|

विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन्। 

मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तहरूले बयान फेरेका हुन्। पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजालसमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा अभियुक्तले बयान दिएका थिए। 

बयान फेर्नेमा प्रहरी जवानदेखि, एरलाइन्सका कर्मचारी, व्यापारी, तस्करीमा संलग्न गिरोहसमेत रहेका छन्। अदालतमा आठ प्रहरीसहित अधिकांश अभियुक्तले यसअघि छानबिन समितिलाई दिएको भन्दा फरक बयान दिएको सरकारी वकिलको कार्यालय मोरङ जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए। 

फागुन १९ मा शाक्यको शवसहित पक्राउ परेका टेकराज मल्ल ठकुरीले समेत बयान फेरेका छन्। प्रहरी समक्ष उनले दिएको बयानको आधारमा थुप्रै प्रमाण र अन्य अभियुक्त पक्राउ पर्न सफल भए पनि उनले अदालतमा बयान फेरेका हुन्। उनले अदालत समक्ष दिएको बयानमा भनेका थिए, ‘यातना दिने क्रममा सनमको मृत्यु भएको हो। दुवईबाट पटक पटक विमानस्थल हुँदै सुन ल्याएको हो। तर सुन कसले कहाँ लान्थ्यो, त्यो मलाई थाहा छैन।’ उनले अदालत समक्ष बयानमा एयरलाइन्सका कुनै कर्मचारी नचिन्नेसमेत बताएका छन्। 

प्रहरी जवान विष्णुबहादुर खड्काले समेत बयान फेरेका छन्। प्रहरी र अनुसन्धान गर्ने टिमलाई दिएको बयानमा खड्काले सुरक्षा अधिकृतले सुन चोरी पैठारीबाट लिएको आर्थिक रकमदेखि विमानस्थलबाट आएको सुन कहाँसम्म पुग्छ भन्नेबारेमा बताएका थिए। तर अदालत समक्ष उनले दिएको बयानमा यसबारे आफूलाई कुनै जानकारी नभएको र आफूले 'अफिस'को 'ड्युटी' मात्र पूरा गर्ने गरेको उल्लेख गरेका छन्। 

बयानमा विमानस्थलका कर्मचारीले सुन आएको बारे आफूलाई केही थाहा नभएको बताएका छन्। आफूहरूले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको अदालत समक्ष बयानमा भनेका छन्। प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरूले अदालत समक्ष इन्कार गरेका छन्।
त्यस्तै, प्रहरी र व्यापारीले समेत सुन तस्करी नगरेको र त्यसबारे थाहा नभएको बताएका छन्। जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका नौ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा गत बुधबार मुद्दा दायर गरेको थियो। 

प्रहरीले ६३ जनाविरुद्ध आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार तथा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा गत बुधबार मुद्दा दर्ता गराएको थियो। 

उक्त मुद्दामा प्रहरीले पूर्व प्रहरी नायव महानिरीक्षक गोविन्द निरौला, वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सञ्जेल, प्रहरी जवान विष्णु खड्का, अमरबहादुर थापासहित ३० जनालाई पक्राउ गरी अदालतका न्यायाधीशको रोहवरमा बयान लिइएको थियो। 

त्यस्तै, राप्रपा नेता तथा व्यापारी भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, न्युरोडको आरके ज्वेलर्सका संचालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, सुन तस्करी गिरोहमा संलग्न मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरे, राजन कुमारको पनि बयान सकिएको छ भने प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूडामणि उप्रेती ‘गोरे’, वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री, रमेश उप्रेती, गोरेकी श्रीमती निरु खरेल, भाइ रमेश उप्रेतीसहित ३३ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.