प्रधानमन्त्रीद्वय मोदी र ओलीले संयुक्त शिलान्यास गर्ने

|

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ र २९ गते नेपालको दुईदिने धार्मिक भ्रमण गर्दै छन्। नेपालमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक भेटवार्ता गर्ने भए पनि नेपाल सरकारले यसलाई धार्मिक भ्रमण भनेको छ।

गृहमन्त्री रामबहादुर थापा गत सोमबार जनकपुर पुगेर भारतीय प्रधानमन्त्रीको भ्रमण विशुद्ध धार्मिक भएको जानकारी गराएका थिए। मोदीको भ्रमणका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीले रामायण सर्किटको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

पटनाबाट भारतीय सेनाको हेलिकोप्टरमा जनकपुरधाम आई जानकी मन्दिरमा विशेष पूजापाठ गर्ने र सोही दिन ऐतिहासिक रंगभूमि मैदान बाह्र विभामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सरिक भई राजधानी काठमाडौं फर्किने कार्यतालिका छ।

राजधानी काठमाडौं पुगेर मोदीले भोलिपल्ट मुक्तिनाथको दर्शन गर्ने भएका छन्। भोलिपल्ट राजनीतिक भेटवार्ता गरेर उनी दिल्ली प्रस्थान गर्ने प्रारम्भिक कार्यतालिका बनेको छ।

भारत सरकारले नेपालको सीमा जोडिएका उत्तर प्रदेशका तीन स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा यसअघि नै विकास गर्ने घोषणा गरेको थियो। नेपालले पनि बुद्ध र रामायण सर्किटमा विशेष चासो देखाउँदै मोदीको नेपाल भ्रमणको बेलामा रामायण सर्किटको घोषणा गर्ने तयारी गरेको छ। त्यसैअनुसार मोदीको २८ गतेको भ्रमणको क्रममा जानकी मन्दिरबाट रामायण सर्किटको घोषणा हुन लागेको हो।

रामायण सर्किट, बुद्ध सर्किट र कृष्ण सर्किट नेपाल र भारतको विकासका कोशेढुंगा सावित हुने विश्वासका साथ भारत सरकारले नेपालमा रामायणकालीन स्थलहरु भएकोले सर्किटलाई जोड्ने स्थलहरुको चिनारी तथा वृद्धि विकासका लागि सहयोग अनिवार्य भएको यसअघि नै बताएको थियो।

दुवै देशको साझेदारीमा रामायण सर्किट

नागरिक उड्डयन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारी रामायण सर्किटमा भारत एक्लै र नेपाल एक्लैले गरेर पनि केही गर्न नसक्ने भएकोले दुवै देशको साझेदारीमा रामायण सर्किटको अवधारणाअनुरुप यसलाई अघि सारिएको बताउँछन्। उनले भने, ‘रामायणकालीन ऐतिहासिक तथा धार्मिक स्थलहरु भारतको अयोध्या तथा नेपालको जनकपुरधाम क्षेत्रमा रहेकाले यसमा दुई देशको उत्तिकै चासो छ, तयारी पनि त्यसैगरी गरिएको छ।’

रामायण सर्किटमा भगवान् श्रीरामसँग सम्बन्धित सबै कुराहरु दर्शाइने बताइएको छ। रामायण सर्किटमा नेपालको जनकपुरधाम, भारतको अयोध्या, चित्रकुट, तमिलनाडु तथा इन्डोनेसिया र श्रीलंकालाई समेत जोडिनेछ। तर, प्रथम चरणमा भने नेपाल र भारतको रामायणकालीन स्थानको कुराहरुलाई झल्काइने भएको छ।

रामायण सर्किटमा श्रीरामको जीवनका तीन अध्याय

रामायण सर्किटमा भगवान् श्रीरामको जीवनका तीन अध्यायलाई चित्रण गरिनेछ। भगवान् श्रीरामको जन्म भारतको अयोध्यामा भएको थियो। उनको ससुराली तथा सीताको जन्मस्थान जनकपुरधाममा भएको थियो भने, श्रीलंकामा उनले रावणको वध गरेका थिए। यस सर्किटका माध्यमबाट पूरै रामायणलाई चित्रण गरिने उद्देश्यका साथ अघि बढेको मन्त्री अधिकारी बाताउँछन्।

मन्त्री अधिकारीले भने, ‘यसको केन्द्र भने नेपालको जनकपुरधाममा हुने पक्कापक्की जस्तै छ। रामायण सर्किटअन्तर्गत भारतले रामायण म्युजियम पनि निर्माण गर्ने भएको छ। म्युजियममा भगवान् रामसँग जोडिएका तथा पुरातत्व विभागसँग रहेका बहुमूल्य मूर्तिहरु समेत म्युजिममा राखेर शोभा बढाउने तथा पर्यटकलाई आकर्षणको केन्द्र बनाउने कार्य हुनेछ।’

झन्डै २ सय ४५ करोड रुपैयाँबराबरको परियोजना

भारत सरकारले झन्डै २ सय ४५ करोड रुपैयाँबराबरको परियोजनाको पहिलो चरणमा अयोध्याका लागि प्रस्ताव गरेको छ। यसका साथै चित्रकुट र श्रृंगवेरपुरको बीचमा पर्ने ११ स्थानका लागि पनि छुट्टै बजेट प्रस्ताव गरिएको छ। पौराणिक पात्र भगवान श्रीरामले वनबासका दौरान श्रीलंका जाँदा समय व्यतित गरेका भनिएका महत्वपूर्ण धार्मिक स्थलहरुलाई पर्यटकीय दृष्टिकोणले विकसित गरिनेछ।

अयोध्यामा कैँयौँ विकास योजनाहरु रामायण सर्किट परियोजनाअन्तर्गत प्रस्ताव गरिएका छन्। अयोध्यालाई जनकपुरसँग सडक मार्गबाट जोड्ने योजनासमेत परियोजनामा तय गरिएको छ।

मोदीको सकारात्मक जवाफ

त्यसका लागि पर्यटन मन्त्रालयले भारतको अयोध्या  र जनकपुरधाम जोड्ने ६ लेनको सडक बनाउन प्रस्ताव गरेको थियो। मन्त्री अधिकारीले भने,  ‘हामीले ६ लेनको बाटो बनाउन प्रस्ताव गरेका छौँ, जनकपुरबाट रामेश्वरमसम्म भगवान् श्रीराम बनवास गएका मार्गका प्रमुख स्थलहरुलाई विकसित गर्ने परिकल्पना पनि रामायण सर्किट योजनामा रहेको छ। ‘नेपालले ६ लेनको बाटो बनाउने गरेको प्रस्तावप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एट (८) लेनको ह्वाइ नट? भन्ने जवाफ आएको छ।’

धार्मिक पर्यटक बढ्ने अपेक्षा

रामायणअन्तर्गत राम, सीता, जनक, रावण, बाली, सुग्रीब हनुमान ‘कनेक्टिङ’ भएको बाटो भएकाले पनि धार्मिक पर्यटनमा यसले जोड पुग्ने नेपालको लक्ष्य छ। त्यसले नेपालका लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ लगायतमा पनि धार्मिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ। ‘यसमा इन्डोनेसियाको बाली पनि पर्छ,’ मन्त्री अधिकारीले भने, ‘श्रीलंकाको अशोक बाटिका, अयोध्या र जनकपुर जोडिन्छ। यसमा हवाई कनेक्टिभिटी, रेलमार्ग, रोड कनेक्टिभिटी पनि पर्छ र यसको केन्द्र जनकपुरधाम हुन्छ।’

यसरी रामायण सर्किटको माध्यमबाट बुद्ध, पशुपतिनाथ र मुक्तिनाथसँग पनि जोड्न सकिन्छ। र यसरी एक देशको अर्को देशसंग कनेक्टिभिटी भएको खण्डमा पर्यटकको सहज आवगमनका लागि बाटो खुल्नुका साथै विकासको मार्ग पनि प्रशस्त हुन्छ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणको क्रममा अयोध्या र जनकपुरधाम बीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध सम्बद्र्धन, प्रवद्र्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप परियोजना घोषणा हुन लागेको हो।

भारत सरकार पर्यटन मन्त्रालयबाट भारतभर दर्शन योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट एक हो। यो परियोजनाभित्र अयोध्या, शृङ्गपुर, चित्रकुट, सीतामढी, बक्सर दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, रामेश्वरम, हम्पी, नासिक र नागपुर समेटिनेछन् भने, नेपालको जनकपुरधामलगायत भगवान् राम र सीताको जीवनगाथासँग जोडिएको धार्मिकस्थलको विकास गर्ने लक्ष्य राखिएको छ। 

रामसीताको गाथासँग जोडिएको स्थान र पात्रको संरक्षण

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ तथा संस्कृतिविद् रामभरोष कापडी भ्रमरले रामायण सर्किटको मुख्य उद्देश्य रामायणमा रामसीताको गाथासँग जोडिएको स्थान र पात्रलाई एक सूत्रमा बाँधेर प्राचिन्तम अवशेष तथा धरोहरुलाई संरक्षित गर्दै एक अर्को देशको हितमा सहयोग पुग्ने बताए।

उनले यातायात, रेलमार्ग, तथा हवाईमार्गको सहज पहुँच बनाई आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको विकासमा जोड दिनुपर्ने सुनाए। उनले भने, ‘जनकपुरधामसहित आसपास रहेका क्षेत्रहरु जस्तै धनुषाधाम, वाल्मिकी आश्रम तथा फलहरलाई विकासको खाकालाई अध्ययन अनुसन्धान गरी विकासको सम्भावनालाई बढाउन सकिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.