|

विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्तको बयान सकिएसँगै बिहीबारदेखि सुरु हुने थुनछेक बहसमा सरकारको तर्फबाट आठ जना सरकारी वकिलले बहस गर्ने भएका छन्। 

जिल्ला अदालत मोरङको इजालमा सुरु हुने बहसमा ३० जना प्रतिवादीको तर्फबाट ४३ जना वकिलले वकालतनामा मंगलबार बुझाएका छन्। बहस सुरु हुनुभन्दा अगाडिसम्म अदालतमा वकालतनामा दर्ता गर्न पाउनेछन्। 

प्रतिवादीको तर्फबाट बहस गर्न कानुन व्यवसायी काठमाडौंबाट विराटनगर आएका छन्। प्रतिवादीको तर्फबाट बहस गर्ने कानुन व्यवसायी सबैभन्दा बढी मोरङका रहेको बताइएको छ। बहुचर्चित सुनकाण्डमा बहस गर्न काठमाडौंसँगै मोरङ, झापा, सुनसरीबाट समेत कानुन व्यवसायी आएको अधिवक्ता खगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा बहस गर्न सरकारी वकिलको तर्फबाट दुई सहन्यायाधिवक्ता, दुई उपन्यायाधिवक्ता, दुई जिल्ला न्यायाधिवक्ता र दुई जना सहायक जिल्ला न्यायाधिवक्ताको टिम बनेको सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए। 

बहसमा सहन्यायाधिवक्ता गोपाल रिजाल, चिरञ्जिवी पराजुली, उपन्यायाधिवक्ता हिमालय त्रिताल, मनोज आचार्य, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, पुण्यप्रसाद पाठक, सहायक जिल्ला न्यायाधिवक्ता रोहित पोखरेल र पदम वस्तीले सरकारको तर्फबाट बहस गर्नेछन्।

अभियुक्त तुलाराम थारूका तर्फबाट बहस गर्न लागेका अधिवक्ता भरतबहादुर थापाका अनुसार अहिलेसम्म वकालतनामा गर्नेहरू पाँच वरिष्ठ अधिवक्ता छन्। वरिष्ठ अधिवक्ताहरू रमेश कोइराला, हिक्मत पौडेल, विपुलेन्द्र चक्रवर्ती, सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराईले अभियुक्तका पक्षबाट बहस गर्न वकालतनामा दर्ता गराएका छन् ।

त्यस्तै, अधिवक्ताहरू देवीबहादुर घिमिरे, हेमराज पन्त, विकास थापा, देवेन्द्र कोइराला, नारायण वस्ती, रामप्रसाद भण्डारी, शान्तिराम भण्डारी, रूपेश कोइराला, दीपक खतिवडा, यमबहादुर मगर, लक्ष्मण न्यौपाने, मधुसूदन चौधरी, भक्ति माझी, विश्वराम भट्टराई, रेखा थापा, कविता बस्नेत, पुष्करचन्द्र घिमिरे, खगेन्द्रबहादुर श्रेष्ठ, डिल्लीबहादुर कार्की, डिल्लीराम घिमिरे, अशोक पोखरेल, मोहन कोइराला, टंक उप्रेती, काठमाडौंबाट आएकी रमिता महर्जनलगायतले ३० जना अभियुक्तको तर्फबाट बहस गर्नेछन् ।

गएको बिहीबारदेखि मोरङ जिल्ला अदालतको ६ नम्बर इजालमा जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा भएको बयान पाँच दिन लगाएर न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तको बयान सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.