|

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हुने भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ। मोदीको भोलि शुक्रबार जनकपुरधाम आउने कार्यक्रम रहेको छ। उनको स्वागतार्थ जनकपुरधामलाई विशेष किसिमले बेहुलीझैँ सिंगारिएको छ।

मोदीको स्वागतका लागि जनकपुरको मुख्य सडकमा स्वागतद्वार र दुवै देशका राष्ट्रिय झन्डाले सजाइएको छ। जनकपुरधामस्थित विमानस्थलदेखि जानकी मन्दिर तथा अभिनन्दन समारोह आयोजनस्थलसम्म ११६ वटा स्वागतद्वार निर्माण गरी स्वागतद्वारमा प्रधानमन्त्री मोदीको ठूलो तस्बिरसहित ‘सीता नगरी जनकपुरधाममा स्वागत छ’ भनी, मैथिली, भोजपुरी, नेपाली तथा हिन्दी भाषामा लेखिएको ब्यानरहरु झुन्डयाइएको छ । मुख्य सडकको स्वागतद्वार, बिजुली र सोलारका पोलमा नेपाल–भारतको झन्डाले सजाइएको छ भने, सडकलाई सफासुग्घर र चिटिक्क बनाइएको छ।

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामवासीद्वारा गरिने अभिनन्दनस्थल एतिहासिक रंगभूमि बाह्रविघा मैदानमा उच्चसुरक्षा निगरानीमा मञ्च निर्माण र पण्डाल व्यवस्थापनको कार्य पनि अन्तिम चरणमा रहेको छ। मोदीको जनकपुरधाम भ्रमण सन्दर्भमा सवारी मार्गमा सुरक्षा अभ्यासको 'रिहर्सल' बिहीवार दिनको ४ बजेबाट प्रारम्भ भएको धनुषाका प्रहरी नायव उपरिक्षक प्रविण धितालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी दीलिप चापागाईंले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका लागि नेपाली सेनाको विशेष सुरक्षाको व्यवस्था गरिएको बताउँदै नागरिक अभिनन्दनस्थल बाह्रविघा र जानकी मन्दिरमा एकीकृत सुरक्षा योजना अनुरुप नेपाली सेनासहितको सुरक्षा टोलीलाई दिइएको जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन छ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विमानस्थल, जानकी मन्दिर र रंगभूमि मैदान क्षेत्रमा विशेष सुरक्षा योजना लागू गरिएको छ। नेपाल प्रहरीका डीआईजी ठूले राईको कमान्डमा सुरक्षा टोली परिचालन गरिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.