|

सोलुखुम्बु : सदरमुकाम सल्लेरी र आसपासको जनजीवन कष्टकर बनेको छ। बैशाख २३ देखि उक्त क्षेत्रमा विद्युत सेवा प्रदान गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले वार्षिक कार्यक्रमअन्तर्गत मर्मत सम्भार सुरु गरेसँगै यहाँको जनजीवन कष्टकर बनेको हो। 

विद्युत सेवा अवरुद्ध हुँदा मोबाइल चार्जदेखि सूचना तथा सञ्चार सेवाबाट समेत यहाँका नागरिक बञ्चित हुनु परेको छ। यहाँका एफएम रेडियोले नियमित कार्यक्रम समेत सञ्चालन गर्न सकेका छैनन्। 

मंगलबार बिहानदेखि नेपाल टेलिकमको सम्पूर्ण सेवा समेत ठप्प छ। टेलिकमको सेवा पूर्णरुपमा बन्द हुँदा सदरमुकाम र आसपासका बासिन्दाको जनजीवन कष्टकर बनेको स्थानीय पुष्प श्रेष्ठको भनाइ छ। यस्तै, बुधबारदेखी बैकिङ कारोबार समेत ठप्प भएको छ। राष्ट्रिय वाणिज्य बैंकलगायत निजी बैकहरूले जेनेरेटरको सहायताले सेवा प्रदान गर्दैै आएको भएपनि इन्टरनेट सेवा नभएकाले कारोबार ठप्प भएको छ।

सेवा नपाउँदा सेवाग्राही निरास भएर फर्किएका छन्। थुलुङ दुधकोशी–७ की लीलामाया केसीले दुई दिन लगाएर राष्ट्रिय वाणिज्य बैंकमा चेक साट्न आएपनि चेक साट्न नपाएको गुनासो गरिन्। ‘घरमा एक्लै छु, घर निर्माण गरेको कामदारलाई पैसा दिनुपर्ने चेक साट्न सकिएन,’ केसीले भनिन्,  ‘पैसा नलगि घर जाउँ भने कामदार पर्खिरहेका छन्, पर्खौं भने वस्तुभाउलाई घाँसपात गर्ने मान्छेनै छैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.