अायाेजना स्थलमा मुख्यमन्त्री

|

खुवासभा :  संखुवासभाको जिल्लाको मकालु गाँउपालिकामा निमार्ण हुन लागेको ९ सय मेगावाटको राष्ट्रिय गौरबको परियोजना अरुण तेस्रो जलबिद्युत आयोजनाको शिलान्यास बैशाख २८ मा हुने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा काठमाडाैंबाटै स्विच अन गरेर आयोजना शिलान्यास गर्ने सतलज कम्पनीले जनाएको छ।

२०४२ साल देखि निमार्ण चर्चा चलेको अरुण तेस्रो जलविद्युत परियोजना  राजनीतिक विवादका कारण लामो समयदेखि रोकिएको थियो। उक्त आयोजनाले गति लिने भएपछि संखुवासभाबासीमा खुसीयाली समेत छाएको छ।

मकालु गाउँपालिकाको नुमको फ्याक्सिन्दा दोभानबाट प्रदेश १ का  मुख्यमन्त्री शेरधन राई, संघीय सांसद राजेन्द्र गौतम, प्रदेश सांसद पूर्णप्रसाद राईले समेत शिलान्यास गर्ने कार्यक्रम रहेकाे आयोजकले जनाएको छ।  शिलान्यासको प्रत्यक्ष प्रसारण गर्न नेपाल टेलिभिजनका प्रतिनिधि आयोजनास्थल मकालु गाउँपालिकाको नुमस्थित फ्याक्सिन्दा आइसकेका छन्।

आयोजनास्थलको अनुगमन  संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्लाका बिभिन्न सुरक्षा निकायका सुरक्षा प्रमुखहरुले  वैशाख २४ गते  गर्नुको साथै भ्रमण तयारीबारे जानकारी लिएका थिए। 

लामो समयदेखि अल्झिएको राष्ट्रिय गौरबको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने भएपछि स्थानीय खुसी भएका छन्। वर्षौ देखिको सपना साकार हुने भएपछि खुसी लागेको मकालु गाँउपालिकाकी कार्यबाहक अध्यक्ष चमेली राईले बताइन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण जिमीले पनि यो संखुवासभाको मात्र नभएर देश कै लागी गौरवको कुरा भएको र यसले जिल्लालाई समृद्धिकाे दिशा तर्फ लैजानेमा दुई मत नभएको बताए । लगानी बोर्ड र सतलजबीच ९ मंसिर ०७१ मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो । निर्माण कम्पनी सतलजले अबको पाँच वर्षमा विद्युत् उत्पादन सुरु गर्ने जनाएको छ।

आयोजनाले करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा प्रभावित क्षेत्रका स्थानीयलाई बाँडिसकेको छ। दुई सय ६५ परिवारको घर तथा जग्गा अधिग्रहण गरेको आयोजनाले जनाएको छ। आयोजनाबाट नेपालले २५ वर्षमा कुल तीन खर्ब ६२ अर्ब रुपैयाँ प्राप्त गर्नेछ।

जसमध्ये रोयल्टीबापत एक खर्ब १६ अर्ब र आयकर बापत ८० अर्ब पाउनेछ। नेपालले एक खर्ब ६६ अर्ब बराबरको निःशुल्क विद्युत् पनि पाउनेछ। स्थानीयलाई ३० युनिट र नेपाललाई आयोजनाले उत्पादनको २१ दशमलव नौ प्रतिशत अर्थात् पूर्ण क्षमतामा उत्पादन भए एक सय ९७ दशमलव एक मेगावाट बिजुली निःशुल्क दिनेछ। बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।

संखुवासभाका स्थानीयले शिलान्यास हुने वैशाखमा  २८ गते  जिल्ला सदरमुकाम खाँदबारी र विभिन्न बजार क्षेत्रमा दीपावली गर्ने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.