बढ्दो असन्तुलन: चार हजार वस्तु खरिद तीन सय बिक्री

|

काठमाडौं : नेपाल भारतको व्यापार प्रत्येक वर्ष बढ्दै गएको छ। गत वर्षकौ नौ महिनामाको तुलनामा यस वर्षको नौ महिनामा एक खर्ब सात अर्ब ५२ करोडको व्यापार वृद्धि भएको छ।

नेपाल भारतका उच्च अधिकारीहरूको दुई देशमा हुने हरेक बैठकमा तथा छलफलमा दुई देशको व्यापारिक समझदारी बढाउने र थप गाढा बनाउने विषयमा बहस गर्ने तथा पहलकदमी चाल्ने गरेका छन्। जसको प्रतिफल व्यापारमा देखिएको छ।

शुक्रबारदेखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमणमा पनि व्यापारी सम्वन्ध थप मजबुत बनाउने विषयले प्राथमिकता पाउनेछ।

गत वर्षको नौ महिनाको तलुनामा यस वर्षको नौ महिनासम्ममा एक खर्ब सात अर्ब ५२ करोड रुपैयाँको व्यापार बढेको भन्सार विभागको तथ्यांक छ। यो गत वर्षको तुलनामा २१ प्रतिशत बढी हो।

नेपालको जम्मा व्यापारमा  भारतसँगको हिस्सा ६५ प्रतिशत पुगेको छ। यो अवधिमा नेपालको जम्मा व्यापार ९ खर्ब ३३ करोड ८० लाख पुगेको छ।

गत वर्ष नौ महिनामा दुई देशको व्यापार पाँच खर्ब २८ अर्ब ३० करोड रुपैयाँ पुगेको थियो भने यो वर्षको नौ महिनामा छ खर्ब १० अर्ब ३५ करोड पुगेको छ।

नेपालको जम्मा व्यापारमा  भारतसँगको हिस्सा ६५ प्रतिशत पुगेको छ। यो अवधिमा नेपालको जम्मा व्यापार ९ खर्ब ३३ करोड ८० लाख पुगेको छ।

नेपालको जम्मा आयात व्यापारसँग भारतको हिस्सा ६६ प्रतिशत पुगेको छ। जम्मा आयात व्यापार आठ खर्ब ७४ अर्ब ६ करोड पुगेको छ भने भारतसँगको आयात व्यापार पाँच खर्ब ७६ अर्ब सात करोड पुगेको छ।

जम्मा निर्यात व्यापारमा भारसँगको हिस्सा ५७ प्रतिशत रहेको छ। जम्मा निर्यात व्यापार ५९ अर्ब ७३ करोड माथि छ भने भारतसँग निर्यात ३४ अर्ब २८ करोड रहेको छ।

नेपालको जम्मा व्यापार घाटामा भारतको ६६ प्रतिशत हिस्सा छ। जम्मा व्यापार घाटा आठ खर्ब १४ अर्ब ३२ करोडको पुगेको छ भने भारतसँगको घाटा पाँच खर्ब ४२ अर्ब ७८ करोड पुगेको छ।

नेपाल भारतको अंक व्यापार

चालु आर्थिक वर्षमा नौ महिनाका नेपाल व्यापारको व्यापार ६ खर्ब १० अर्ब ३५ करोड पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो।भारतसँगको व्यापारमा नेपालको आयातको हिस्सा ९४.३८ प्रतिशत रहेको छ। जसअनुसार आयात पाँच खर्ब ७६ अर्ब ७ करोड पुगेको छ।

त्यस्तै निर्यातको हिस्सा ५.६१ प्रतिशत रहेको छ। निर्यातको तुलनामा आयात १७ गुणाले बढी छ। एक रुपैयाँको सामान भारत पठाउदा भारतबाट १७ रुपैयाँको सामान आएको छ।अहिले सय रुपैयाँ व्यापार भारत नेपालको हुँदा नेपालले ६ रुपैयाँको बेचेको छ भने ९४ रुपैयाँको किनेको छ।

भारतबाट नेपालमा चार हजार २१९ थरिका समाग्री आएका छन् भने नेपालबाट ३६८ थरिका सामान मात्रै भारत गएका छन्।

आउँदा सहजै जाँदा गाह्रो

भारतले नै नाकाबन्दी गर्दा वा भारतले नै चाहेको समयबाहेक भारतबाट नेपाल आउने सामाग्रीमा सामान्यत: अवरोध हुँदैन। तर, नेपाली व्यापारीलाई तेस्रो मुलुकमा सामान पठाँउनुभन्दा बढी झण्झट भारत पठाउँदा भएको प्रतिक्रिया दिएका छन्।

कहिले माथिको आदेश भनेर र कहिले कुनै कारणबिना नै निर्यातमा अवरोध गरिँदै आएको छ

‘कहिले माथिको आदेश भनेर र कहिले कुनै कारणबिना नै निर्यातमा अवरोध गरिँदै आएको छ’ एक व्यापारीले भने, ‘प्रत्येकपटक सहजीकरण गर्ने कुरा हुन्छ, तर सधैँ समस्यामा पारिन्छ।’

सामान्यतया नेपालबाट धेरै निर्यात हुने सामाग्रीहरूमा भारतको अवरोध हुने गरेको छ। अलैँची, अदुवा र चियामा पटक-पटक अवरोध हुँदा नेपाली किसान समस्यामा परेका छन्।

चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट अलैँची तीन अर्ब ८७ करोड ३३ लाख ३१ हजार रुपैयाँको भारत निर्यात भएको छ। काचो अदुवा २५ करोड ६१ लाख ९६ हजार रुपैयाँको निर्यात भएको छ भने चिया एक करोड ९६ लाख ३० हजार रुपैयाँ निर्यात भएको छ।

चिया

भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट पछिल्लो एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन।

चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो। हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार गुणस्तर नेपालबाट तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमुना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ। ‘झण्झटिलो प्रक्रियाले नेपाली चिया निर्यातमा समस्या सिर्जना भएको छ,’ उनले भने, ‘यसले नेपाली किसान र व्यापारी दुवै मारमा परेका छन्।’

पानीट्यांकी भन्सारमा रोकिएको ट्रकमा १७ हजार किलोभन्दा बढी तयारी चिया रहेको व्यवसायी रोशन अग्रवालले जानकारी दिए। एकपटक चियाको नमुना परीक्षण गराउँदा भारु २५ हजार खर्च लाग्ने गरेको छ । भारत निर्यात हुने चिया मात्रै होइन, तेस्रो देश निकासीका लागि भारतीय भन्सार पुगेका चियाका ट्रक पनि रोकिएका छन्।

काँचो अदुवा

भारत निर्यात गरिने कृषिजन्य वस्तुमा काँचो अदुवा पठाउन पनि सधैँ समस्यामा पर्ने गरेको छ। गत महिनामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज आउने दिनमै समस्या समधान गरिएको बताइए पनि व्यापारी त्यसपछि पनि उस्तै सास्ती खेप्‍ने गरेका छन्।

विगत तीन वर्षदेखि भारतले विभिन्न बाहनामा अवरोध जारी राखेरहेको छ। पटक-पटक अवरोध सिर्जना गरेकै कारण नेपाली किसान र व्यवसायी धेरै समस्यामा परेको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहोरा बताउँछन्। उनले अवरोधका विषयमा पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि समाधान नभएपछि बंगलादेश पठाउने विकल्प खोजेको बताए।

उनीहरूले बंगलादेश पुगेर बजारको अवस्था, अदुवाको माग, निर्यातसम्बन्धी प्रक्रियाबारे अध्ययन गरी निर्यात पठाउन सुरु गरेका छन्। ‘भारत पठाउनुभन्दा तेस्रो मुलुक पठाउन सहज भएका कारण विकल्प खोजेका हौँ,’ बोहोराले भने।

अलैँची

अलैँचीको भारत निर्यातमा पनि पटक-पटक समस्या पर्ने गरेको छ। अलैँचीको लागि उर्वर भूमि मानिने पूर्वका तेह्रथुमलगायतका जिल्लाका किसानहरू निर्यातमा भारतले अवरोध गर्दा समस्यामा पर्ने गरेका छन्।

नेपाल र भारतबीच भएको वाणिज्य सन्धिमा यसरी निर्यातमा प्रतिबन्ध लगाउन नपाइने व्यवस्था भए पनि भारतले नेपालको निर्यातमा यस्तो झमेला हरेक वर्ष निकाल्ने गरेको छ।

मूल्य घटाएर विक्री गर्दासमेत भन्सार अवरोध गर्ने गरिएको विभिन्न नाममा समस्या देखाइएको बताएका छन्। गत वर्ष तेह्रथुमका किसानले अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँसम्म कारोबार गरेका थिए भने यो वर्ष ५० हजारमा प्रतिमन बिक्री गरिएको किसानको भनाइ छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा अलैँची निर्यातमा सहजीकरण गरिदिन आग्रह गरेका थिए। तर, त्यसपछि पनि समस्या समधान भएको छैन। सरकारले निर्यात बढाउन सक्ने वस्तुको सूचीमा राखे पनि भारतले लगाएको अघोषित प्रतिबन्धका कारण व्यापारमा समस्या परेको व्यापारीहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.