उत्कृष्ट कृषकलार्इ पुरस्कार

|

सल्यान : पोषणका हिसाबले जोखिमयुक्त मानिएको छत्रेश्वरी गाउँपालिका २ मा एक घर एक करेसाबारी अनिर्वाय गरिएको छ। स्थानीयको पोषणमा सुधार ल्याउन र खानपानको शैलीमा परिवर्तन ल्याउने भन्दै वडामा एक घर एक करेसाबारी अनिवार्य गरिएको हो।

गाउँठाउँमा प्रयाप्त मात्रामा जमिन र सिँचाइको व्यवस्था भए पनि जिल्ला बाहिरबाट तरकारी ल्याएर खाने र पोषण तथा स्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेपछि प्रत्येक घरमा अनिर्वाय रुपमा करेसाबारी अभियान सञ्चालन गरिएको वडा अध्यक्ष प्रेम बहादुर खड्काले बताए। उनले भने, ‘हामी गाउँमै भएको चीजलाई उपयोग गर्न नजानेका कारण कुपोषित बन्दै गइरहेका छौँ। मौसमअनुसारको तरकारी घरमै फलाएर खान नजोका कारण कुपोषित र आर्थिक स्तर खस्किदै गइरहेको छ।’ 

वर्षाको समयमा मात्रै केही स्थानीयले तरकारी उत्पादन गर्ने भएता पनि १२ महिना उत्पादन गर्न सकिन गरी अभियान थालिएको अध्यक्ष खड्काको भनाइ छ। स्थानीयले परम्परागत ढंगबाट खेतीपाती गर्ने भएकाले आर्थिक अवस्थामा पनि सुधार हुन नसकेकाले यस्तो अभियान थालिएको उनले बताए। 

उनले भने, ‘पहल नामक एक कार्यक्रमले पनि प्रत्येक घरमा करेसाबारी बनाउन कार्यक्रम सञ्चालन गरेको रहेछ। त्यस कार्यक्रमलाई हामीले पनि अभियानकै रुपमा सञ्चालन गरिरहेका छौँ।’ 

करेसाबारी अभियानलाई सफल बनाउन वडा कार्यलयले झन्डै ४० हजार रुपैयाँको विउविजन वितरण गरेको वडा सचिव राम बहादुर चन्दले बताए।  ‘सानै रकम भए पनि यसले वडाका सबै बासिन्दाको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउने आशा गरेको छ’, उनले भने। उत्कृष्ट करेसाबारी बनाउने तीन जनालाई पुरस्कार प्रदान गरिने र व्यवसायिक खेती गर्न लागि सहयोग गरिने सचिव चन्दले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.