|

काठमाडौं : आइसिटीलाई कुनै पनि क्षेत्रको विकासको मुख्य माध्यमको रूपमा पनि लिन सकिन्छ। नेपालमा पनि छोटो समयमा आइसिटीको प्रयोग र प्रभाव बढ्दै गएको छ। तर, अहिले पनि संसारका धेरै देशको तुलनामा आइसिटी क्षेत्रको प्रयोगमा नेपाली नागरिक खुम्चेका छन्।

यसै सन्दर्भमा नेपालमा सूचना प्रविधिको क्षेत्रमा झण्डै दुई दशकको अनुभव सँगालेका कम्प्युटर एसोसिएसन नेपाल महासंघका पूर्वउपाध्यक्ष नारायण न्यौपानेसँग हामीले कुराकानी गरेका छौँ। सूचना प्रविधि समाज नेपालको संस्थापक, कम्प्युटर एसोसिएसन महासंघको विभिन्न जिम्मेवारी हुँदै वरिष्ठ उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी र भूमिकालाई सम्हालिसकेका न्यौपानेसँग नेपालमा आइसिटीको विकास र समाजमा परेको प्रभावलगायतका विषयमा गरिएको कुराकानी:

नेपालमा आइसिटीको विकासक्रमलाई यहाँले कसरी नियालिरहनुभएको ?

आइसिटीलाई अहिले विश्वव्यापी रूपमा अर्थतन्त्रको मुख्य इञ्जिनका रूपमा हेर्ने गरिएको छ। सबै आइसिटीको विकासबिना केही कुरा पनि सम्भव छैन भनेर लागिरहेका छन्। पछिल्लो समयमा भियतनाम, फिलिपन्सि, बंगलादेश, श्रीलंका, भारत, भुटानकै उदाहरण हेरौं उनीहरूले आइसिटीको उपयोगितालाई व्यापक बनाएका छन र त्यसको प्रतिफल विकास निर्माणदेखि दैनिक जीवनसँग जोडिएको छ। नेपाल पनि आइसिटीको विकास र विस्तारका लागि उर्वर भूमि हो। तर, सोचेअनुरूप यसको विकास हुन सकेको छैन।

आइसिटीको प्रयोग, अवस्था, सम्भावनालगायतका विषयमा तपाईको विचार के नि ?

विभिन्न कारणहरूले आइसिटीको प्रयोग अहिलेको समाजको लागि आधारभूत विषय भइसकेको छ। यो विषय र क्षेत्रले धेरैनै सम्भावना बोकेको छ। तर हाम्रो यस प्रतिको अवस्था विगत १० वर्षदेखि एउटै परिधिमा घुमिरहेको छ। वर्तमान विश्व परिस्थिती र हाम्रो क्षमतालाई हेर्ने हो भने हाम्रो विकाशको आधार सूचना प्रविधिमात्र हो भन्छु म त। हाम्रो देशमा धेरै क्षेत्रका धेरै विषयमा कुरा भयो तर सूचना प्रविधिका विजनेश स्टार्टअप र युवाहरूका लागि अवसर सिर्जना गरी नेपाललाई सूचना सञ्चार प्रविधिको वैकल्पिक गन्तव्यको रूपमा स्थापित गर्न सके यसले देश विकाश गर्न ठूलो मद्दत गर्छ।

सूचना/प्रविधिको प्रयोगमा सरकारी निकायहरू अझै पछि नै छन् किन होला?

देश विकासका लागि सूचना/प्रविधि आधारभूत आवश्यकता हो। तर नयाँ नेपालमा अरू विषयलाई महत्व दिनु परेर हो कि किन हो यसलाई सरकारले प्राथमिकतामा राखेको देखिँदैन। अरूले प्रयोग गर भनेर दिएको प्रविधि पनि ल्याइँदैन। अर्काले आविष्कार गरेको प्रविधि प्रयोगसम्म गर्न नसक्नु दुर्भाग्य हो।

गाउँ–गाउँमा सूचना/प्रविधिको विस्तारका लागि के गर्नु आवश्यक छ?

यसका लागि प्रविधिबारे जानकारी र आर्थिक समृद्धि दुबै चाहिन्छ। चेतनामूलक कार्यक्रम दिने हाम्रो कर्तव्य हो। नेपालीको क्रयशक्ति सुहाउँदो प्रविधि भित्र्याउने जिम्मेवारी पनि हाम्रै हो। तर आर्थिक समृद्धिको पाटोमा सरकार नै नलागी केही हुँदैन।

यो क्षेत्रले सरकारको तर्फबाट कतिको सहयोग पाएजस्तो लाग्छ?

सरकारबाट यो क्षेत्रले धेरै सहयोग पाउन सकेका छैन। भियतनाम लगायत अन्य केही देशहरूमा सूचना/प्रविधि तथा सञ्चारमा निकै राम्रो लगानी छ। सूचना/प्रविधिको क्षेत्रले मात्रै देशको जीडिपीमा दोहोरो अंकको हिस्सा ओगटी रहेको छ। तर, नेपालमा त्यो अवस्था खोई त सरकारले निर्माण गर्न सकेको ? क्यान महासंघलगायतका निजी क्षेत्रका संस्था आधिकारिक संस्था होइनन् तर पनि सूचना तथा सञ्चारको क्षेत्रलाई अघि बढाउने काममा लागिनै रहेका छन्। 

सूचना प्रविधिको क्षेत्रमा सरकारी निकाय नै सक्रिय भएको खण्डमा देशमा निकै ठूलो फड्को मार्न सकिने उदाहरण त हामीले भीयतनाम लगायत अन्य देशहरूबाट पनि लिन सकिन्छ। सरकारले यस क्षेत्रमा किन लगानी गर्न सकेको छैन्।

बर्सेनि सूचना तथा सञ्चार प्रविधिका नेपालमा उत्पादन हुने जनशक्तिलाई खोइ त ठाउँ? उनीहरू यहाँ काम नपाएर बाहिरिने क्रम निकै ठुलो छ। जनशक्तिलाई बाहिरिन नदिन सरकारले कदम चाल्नुपर्ने हो तर, सरकारले केही गर्न सकिरहेको छ। हामीले सरकारले बारम्बार घचघच्याउने काम पनि गरिनै रहेका छौँ। तर, परिणाम भने केही आउन सकेको छैन।

सरकारले के गर्नुपर्छ भन्ने ठान्नुहुन्छ?

आजको युगमा सूचना, सञ्चार तथा प्रविधि (आईसीटी)बिना विकासका कुनै पनि आयाम सम्भव छैन। यसैको सहयोगले विकसित मुलुकहरू आजको स्थानमा पुगेका हुन्। हाम्रो जस्तो विकासमा अझै पनि पछि परेको मुलुकका लागि यसको महत्व र आवश्यकता झन् धेरै रहेको छ। राज्यले नै यस क्षेत्रको विकास गर्न खास किसिमको लगानी र कार्य गर्नुपर्छ। तर, नेपालमा अहिलेसम्म पनि राज्यका तर्फबाट आईसीटीलाई हेर्ने दृष्टिकोण नै प्रभावकारी हुन सकेको छैन।

त्यसले गर्दा यो क्षेत्रको यथोचित विकास हुन सकेको छैन। कमजोरी कहाँनेर देखिन्छ भने नीतिनिर्माण तहका जिम्मेवारहरूले आईसीटीलाई विकासको मूल आधारसँग जोडेर हेर्न सकेका छैनन्। यसलाई नीतिगत तहबाटै काम गर्नु अहिलेको पहिलो आवश्यकता हो।

अहिले मुलुकमा युवाहरूको अवस्था कस्तो देख्नुभएको ?

मैले तीन प्रमुख कारणहरू देखेको छु। जसले गर्दा मुलुकमा युवाहरूको अवस्था सहज होइन जटिल नै छ। निकट भविष्यमासमेत राम्रो अवस्था देख्दिन म।

पहिलो देशमा रहेका युवाहरू उत्पादन मूलक काम भन्दा राजनितिमा मात्र भविश्यमा देखेर होला यो वा त्यो दलको रुपमा क्रियाशील तथा सक्रिय सदस्य भएका छन्। दोस्रो देशमा रोजगारीका अवसर निकै कम भएकोले विदेशमा श्रम गर्नुपर्ने बाध्यता छ। तेस्रो केहि गर्न खोज्ने युवाहरूसमेत उचित वातावरण नपाएका  कारण केहि समयमा निराश हुने गरेको देखेको छु।

यदि तपाईं निर्णायक ठाउँमा पुग्नुभयो भने के गर्नुहुन्छ आइसिटीको विकासका लागि ?

दुई वटा मात्र काममा केन्द्रित हुन्छु होला जस्तो लाग्छ। पहिलो आइसिटीको प्रयोग र यसको विकाश विस्तार र प्रवद्र्घनमा लाग्ने सबै सरोकारवालाहरूको सहयोगीको रुपमा कार्य गर्दैं यो देश विकासको मेरुदण्ड हो भन्ने विषय स्थापित गराउने।

दोस्रो आइसिटी भनेको इण्डियन चाइनिज टेक्नोलोजी भन्ने तथ्यलाइ मध्य नजर राख्दै देशलाइ सूचना संचार प्रविधिको क्षेत्रमा ति देशको बैकल्पिक गन्तब्यको रुपमा विश्वसामु स्थापित गर्न नीति निर्माण तथा कार्यान्वयन गर्ने। यति दुई कुरालाई मात्रै कार्यान्वयन गर्न सकियो भने आइसिटी क्षेत्रको विकास हुने मात्र नभई मुलुकको अर्थतन्त्रलाई पनि यसले दौडाउने कुरामा शंका छैन।

तपाईंका भावी योजना के छन् ?

निकट भविष्यमै प्रविधिको प्रयोग गरी विश्वभर रहेका नेपालीहरू जसले आफ्ना बालबच्चाहरूलाई नेपाली भाषा सिकाउन खोज्नु भएको छ। तर, विभिन्न कारणले त्यसको जोहो गर्न सकिरहनु भएको छैन। खासगरी उहाँहरूलाई लक्षित गरी र अन्य जसले नेपाली भाषा सिक्ने इच्छा राख्नुहुन्छ सबैका लागि भर्चुअल क्लासमार्फत सिकाउने कार्यको शुरुवात गर्ने कामको तयारी अन्तिम चरणमा पुगेको छ।

अर्को विश्व प्रविधि बजारमा नेपालको पनि उपस्थिती जनाउनु आवश्यक छ भन्ने सोंच बनाएको छु। यसका लागि चाहिने कामका लागि व्याक्तिगत तवरबाट गर्न सकिने आउटसोर्सिङको काम, युवाहरूको लागि लक्षित तालिम तथा रोजगारीको परमर्शको काम थाल्ने सोच बनाएको छु।

मुलुकको उद्योग, विकास/निर्माण क्षेत्रलाई यहाँले कसरी हेरिरहनुभएको ?

मुलुकको उद्योगले आन्तरिक मागलाईसमेत सम्बोधन गर्न सकेको छैन। विकास/निर्माण केहि समय यता आएर शुरु हुने सुस्त गतिका केहि लक्षणहरू त देखिन्छन् तर यति धेरै राजनितिक दल, तिनका कार्यकर्ता, स्थानीय निकाय, सरकारी कर्मचारी सबैको लक्ष एउटै छ एकले अर्काको खुट्टा कसरी तान्ने, आफ्नो बसमा काम कसरी पार्ने र लाभ कसरी उठाउने। त्यसैले आम युवाको मनमा जस्तै मेरो मनमा पनि असन्तुष्टि त धेरै नै छ। कत्तिको त जिविकोपार्जन भनेकै राजनीति र संघ/संस्थाहरू छन त्यसैलेै मुलुकको उद्योग, विकास/निर्माण क्षेत्र सहज बन्न सकेको छैन तर सम्भावना छ। कुनै न कूनै बहानामा उद्योग, विकास/निर्माण क्षेत्रलाइ बढावा दिनैपर्छ।

अन्त्यमा नेपाललाई सूचना सञ्चार प्रविधिको वैकल्पिक केन्द्रको रुपमा स्थापित गर्न सकिन्छ ?

सूचना सञ्चार प्रविधिका क्षेत्रमा काम गर्ने विभिन्न देशमा कार्यरत नेपालीहरू जो यस क्षेत्रमा संसारका प्रतिष्ठित कम्पनीहरूमा काम गरिरहनु भएको छ र व्यवसाय सञ्चालन गर्नु भएको छ। उहाँहरूसँग समन्वय गरि सानो समुहबाट शुरुवात गरि नेपाललाई सूचना सञ्चार प्रविधिको वैकल्पिक केन्द्रको रुपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ यस वर्षदेखि कार्यक्रमहरू गर्ने कामको शुरुवात गर्ने कामको थालनी गरिएको छ।

अब केही समयमै यसको औपचारिक शुरुवातको जानकारी हुनेछ।  नेपाल सूचना सञ्चार प्रविधिको वैकल्पिक केन्द्रको रुपमा स्थापित गर्न सरकार, निर्णायक तहमा बस्ने सम्बन्धित निकाय, व्याक्ति तथा संघ संस्थाहरू सबैले कार्यक्रम बनाएर कार्वान्वयन गरेमा सम्भव पनि छ। यस समुहको समन्वयकारी भूमिका तथा कार्यक्रमहरूले यस तर्फ अगाडी बढ्ने लक्ष्य राखेको छु। मेरो हरेक लक्ष्य नेपाल सूचना सञ्चार प्रविधिको वैकल्पिक केन्द्रको रुपमा स्थापित गर्न एक उदाहरण बन्ने तर्फ लाग्नेछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.