|

कावासोती : गत आइतबार कावासोतीमा रहेको नापी कार्यालयमा कावासोती ३ का एकजना सेवाग्राही नाप नक्साको कामले साढे १० बजे कार्यालयमा पुगे।

तर, त्यहाँ कर्मचारी समयमा नआउँदा करिब एक घण्टाभन्दा बढी कर्मचारी कुरेर बस्न बाध्य भएको गुनासो गरेका छन्। नापी कार्यालय मात्र होइन नवलपरासीपूर्व जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा कर्मचारीहरु कार्यालय समयमै नपुग्ने गरेको आरोप सेवाग्राहीहरुले लगाएका छन्।

मालपोत कार्यालय कावासोतीमा केही कर्मचारीहरु ११ बजे भन्दा पहिला कहिल्यै नआएको नाम नलेख्ने सर्तमा मालपोत कार्यालय कावासोतीका एक कर्मचारीले नै बताएका छन्। सरकारले सरकारी कार्यालयमा १० बजे पुग्ने र ५ बजे फर्किने गरी कामकाज तोकेको भए पनि कर्मचारीहरुले समयको पालना नगर्दा सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको कावासोतीका स्थानीय विष्णु थापाले बताएका छन्। उनले भने, ‘कावासोतीको नापी कार्यालयमा कहिल्यै पनि कर्मचारी समयमा आउदैनन्।’

कर्मचारी समयमा कार्यालय नजाँदा सेवाग्राही मर्कामा पर्ने गरेका हुप्सेकोट गाउँपालिकाका ३ का श्याम सोमेले बताए। उनले भने, ‘कर्मचारीको मनोमानी बढेको छ। बिहान १० बजे कुनै पनि कर्मचारी कार्यालयमा आउँदैनन्’ उनले भने, ‘निगरानी गर्ने निकायले चासो नदिँदा कर्मचारीको मनोमानी बढेको छ। सेवाग्राहीले दुःख पाएका छन्।’

नवलपरासी पूर्वका अधिकांश   सरकारी कार्यालयमा विद्युतीय हाजिरी छैन। विद्युतीय हाजिरी नहुँदा कर्मचारीको मनोमानी बढेको सेवाग्राहीले बताएका छन्। नवलपरासी पूर्वका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी र कर्मचारीलाई सिसिक्यामेराको निगरानिमा राख्न सके मात्र सेवाग्राहीहरुलाई सहज हुने देबचुलीका नरहरी गौतमको सुझाब छ।

केही दिन अगाडि मात्र सरुवा भएर आएका नवलपरासी पूर्वको प्रमुख जिल्ला अधिकारी महेश आर्चायले समयमा कार्यलयको काम गर्न नपुग्ने कर्मचारीहरुलाई तत्काल समयमा कार्यालय गएर काम गर्ने निर्देशन दिने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.