|

बाँके : राप्ती–सोनारी गाउँपालिका–७, सिसमघार पार्वती गोसाईले ७५ बर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपाली नागरिकताको प्रमाण–पत्र लिएकी छन्। नागरिकताको प्रमाण–पत्र नहुँदा गोसाईं सामाजिक सुरक्षा भत्तालगायत सरकारले प्रदान गर्ने सेवा, सुविधाबाट बञ्चित थिइन्। 

साबिकको कुपिन्देदह गाविस–३ मा जन्मिएकी गोसाई हाल राप्ती–सोनारी गाउँपालिका-७, सिमलघारीमा स्थायी रुपमा बस्दै आएकी छन्। वडा अध्यक्ष राम लखन थारुको सहयोगमा नागरिकता लिएपछि उनले खुसी ब्यक्त गर्दै भनिन्, ‘के काम लाग्ला र भनेर लिएकी थिइन, नागरिकताविना कुनै सरकारी काम हुँदो रहेनछ।’

उनका श्रीमान् ७५ वर्षको उमेरमा नागरिकता बनाउन पहल गरिदिएका थिए। पहिले नै नागरिकता बनाउन इच्छा जनाए पनि श्रीमान्कै कारण ढिलाई भएको उनले बताइन्। ‘पहिला–पहिला उहाँले(श्रीमान) सरकारी जागिरी खाने होइन किन नागरिकता बनाउनु प¥यो? भनेर हपार्नु हुन्थ्यो’ उनले भनिन्, ‘अहिले उहाँले नै नागरिकता बनाउन पहल गर्नु भयो।’

नागरिकता बनाएपछि उनले अव सामाजिक सुरक्षा भत्ताका लागि पहल गर्ने भएकी छन्। ‘सरकारले दिएको सुविधाका लागि अव पहल गर्छु,’ उनले भनिन् । 
सरकारी सेवा, सुविधाबाट बञ्चित हुन थालेपछि पत्नीको नागरिकता बनाउन पहल गरेको उनका श्रीमान् गोवद्र्धन गोसाईले बताए। ‘घरमै बस्नेका लागि नागरिकताको के काम भनेर वास्ता गरेको थिएन’, उनले भने ‘सबैतिर नागरिकता चाहिने रहेछ। त्यसैले पहल गरेँ,’। पत्नीको नागरिकतामा उनैले सनाखत गरेको वडा अध्यक्ष थारुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.