‘चुनावका गरिएका पाँच प्रतिशत प्रतिबद्धता पूरा भए’

|

कञ्‍नचनपुरको पूर्वी सिमानामा अवस्थित कृष्णपुर नगरपालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। कृष्णपुर नगरपालिका साविक रैकवारबीच वा गाविसको सम्पूर्ण भूभाग र देखतभूली गाविस मिलाएर बनाइएको हो। यस नगरपालिकामा १० हजार १६ घरधुरी छन् भने ५६ हजार १२० जनसंख्या रहेको छ। कृष्णपुर नगरपालिका २५५.२० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

साँस्कृतिक दृष्टिकोणले पनि यो नगरपालिका समृद्ध छ। यहाँ पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा वनदेवी, ग्वासी समैजी जस्ता प्रसिद्ध धार्मिकस्थल रहेका छन्। सिस्ने सिमसार क्षेत्र पनि यहाँको महत्त्वपूर्ण ठाउँ हाे। चौधरी र राना थारूबाहेक पहाडी मूलका थुप्रै जातजाति वासिन्दाको छुट्टै वेशभूषा, संस्कृति, पहिचान र पहिरनले समेत कृष्णपुर नगरको आकर्षण गर्दछन्। 

यस नगरपालिकामा एमालेका कर्णबहादुर हमाल नगर प्रमुख छन्। वि.सं. २०३१ मा डडेल्धुराको नवदुर्गा गाउँपालिका- ३ मा जन्मिएका उनै हमालसँग नगरपालिकालाई समृद्ध बनाउनका लागि अघि सारिएका नगरका दीर्घकालीन योजनाबारे थाहाखबरका महेन्द्रनगर संवाददाता राजेन्द्र पनेरुले गरेको कुराकानीको सार स‌ंक्षेप :

निर्वाचनमा जनतालाई दिएका अश्वासन कति पूरा गर्नुभयो?

जनताको समृद्ध नमुना नगरपालिका बनाउने चाहना पूरा गर्न लागिपरेका छौँ। योजनावद्ध रूपमा नगरको काम अगाडि बढिरहेको छ। चुनावमा जनता समक्ष गरिएका प्रतिवद्धता पूरा गर्नमा पछाडि हट्दैनौँ। हामी अहिले प्रारम्भिक चरणमा छौँ। चुनावमा गरिएका पाँच प्रतिशत प्रतिवद्धता पूरा भएका छन्। सडकको व्यवस्था सहज हुनुपर्छ भन्ने जनताको पहिलो माग थियो। साँघुरा सडक चौडा गर्ने, ग्राभ्रेल राख्ने, कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको छ। एकै पटक नगरपालिका क्षेत्रमा १० वटा सडक कालोपत्रे भइरहेका छन्। 

कृषिमा आधुनिकीकरण गर्न तालिम दिने, अनुदान उपलब्ध गराउने, साना सिँचाइको व्यवस्था गर्ने, युवा स्वरोजगार कार्यक्रममार्फत स्वरोजगार बनाउने, कृषि उपकरणका लागि अनुदान दिने, बेमौसमी तरकारी र फलफूल उत्पादनका लागि अनुदान र तालिमको व्यवस्था गर्ने कामको सुरुवात भइसकेको छ। स्वास्थ्य क्षेत्रतर्फ तीनवटा स्वास्थ्य  इकाई स्थापना गर्ने कार्य पूरा भएका छन्।

नगरपलिकाबाट पाउने अनुदान, अतिरिक्त स्रोत साधन, प्राकृतिक सम्पदा उपभोगबाट उपलब्ध हुने रकम, प्रदेश र केन्द्र सरकारले गर्ने सहयोग र दातृ निकायले दिने सहयोगबाट योजना पाँच वर्षभित्रै सम्पन्न हुनेमा आशावादी छु। 

नगर अस्पताल स्थापनाका लागि कार्य अगाडि बढाइएको छ। विद्यालय र क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि भौतिक पूर्वाधार विकासका लागि कार्य अगाडि बढेको छ। कंचन बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारका लागि ४० लाख, उदय सरस्वती क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि २५ लाख रुपैयाँ उपलब्ध गराइसकिएको छ। प्रत्येक सामुदायिक विद्यालयाको भौतिक पूर्वाधार विकासका लागि पाँच लाखदेखि २० लाख रुपैयाँसम्म अनुदान दिइएको छ। बजार क्षेत्रमा सौर्यबत्ती जडानका लागि २० लाख रुपैयाँ बजेट परिचालन भएको छ। स्वास्थ्यचौकीमा एम्बुलेन्सको व्यवस्था गर्ने प्रक्रिया अगाडि बढेको छ। 

तपाईं युवा नेताका रूपमा परिचित हुनुहुन्छ, युवाका लागि के कार्य गर्दै हुनुहुन्छ?

युवाका लागि रोजगारी सिर्जना गर्न अनुदान, व्यावसायिक तालिमहरूको व्यवस्था गर्ने काम अगाडि बढाएका छौंँ। यसबाट युवाले नगरपालिकामै बसेर व्यवसाय गरी जीविका चलाउन सक्छन्। युवालाई लक्षित गरी खेलकुद मैदान निर्माण गर्ने कार्य अगाडि बढाएका छौँ। वडास्तरीय खेलकुद गतिविधिलाई अगाडि बढाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेमा हाम्रो जोड छ। यसका लागि नगरस्तरीय फुटबल, क्रिकेट प्रतियोगितालगायत संचालन गर्ने योजना अगाडि बढाएका छौँ। सुविधा सम्पन्न स्टेडियम बनाउनका लागि कार्य अगाडि बढाएका छौँ। 

जनताको अपेक्षाअनुरूप कुनकुन कार्य अघि सारिएका छन्? 

जनताको सहज जीवनयापनका लागि नगर बस सेवा सुरु गर्दै छौँ। नगर बसपार्क बनाउनका लागि जग्गाको संभाव्यता अध्ययन कार्य अगाडि बढेको छ। नगर उद्यान स्थापनाका लागि जग्गाको खोजी भइरहेको छ। नगर क्षेत्रमा ढल निर्माणका लागि ८५ लाख रुपैयाँ परिचालन गर्नका लागि योजना बनाइएको छ। नगरपालिकाको व्यवस्थित कार्यालय भवन निर्माणका लागि ३३ लाख रुपैयाँ बजेट परिचालन गर्दै छौँ। जनतालाई वडाबाटै सेवा प्रदान गर्नका लागि वडा नं. १, ४, ६, ७ र ९ मा कार्यालय भवन निर्माण गर्ने लक्ष्य लिइएको छ। किसानका लागि शीतभण्डार स्थापना गर्ने, सिँचाइको व्यवस्था गर्नेलगायतका योजनाका लागि आवधिक पञ्चवर्षीय योजना बनाउँदै छौँ। मुक्त कमैयालाई मालपोत मिनाह गरिएको छ।  

काम गर्दै जाँदा कस्ताकस्ता कठिनाइको सामना गर्नुभएको छ?

जनशक्ति अभावले चाहेर पनि कामलाई द्रुत गतिमा अगाडि बढाउन कठिनाइ छ। ऐन कानुन निर्माणमा विलम्ब भए पनि मठमन्दिर निर्माण र जीर्णोद्वारका काम, स्वास्थ्य, खानेपानीलगायतका योजना अगाडि बढिरहेकै छन्। योजनामा गुणस्तर कायम गर्नका लागि अनुभव चाहिनेरहेछ। आगामी वर्ष गुरुयोजनाअनुसार नै जान्छौं। जनतामाझ गरेका प्रतिवद्धता अक्षरशः इमान्दारीपूर्वक पालना गर्छौं। नगरपालिकाको मुहार फेर्ने सपना पूरा गरेरै छाड्छौँ। अरूभन्दा विकास र सुशासनमा नमुना बन्न चाहन्छौँ। पाँच वर्षभित्र त्यो पूरा गर्छौं। 

चाहेर पनि पूरा गर्न नसकिएका कार्यहरू केके छन्? 

ठूला सिँचाइ आयोजना, रोजगारी सिर्जना, व्यवसायिक शिक्षा थप गर्ने, सडक कालोपत्रे गर्ने, नगर बस सञ्चालन गर्ने नदी नियन्त्रण, तटबन्ध निर्माण गर्ने लगायतका कार्यहरू एक वर्षभित्रै पूरा गर्न सकिन्नन्। प्रक्रिया अगाडि बढेको छ। कामको सुरुवात भएको छ। दुई वर्षभित्रमा धेरै ठूला योजना पनि अगाडि बढ्छन्। २५ शैयाको अस्पताल निर्माण गर्ने योजना छ। खानेपानीका योजना अगाडि बढ्छन्। र उद्योग स्थापनाका योजना बरिरहेका छन्। पर्याप्त आर्थिक नभएका कारण सवै काम एकैपटक सम्भव हुन्न। विस्तारै अगाडि बड्ने हो। नीतिगत कारणले कतिपय योजनाहरूअगाडि बढ्न पाएका छैनन्। नगरका समस्या समाधानका लागि गुरुयोजना बनिरहेका छन्। ठूला तथा नगरको आर्थिक अवस्थाले नधान्ने योजनामा भने प्रदेश सरकार र केन्द्रीय सरकारलाई बजेटका लागि गुहार्ने योजना बनाएका छौँ।

नीतिगत तथा व्यावहारिक समस्याको सामना गर्नु भएको छ कि? 
 
हुबहु कानुनसम्मत रूपमा काम गर्न कठिनाइ छ। कानुन स्पष्ट नहुँदा केही कार्य गर्न अलमलमा पर्ने गरेका छौँ। केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर उच्च प्राथमिकताका साथ कार्य गर्न चाहन्छौँ। समन्वय गरेर जाँदा कानुनी अड्चन आउँदैनन्। 

आवधिक पञ्चवर्षीय योजना बनाउँदै छौँ भन्नुभएको छ। त्यसभित्र कुनकुन योजनालाई समेट्दै हुनुहुन्छ? 

आवधिक पञ्चवर्षीय योजनाअन्तर्गत किसानका लागि शीतभण्डार स्थापना गर्ने, नगर बस संचालन गर्ने, बसपार्क निर्माण गर्ने, नगर उद्यान बनाउने, नगर अस्पताल बनाउने, मुख्य सडक कालोपत्रे गर्ने, सिँचाइको प्रवन्ध गर्ने, नदी नियन्त्रण गर्ने, खानेपानीका योजना लागू गर्ने, सबैको पहुँचमा स्वास्थ्य शिक्षा पुर्‍याउने, युवालाई रोजगारी दिन उद्योग स्थापना गर्नेलगायतका कार्यहरू समेट्दै छौँ। नगरपलिकाबाट पाउने अनुदान, अतिरिक्त स्रोत साधन, प्राकृतिक सम्पदा उपभोगबाट उपलब्ध हुने रकम, प्रदेश र केन्द्र सरकारले गर्ने सहयोग र दातृ निकायले दिने सहयोगबाट योजना पाँच वर्षभित्रै सम्पन्न हुनेमा आशावादी छु। 

अन्त्यमा केही भन्नु छ कि?  
२० वर्षसम्म स्थानीय तह अन्योलमा रह्यो। अब हामी निर्वाचित भएर आएका छौँ। जनताको आशा, अपेक्षा सोचेभन्दा बढी छ। यसै वर्ष सबै कुरा पूरा गरिदिएहुन्थ्यो भन्ने जनताको आशा छ। साधन, स्रोत र जनशक्तिले नभ्याउने भएकाले धैर्य गर्न आग्रह गर्छु। जनताले चाहेका कुरा पाँच वर्षभित्र पूरा गर्ने संकल्पमा पछाडि नहट्ने विश्वास दिलाउन चाहन्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.