थाहा संवाद

नाथे कविता के लेखिराख्ने? : कवि प्रशन्न घिमिरे
SHARES

बैशाख २८, २०७५

    काठमाडौं : लामो समय कविता लेखनमा  सक्रिय  कवि प्रशन्न घिमिरेको नयाँ कविता कृति 'मिझोर' शनिबार सार्वजनिक हुँदै छ। यसअघि उनका 'निशब्द' र 'एकात्म' सयुंक्त कविता कृति बजारमा आइसकेका छन्। उनको नयाँ कविता कृति र कवितालेखनका बारे थाहाखबरकर्मी राजु पौडेलले  कवि घिमिरेसँग गरेको कुराकानी : 

    तपाईं कवितातर्फ आकर्षित हुनुभयो, विशेष कारण केही छ?

    खोलाको किनारमा नभए पनि घरबाट खोला टाढा थिएन। खोलाको किनारमा बस्नु, साँझ अबेरसम्म अनि पानीको आवाज सुन्नु मलाई मनपर्थ्यो। संगीतमा रुचि उतैबाट भएको हो कि रेडियोमा आउने गीतहरू सुन्दासुन्दै त्यो रुचि भएको हो, यसै भन्न सक्दिनँ। अलि बुझ्ने भएपछि गायनमा उस्तो रुचि थिएन, संगीतमा रहिरहेको थियोे। एउटा गीतमा संगीतको भूमिका केन्द्रमा हुन्छ भन्ने लागेकाले म संगीतमा आकर्षित थिएँ।

    नौ कक्षा पढ्दादेखि नै म गीत अनि निबन्ध लेख्थेँ, कविता पनि। संगीतको रुचिले नै मलाई लेख्ने बनाएको थियो। दाजु प्रकाश घिमिरेले शहरबाट आउँदा ल्याउनुहुने साहित्यिक पत्रिका पढेर म यस्ता कुराहरू लेख्न सिकिरहेको थिएँ। ठूलो बुबा माधव घिमिरेको 'भँगेरा र भँगेरी, कुरा गर्छन् कसरी' अनि 'गाउँछ गीत नेपाली' जस्ता रचनाले सानैदेखि यस्तो मीठो लेख्न पाए भन्ने भइरहेको थियो। घरमा बाजा नहुनुले संगीततिर म जान पाइनँ। पछि बालकुमारी स्कुलमा कक्षा ११ मा पढ्दै गर्दा मैले बाजाको संगत गरेँ तर बाजालाई मैले आफ्नो बनाउन सकिनँ। बाजालाई खुसी पार्न नसक्ने मान्छेले संगीतमा गरी खाँदैन भनेर छोडिदिएँ त्यो रुचि। चुरोटको नशा छोड्न सुपारी खानेलाई सुपारीकै नशा हुन्छ नि! लगभग कवितालेखन उसैगरी मेरो लगाव भएर आयो ।

    कविता लेख्न कतिको सजिलो छ?

    सजिलो छ पनि, छैन पनि। असलमा स्वास फेर्न सजिलो छ, हेर्न सजिलो छ, सुन्न सजिलो छ। प्रकृतिले दिएको कुरा गर्न सजिलो छ। पढ्नु पनि सजिलो छैन। जति सजिलो छ आकाशमा झुल्कने ताराहरूलाई हेर्नु तर तिनको अध्ययन सजिलो छ र? छैन नि! अध्ययन मानिसले सिकेको कुरा हो, गाह्रो छ। लेखन पनि मानिसले सिकेको कुरा हो, त्यो गाह्रो छ। तर त्यो पनि सजिलो हुन्छ, जब एउटा कविले आफ्नो जीवनको पदचाप नै त्यहीँ मिसाउँछ, हिँडाइ अनि चिन्तन नै उतै लगाउँछ। पानी कति तरल हुन्छ। हिमालबाट हिउँ पग्लिएर बगेको नदीलाई हेरौँ त तरल पानी बग्छ नि! उही तरल पानीले हेर्नुहोस् त कतिकति हिमालहरू काटेको छ।

    पहाड घुम्न जाँदा अक्सर देख्छु ढुंगेधाराहरू, धाराबाट बगेको पानी, पानी जून अन्जुलिमा राख्यो उही अन्जुलिमा रहने, भाडामा राख्यो भाडामै रहने। उही पानीले ढुंगामा गहिरो प्वाल बनाएको हुन्छ, रह बनाएको हुन्छ। आजकल मलाई कविता लेख्न सजिलो हुन्छ। जति बेला म उही पानी जस्तो तरल अनि चपल भएको हुन्छु, हो त्यति बेला। त्यति बेला मेरो हृदय एउटा पोखरी जस्तो भएको हुन्छ। त्यहाँ वृक्षको छाया बस्छ, घामको किरण सिक्कासिक्का भएर बस्छ, रातमा ताराहरू आई बस्छन्। मलाई प्रेमको आँखाले हेर्ने युवतीहरू आई बस्छन्, तिनको लय अनि पदचाप बस्छन्। मेरो छेउ भएर हिँड्ने मेरा मित्रहरू अनि आफन्तहरूको छाया बस्छ। मेरो देशको सुन्दरता पनि बास बस्छ त्यहीँ, अनि त्यहीँ बास बस्छ मैले हेरी बसेका खेतहरूमा काम गर्ने किसानहरूको अनुहार, भारी बोक्ने बटुवाहरूको झझल्को। हृदयको पोखरीको शान्त पानीमा तैरिएर बसेका ती सबै फूलहरू हुन्। तिनलाई टिप्न केही गाह्रो हुँदैन। गाह्रो त शान्त पोखरी जस्तो हुनलाई हुन्छ।

    मेरो हृदयको शान्त पोखरीमा अभावले ढुंगा हानी बस्छ, अनावश्यक तर्कहरूले ढुंगा हानी बस्छन्, एक्टिभिस्ट आइडोलोजीहरू आउँछन् अनि लाठी हानी बस्छन्। एक्टिभिस्टहरू भेटिन्छन् जता गयो उतै, पानी सङ्लो बनाउँछु भनेर। तिनीहरू मेरै हृदयको शान्त पोखरीमा हाम फाल्छन् अनि पानी कहिल्यै सङ्लो हुन दिँदैनन्। उनीहरूले पानी चलाइदिनुले मेरा कविताहरूको अनुहार अक्सर विकृति आउँछ। त्यसरी विकृत भएका कविता डस्टविनमा हाल्छु अनि हृदयलाई शान्त राख्न म विपश्यना गर्छु। हृदय शान्त हुन्छ, हृदयको किनार छेउ रहेको हुन्छ पूरै मेरो शहर, पूरै मेरो गाउँ, मेरा साथीभाइ, आफ्न्त, उनीहरूको पदचाप। जीवन, ब्रह्माण्डका ताराहरू समेत। तिनको छाया शान्त हृदयमा देखिन्छ गाढा गाढा भएर। म तिनको जेरोक्स गर्छु आफ्नो कलमले। यही भएकाले मलाई कविता लेख्नु त्यति बेला सजिलो हुन्छ जस्तो लाग्छ, जति बेला एउटा कविले आफ्नो जीवनको पदचाप त्यस्तो लयमा बनाउँछ, जुन लयमा हुँदा हृदयमा कविताको स्ट्रोक गाडा हुन्छ, जस्तो कि शान्त पानीको तलाउमा छाया गाढा हुन्छ।

    कविता ठूला कुराहरू, राजनीतिको मौदानतिर खोजी हिँड्नुपर्दैन। त्यताबाट टिपिएका कवितामा अक्सर आफ्नो छातीको ढुकढुकी पाउँदिन म, आफ्नो पाइलाको पदचाप सुन्दिनँ म, त्यसैले कविता म आफूले काम गरेको अफिसमा, आफूसँगै बसेर चिया पिइरहेका मित्रहरूमा, चिया सर्भ गर्ने वेटरमा, दैनिक कामहरूमा, आफूले मस्तै मीठो मानेर घुम्न गएका अनि पूरै दिन बिताएका ठाउँहरूमा देख्न थालेको छु।

    तपाईंले कविता नलेख्दा के असर पर्छ नेपाली साहित्यमा, जसका कारण तपाईं कविता लेखिरहनुभएको छ?

    मलाई यस्तो कहिल्यै लागेन कि मैले लेख्दैमा कतै केही असर पर्छ। कुनै शान्त तलाउको किनारमा उभिएको एउटा वृक्षको फूल तालमा खसेजस्तो मात्र हो मेरो लेखन, केही हो भने, अरू केही पनि होइन। तालको छेउछाउ आइपुग्नेलाई मीठो लाग्न सक्छ, उसको हृदय त्यो देखेर तृप्त हुन सक्छ। उही फूल कुहिन्छ केही दिनमा अनि पानीमा हुने कीराहरूको अहारा हुन सक्छ। नकुहिँदै फूल उही तालमा ढुंगामा घुम्दै गरेको प्रेम जोडीले देखेर कुनै फूल टिपेर आफ्नो प्रेमीलाई दिन सक्छ, यसरी प्रेम जोडीको लागि काम आउन सक्छ।

    कविता लेख्नुको कुनै विशेष कारण छैन मसँग। समाज बदल्ने कारण लिएको भए बन्दुक बोकेर हिँड्ने थिए। सामाजिक न्यायका लागि उभिने खालको मान्छे भएको भए एक्टिभिस्ट भएर सडकमा उफ्रिरहेको हुने थिएँ। फेसबुक अनि ट्विटरमा सबैभन्दा क्रान्तिकारी पोस्ट गरिरहेको हुने थिएँ। घिमिरे अनि देवकोटा वा वैरागी काइँला वा भानुभक्त आचार्यलाई खुइलाउने भगीरथ कोसिस गरिरहेको हुने थिएँ। हेर्नुहोस् अघिल्ला लेखकहरूलाई नखुइल्याई यहाँ नयाँ लेखक पनि लेखक हुँदैन। बाउसँग अशंको लडाइँ नलडी कहाँ कुनै छोराहरू बाउ बन्छन् र! मलाई के लाग्छ भने म कलाको मोहमा परेको छु, जुन छोड्न नसकेकाले कविता लेखिरहेको छु। नत्र त मलाई तपस्वी जस्तै कतै एकान्तमा हुन मन हो। कलाको मोहले मलाई कविता भन्नुस् वा लेखन सृजनाबाट पर हुन दिएको छैन। हामी सामान्य मानिस तृप्त हुँदा रहेछौँ मोह पूरा गर्न पाउँदा। कविता लेखेर म त उही मोह पूरा गरिरहेको छु, तृप्त भएको छु। बाँकी त केही छैन।

    राजनीति, सामाजिक वस्तु स्थिति र प्रेममाथि कविता लेख्दिनँ भनेर कहिलेकाहीँ भन्ने गरेको सुनिन्छ। 'मिझोर' कविता कृतिमा कस्ता खाले कविताहरू समावेश गर्नुभएको छ?

    अहिले आएर यसो हेरेको त कविताको लेखन सधैँ उही उस्तै रहेछ। विमल निभा दाजुको 'आगोनेर उभिएको मानिस' पढ्छु अहिले पनि म। मैले पढेकोमध्येको पहिलो राम्रो कवितासंग्रह थियो त्यो। राजनीतिक कविताको मिठास म उही संग्रहबाट अहिले पनि लिइरहन्छु। अलि पछि पढेको श्यामल दाजुको 'लयब्रह्म'बाट पनि। ती दुई कृति नै प्रशस्त लाग्छ मलाई राजनीतिक कविताको स्वाद लिन। राजालाई गाली गरेको ठाउँमा मोदीलाई गाली गरेको वा बाहुनलाई गाली गरिएको बनाइएको पछिल्लो समयको राजनीतिक कविता पनि म त्यहीँ पाउँछु। राजा छैनन् अहिले। अब उही राजाको ठाउँमा बाहुनलाई राखेर हेर्छु अनि विमल दाजुको, श्यामल दाजुको कविता पढ्छु, केही पुगेन, केही भएन जस्तो लाग्दै लाग्दैन।

    दिनेश अधिकारी दाजुको 'अतिरिक्त अभिलेख' पढ्छु अहिले पनि म अनि सबै सामाजिक विषमाथि दाजुले लेख्नुभएको छ। पत्रपत्रिकाले फेरि उही छाप्दा हुन्छ जस्तो लाग्छ, पत्रपत्रिकाले नयाँ कविको नाममा छापेका कविता म उतै पाउँछु, मुसुक्क हाँस्छु। हाँस्नु कला भन्नुभएको छ शंकर लामिछानेले। यो कला मैले पनि सिकेको छु पत्रपत्रिकाका कविता पढेर। असलमा कुरा के भने नि राजनीति, सामाजिक अनि प्रेम योभित्र हामी सबै हुँदारहेछौँ। म पनि यहीभित्र रहेँ।

    भइदियो के भने, आफ्नो कविता अग्रजहरूको कवितामा भेटियो। अहिले पनि मैले पत्तै नपाएको हुन सक्छु, 'मिझोर'मा पनि यस्तै भएको हुन सक्छ। यस्तो काम नहोस् भनेर यी विषयमाथि नै नलेख्न मेरो हृदयले मलाई भनिरहेको छ अहिले। योभन्दा त 'सर्रियालिज्म नोभेल' लेख्ने नि! राती सपनामा एउटा मुभी आएको बनाउने कथामा, पूरै मुभीको कथा उपन्यासमा लेखिदिने। केही राम्रा कविका कविता पनि सपनाको बाटो गरी मिसिन आएको देखाइदिने। यसो गर्ने नि बरु, 'सर्रियालिज्म नोभेल'मा यो सब गर्न मिल्छ। नाथे कविता के लेखिराख्ने?

    असलमा अब त म कविता नै नलेखुँ भन्ने मनोदशामा छु। माथि भनेका विषयभन्दा फरक केही विषय पाएमा भने अलिअलि लेख्छु पनि होला, मोह सकिएको छैन नि! आकाशका तारा अनि तिनको पदचापको बारेमा जान्न पाए, तिनीहरूको बारेमा, पन्छीहरू छन् नि नेपालमा, तिनको जीवनशैली जान्न पाएमा तिनीहरूमाथि कविता लेख्ने मोह छ।

    कवितामा लागेर बाँचिँदैन भन्छन्, तपाईं कतै न कतै जागिर खानुहुन्छ। उसो भए तपाईंको कविता कर्म फुर्सदको उपज हो?

    फुर्सदको उपज होइन, फुर्सदमा त मलाई नाथे कविता लेख्नभन्दा मस्तै घुम्नुमा मजा लाग्छ। कविता त उही मोह अनि मोह पूरा भएपछि प्राप्त हुने तृप्तिको उपज हो।

    २०६९ मा 'र निशब्द' कविता कृति त्यसपछि 'एकात्म' संयुक्त कवितासंग्रह, अहिले फेरि मिझोर आयो। वर्ष, दुई वर्षमा कृति आउनु भनेको पुस्तकको चाङ थुपार्ने काम मात्र भएन र यसरी त?

    मोहले मान्छेलाई ढुबाउछ भन्थे। त्यो बाटोमा म पनि छु। अहिले मसँग अरू तीन पुस्तकको पान्डुलिपि तयार छ। यो वर्षको अन्तसम्ममा अरू एउटा कथासंग्रह अनि एउटा उपन्यासको पान्डुलिपि पनि सक्छु जस्तो लाग्छ। यसरी हेर्दा अब पाँच/सात वर्ष पाठकले मलाई मस्तै गाली गर्न पाउनेछन्, प्रकाशकले पुस्तक पाउनेछन्। कुरा के भने नि प्रकाशक बचाउ अभियानको एउटा एक्टिभिस्ट भएको छु म पनि। यति हो कि यो अभियान अघोषित रूपमा हामी केही लेखकहरूले सुरु गरेका छौँ।

    राष्ट्रकवि माधवप्रसाद घिमिरे तपाईंको ठूलो बुबा हुनुहुन्छ। कतिको सहज वा असहज हुँदोरहेछ त आफूलाई कवितामा स्थापित गर्न?

    कविको रूपमा आफ्नो परिचय नबनेसम्म मैले बाबासँगको सम्बन्ध कतै खुलाएको थिइनँ। दुई/चार मित्रहरूलाई थाहा थियो र नि:शब्द निस्किँदा। पछि उनै मित्रहरूको माध्यमबाट अलि धेरैलाई थाहा हुन थाल्यो अनि के पनि लाग्यो भने, भएको कुरा भनिदिँदा हुन्छ अब। तर उहाँसँग सम्बन्ध हुनु/नहुनुले खासै फरक पारेको छैन मलाई, पारेको महसुस भएको पनि छैन। 'राष्ट्रकवि तपाईंको ठूलो बुबा हुनुहुँदोरहेछ त?' मित्रहरूले भेटमा भन्नुहुन्छ आजभोलि। अँ भन्छु म। बस सकिन्छ कुरा त्यही ।

    अचेल कविता लेख्ने कविहरू प्रशस्त छन् तर  कविताको स्तर त बढ्न सकेको छैन भन्छन्। किन होला?

    म आफैँ पनि उपन्यासमा लागेको छु तर एउटा कुरा मलाई के लाग्छ भने नेपालमा कविता पहिले पनि समृद्ध थियो, अहिले पनि छ।  गजल विधा अब्बल हुँदै गएको छ, गीत विधा खत्तम हुँदै। आख्यानको हालत हरिबिजोग खालको छ। बिक्नुले कुनै सिर्जना अब्बल नहुँदोरहेछ, न कुनै पुरस्कारले नै।

    मनु मंजिलको 'ल्याम्पोस्टबाट खसेको जून', भूपिनको 'हजार वर्षको निद्रा', रमेश क्षितिजको 'घर फर्किरहेको मानिस' उदाहरणका लागि यी तीन कविताका पुस्तक हेर्नू। यी कृतिको आयु भूपि र रिमालको कलमले समृद्ध बनाएको लेखनभन्दा निम्न कोटीको देख्दिनँ म। हरेक वर्ष एउटा अब्बल कविता कृति आइरहेको पाएको छु मैले । नेपाली कविताको समृद्धिका लागि वर्षमा एउटा कविताको अब्बल कृति नै काफी छ।

    यति हो कि दैनिक नाङ्ले अनि अनलाइन पत्रपत्रिकामा छापिएका कविता हेर्दा भने कविताको स्तर हरिबिजोग देखिन्छ। कुनै गायकले गायन प्रस्तुतिमा वाहवाहीको मोहमा जम्मै कपडा खोलेर फ्याँक्न सकेजस्ता देखिन्छन् कविहरू कवितामा।

    चोकचोकमा फेसबुके कवि, पहिचानवादी कवि, राष्ट्रवादी कवि, पर्यटन कवि, मौसमी कविहरू प्रशस्त भेटिन्छन्, तपाईं आफूलाई चाहिँ कस्तो खाले कवि हुँ भन्ने लाग्छ?

    ठीक भन्नुभयो। चोकचोकमा भेटिन्छन् यस्ता कवि। भन्ने बेलामा पहिचानवादी लेखन, हेर्दा जातिवादी, राष्ट्रवादी, फेसबुके, मौसमी, पर्यटन कविहरू। यस्तै भीड अनि झुन्डबाट केही कविहरू बाहिर निस्कन्छन्, आफ्नो एकान्तमा जान्छन् अनि सुन्दर सिर्जना गर्ने गर्छन्। उनीहरू हल्ला गर्दैनन्, उनीहरूको पुस्तकले नै हल्ला गर्छ। उदाहरणका लागि तीन नाम दिन्छु- निरज भट्टराई, नवीन प्राचीन, सिजन श्रेष्ठ। मस्तै मीठा कविता लेख्ने पत्रकार भाई नवीन अभिलासीलाई म पटक पटक भनिरहेको हुन्छु, तपाईंले भनेजस्तो कुनै झुन्डमा नरमाउन भनेर।

    तपाईंलाई एकदमै मनपरेको कविता कृति कुन हो र किन?

    एउटा कृतिको नाम लिनु? भयो हृदयलाई यसरी खुम्चाउन सक्दिनँ म। यति धेरै राम्रा कविता कृति हामीसँग छन्, एउटै मात्र मनपरेको भन्ने नै छैन। बरु दश कृति भनेर सोध्नुस् अनि कारण पनि माग्नुस्, भनुँला म।

राजु पौडेल

पत्रकार पौडेल २०७४ माघदेखि थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुची राख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]