स्वागतमा कञ्जुस्याइँ नगरौँ

|

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादका ठूला कुरा मात्र गरेर देश विकास नहुने बताएका छन्। आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रतिनिधिसभामा भएको छलफलमा बोल्दै डा. भट्टराईले एमाले र माओवादीको नारा बनेको समाजवादका ठूला कुराभन्दा पनि वृद्धि र विकास गरेर अघि बढ्नुपर्ने बताएका हुन्। 

डा. भट्टराईले पूर्वाधारको विकास र समाजिक विकासमा जोड नदिए विकास सम्भव नभएको बताए। उनले भने, ‘समाजवाद ल्याउनका लागि विकास गर्नै पर्छ। विकास अहिले दुई प्रकारका छन्। एउटा सामाजिक विकास र अर्को पूर्वाधार विकास।’

डा. भट्टराईले पूर्वाधार विकासअन्तर्गत रेलमार्ग, सडक विकासलगायतका पूर्वधारको विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘सडक विस्तारको काम नगरी विकास सम्भव छैन। सडक र गाउँलाई सडक सञ्जालमार्फत नजोडे निर्वाहमुखी कृषि प्रणालीको अन्त्य हुँदैन। सडक सञ्जानलले मात्र औद्योगिक अर्थतन्त्र बन्न सक्छ।’

यस्तै समाजिक विकास भनेको शिक्षा रहेको उनले अर्थ्याए।उनले भने, ‘सामाजिक पूर्वाधार भनेको शिक्षा नै हो। शिक्षालाई व्यवसायिक र प्रविधिक विकास नगरेसम्म विकास सम्भव छैन।’

मुलुकको ७५३ वटै स्थानीय तहमा प्रविधिक शिक्षालय खोल्नै पर्नेमा उनले जोड दिए। प्रधानमन्त्री केपी शर्मा अोलीले करिब महिना दिनअघि वुद्धिजीवी कोट काट्ने मुसाजस्तै भएको भन्दै व्यंग्य गरेका थिए। डा. भट्टराईले प्रधानमन्त्रीको उक्त भनाइप्रति अपत्ति जनजाए। उनले भने, ‘प्रधानमन्त्रीजीले बुद्धिजीवीलाई कोट काट्ने मुसाजस्तै भएको भन्नुभयो। यसले गलत अर्थ लगाएको छ। बुद्धिजीवीले दम्भ गर्छन्। यो म स्वीकार गर्छु। दम्भ मात्र पालेर बस्नु हुँदैन।’ उनले ज्ञान र विज्ञानलाई अवहेलना गरेर देशको विकास हुन नसक्ने जिकिर गरे।

डा. भट्टराईले देश विकासको आधार कृषि भएका कारण यसलाई आधुनिकीकरण गर्नतर्फ जोड दिनुपर्ने बताए। उनले भने, ‘देश विकासको दरिलो आधार कृषि नै हो। यसलाई आधुनिकीकरण गरिनुपर्छ। जसका लागि सिंचाइ प्रमुख हो। अहिले मध्य र पूर्वी तराईका खेतहरु सिँचाइ अभावले फुटिरहेका छन्।’ पछिल्लो समय भूउपयोगमा मनपरी चलेको भन्दै यसो गर्न दिन नहुने बताए। 

स्वागतमा कञ्जुस्याइँ नगरौँ

डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा पनि बोले। उनले मोदीको स्वागतमा कुनै कञ्जुस्याइँ गर्न नहुने बताए। भट्टाराईले मोदीको स्वागतका लागि भइरहेको कामप्रति कुनै नकारात्मक टिप्पणी नगर्न आग्रह पनि गरे। उनले भने, ‘पछिल्लो समय समाजिक सञ्जालमा धेरै विरोध भएको मैले पाएको छु। त्यसो गर्न हुँदैन। उहाँको स्वागतमा कुनै कञ्जुस्याइँ नगरौँ।’ तर, मोदीसँग कुरा गर्दा राष्ट्रहितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए। उनले भने, ‘उहाँसँग कुराकानी गर्दा राष्ट्रियहितलाई केन्द्रमा राखौँ। राष्ट्रहित विपरीतका कुनै सम्झाैता नगरौँ।’

उनले सबै राष्ट्रका प्रमुख आउँदा स्वागतमा कञ्जुस्याइँ गर्न नहुने बताए। उनले सबै देशसँग सन्तुलित सम्बन्ध नभएसम्म विकास सम्भव नभएको बताए। उनले भने, ‘पहिला नेपाललाई दुई ढुंगाबीचको तरुल भनिन्थ्यो। तर, त्यो होइन। अब दुई देश विकास भएर समुन्द्र भए। हामी जहाँको त्यही। अहिले त दुई समुन्द्रबीचको टापु जस्तो भएका छौँ। अब दुई समुन्द्रको पुल बन्नुपर्छ।’

काम न काजको अख्तियार !

डा. भट्टराईले भ्रष्टाचार अन्त्य गरेर मात्र देश विकास हुने बताए। उनले भ्रष्टाचार नियन्त्रणका लागि काम न काजको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएको दाबी गरे।उनले भने, ‘अब यस्तो काम न काजको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएर काम छैन। यसको गलत अर्थ नलागोस् संवैधानिक आयोग हो। यसको भागिदार म पनि छु।’ त्यसको सट्टामा संविधान संशोधन गरेर प्रधानमन्त्रीलगायत सार्वजनिक पदमा बसेका माथि निगरानी राख्न सक्ने आयोग बनाउनुपर्नेमा जोड दिए। 

अख्तियारका प्रमुख नै भ्रष्टचारी भएको प्रमाणित भइसकेकाले अब प्रधानमन्त्री महातहतको अर्को आयोग गठन गर्नुपर्ने उनले सुझाब दिए। उनले भने, ‘यो आयोग सतर्कताका लागि मात्र भयो। अब कामकाजी आयोग बनाउनुपर्छ। भ्रष्टाचार निवारण गर्न बसेका नै भ्रष्टचारी भएको हामीले देखेका छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.