|

गोरखा : पालुङटार नगरपालिकाको कार्यालयले २०७५ बैशाख १२ मा एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय प्रमुखलाई सम्बोधन गरेर नगरपालिका क्षेत्रभित्र उक्त कार्यालयबाट संचालन भएका परियोजनाहरूको विवरण पाऊँ भनी पत्र लेख्यो। पत्र पठाएको केही दिनमा पनि माग गरेको विवरण उपलब्ध नभएपछि नगर प्रमुख दीपकबाबु कँडेलले नगरपालिका कार्यालयका प्राविधिकहरूलाई सडक आयोजना कार्यालयमै पठाएको बताए। 

‘मैले बैशाख १३ मा कार्यालयको लेटर हेडमा पत्र लेखेर विवरणहरू माग गरेको थिएँ’, प्रमुख कँडेलले भने, ‘मैले अनावश्यक र कार्यालय प्रमुखले दिन नमिल्ने, दिन नसक्ने कागजात मागेकै छैन। उहाँले किन अटेर गरिरहनुभएको छ? मैले त पालुङटार नगरपालिका क्षेत्रभित्र पर्ने सडक निर्माण तथा मर्मत योजनाहरूको विवरण र योजनाहरूसँग सम्बन्धित बोलपत्रका कागजातहरू उपलब्ध गराइदिई सहयोग गरिदिनुहोला भनेर पत्र पठाएको थिएँ।’  

नगरपालिकाभित्र भएको काम कारबाही नगरपालिकाले अनुगमन गर्न सक्ने भन्दै प्रमुख कँडेलले पारदर्शिता र कामको सुदृढीकरणका लागि आफूले विवरण माग गरेको बताए। ‘यो नगरपालिकाभित्र भएका कामहरू कहाँ कसरी संचालन भइरहेका छन् भनेर जान्न पाउने सबैको अधिकार हो। त्यसमाथि पनि जिम्मेवार जनप्रतिनिधिले सूचना माग्दा किन नदिने?’ उनले प्रश्न गरे। यता, आयोजना प्रमुख अमृतमणि रिमालले भने नगरपालिकाले योयो शीर्षकको योयो चाहियो भन्नुपर्ने बताए। ‘कुन शीर्षकको के कुरा चाहिएको हो भन्नुपर्‍यो’, उनले भने, ‘केही तथ्यांकबारे मैले जानकारी गराएको छु। के खोज्नुभएको हो मैले बुझ्दिनँ।’  

प्राविधिकहरूलाई सडक आयोजना कार्यालयमै पठाउँदा विवरण नदिएका आयोजना प्रमुखले हुलाकमार्फत विवरण पठाएको भन्दै टार्ने गरेको प्रमुख कँडेलको आरोप छ। यता, सडक आयोजना कार्यालयका प्रमुख रिमालले थाहाखबरसँगको कुराकानीमा पनि नगरपालिकाभित्र मौवाटार-पौवाटार सडक, प्याउली खोला कल्भर्टलगायतका मात्र योजना रहेको भन्दै पन्छिए। 

नगरपालिकाले कुन योजनाको कहिले टेण्डर भएको हो र अहिलेसम्मको प्रगति के छ, कुन योजना किन ढिलो संचालन भएको भनेर जान्न खोजेको नगर प्रमुख कँडेलको भनाइ छ। ‘कुनकुन ठाउँमा कार्यक्रम भएको छ, कुनै योजनाहरू ढिला भएका छन् भने किन ढिला भयो?  नगरपालिकाले त्यसलाई छिटो गर्न सहजीकरण गर्न सक्छ’, आफैँ इन्जिनियरसमेत रहेका प्रमुख कँडेलले भने, ‘हाकिम सा'बलाई विवरण दिन किन गाह्रो भएको हो, थाहा छैन। मेरो उद्देश्य भनेको काम समयमै सम्पन्न गर्ने र पारदर्शी हुने भन्ने हो।’ 

नगर प्रमुखले आयोजना प्रमुखले विवरण उपलब्ध नगराएपछि सडक विभाग काठमाडौंका महानिर्देशकलाई बैशाख २० मा पत्र लेखेको बताए। ‘यता हाकिम सा'बले विवरण नदिएपछि मैले विभागमै महानिर्देशकलाई सम्बोधन गरी पत्र लेखेर विवरण दिन सहयोग गर्न आग्रह गरेको छु’, उनले भने। नगर प्रमुख कँडेलले हस्ताक्षर गरेर महानिर्देशकलाई सम्बोधन गरी लेखेको पत्रको बोधार्थ जिल्लास्थित सडक आयोजना कार्यालयलाई पनि दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.