनाप्रति समुदायको अपनत्व बढाउने नीतिअनुसार स्थानीयले शेयर लगानी गर्नुपर्ने कार्यालयले प्रस्ताव गरेपछि २०५५ सालमा रावतकोटका बासिन्दाले एक लाख धरौटी राखेका थिए। त्यसपछि पनि सिँचाइ आयोजना अगाडि बढ्न सकेन। ‘खेतमा अव सिँचाइ सुविधा होला भनेर घरका गहरगहना, पशुचौपाया बेचेर शेयर लगानी गर्‍यौँ’ उपभोक्ता समितिका अध्यक्ष तिलकप्रसाद रिजालले भने, ‘दुई वर्षमा सक्नुपर्ने योजना ३० वर्ष बितिसक्यो अझै पूरा भएको छैन।’

उपभोक्ताको दवावपछि फेरि डिभिजन कार्यालयले सिँचाइ योजना निर्माणका लागि टेण्डर आह्वान गरेको छ। योजना सम्पन्न हुनुपर्ने उपभोक्ताको चर्को आवाज उठेपछि २०५६ सालमा तत्कालिन जिविस बोर्डले १५ दिनसम्म श्रम शिविर चलाएको थियो। त्यसयता उपभोक्ताले श्रमदान गर्न छोडेपछि योजना निर्माण ढिलाइ भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.