|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता असफल बनाउने अनेक चालबाजी भइरहेको बताएका छन्। 

प्रदेशसभाको पहिलो अधिवेशन समापनको अवसरमा बुधबार संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीयताको असफलताका लागि कतिपयले कामना गरिरहेको भए पनि त्यो असफल हुने बताए। ‘प्रदेश सरकार र प्रदेशसभा असफल बनाएर संघीयता असफल बनाउने कामना भइरहेको छ,’ राईले भने, ‘संघीयता भनेको विकास र समृद्धिको आधार हो विभिन्न षड्यन्त्रलाई चिर्दै हामी संघीयता कार्यान्वयन गरेरै छाड्छौँ।’

प्रदेश सरकार र प्रदेशसभा अल्मलिएको टिप्पणी पनि आफूले सुनेको भन्दै उनले कसैले बनाएको बाटो नहिँडेको र आफैँ बाटो बनाउँदै हिँड्नुपरेको अवस्थामा पनि अन्य प्रदेशको तुलनामा प्रदेश १ ले राम्रो गति लिइरहेको दाबी गरे। प्रदेश १ मा पक्ष र प्रतिपक्षको जस्तो व्यवहार नभएको भन्दै उनले सबैले मिलेर गति दिनुपर्नेमा जोड दिए। ‘सबै दलको उन्नत किसिमको समझदारी र सहकार्यले प्रदेशको समृद्धि गर्न सक्छौँ,’ उनले भने, ‘सरकारले पक्ष र विपक्षको महसुस गर्नेगरी कुनै काम गरेको छैन।’

प्रदेशको मातहतमा कुनै पनि संरचना नरहँदा पनि प्रदेश सरकारले बजेट कार्यान्वयनका विभिन्न बाटो पहिल्याइरहेको बताउँदै उनले प्रत्येक सांसदलाई जनताका बीचमा जानका लागि आवश्यक व्यवस्था गरिएको पनि जानकारी दिए। 

श्रीनिवासाचार्यले आफ्नै योजनामा गोली हानेको तर्फ इंगित गर्दै उनले प्रदेशको शान्ति सुरक्षा खल्बल्याउन विभिन्न नाटक र प्रपञ्च भइरहेको भन्दै आक्रोश व्यक्त गरे। ‘अनेक तत्त्वले विभिन्न रंग र भेषमा प्रदेश सरकारलाई असफल बनाउने उद्देश्यले अगाडि आइरहेको छ,’ उनले भने, ‘त्यस्ता खाले घटनाको रहस्य उदाँगो भएको छ।’

मुख्यमन्त्री राईले मूलधारका संचारमाध्यमलाई उचालेर प्रदेश र प्रदेशसभाबीच मनमुटाव ल्याउने गरी राजधानी र नामांकनको विषयमा विवादित समाचार प्रसारण गरिएको आरोप पनि लगाए। ‘प्रदेशको नाम र राजधानीको विषय छिटो टुंगो लगाउनु पर्ने छ,’ उनले भने, ‘हतार गरेर, भावनामा बगेर वा दबाब र प्रभावको भरमा कुनै पनि निर्णय गर्नु उपर्युक्त छैन, यी विषयको हामी सहमतिबाटै छिनोफाने गर्नेछौँ।’ कुनै पनि महत्त्वपूर्ण निर्णय गर्दा टाउको गनेर वा लाइन लगाएर फैसला गर्ने पक्षमा आफू नभएको भन्दै मुख्यमन्त्री राईले प्रतिपक्षीलाई पनि साथमै लिएर सहमतिका साथ अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे। 

यसैबीच नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले प्रदेशको नाम र राजधानीको विषयमा सत्तापक्षकै सांसदबाट विभिन्न लविङ गरेको भन्दै असन्तुष्टि जनाए। उनले राजधानीको विषय र नामको विषयमा सहमतिमा टुंग्याउनु पर्नेमा जोड दिए। 

यस्तै, बैठकमा बोल्दै संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले १ नम्बर प्रदेशको संसदीय गतिविधि ७ वटै प्रदेशभन्दा अगाडि रहेको बताउँदै सरकार र प्रतिपक्ष दुवैले समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.