|

बुटवल : प्रदेश ५ को प्रदेश सभाले तीन महिनामा २० घण्टा मात्रै काम गरेको छ। शून्य र विशेष समयसहित २० घण्टा बसेको बैठकले चार वटा बिधेयक पारित गरेको छ।

माघ २१ गते पहिलो बैठक बसेको थियो। समयमा ‘बिजनेश’ नपाएपछि १७ दिन बैठक बसेर पहिलो अधिवेशन अन्त्य भएको छ। 

सभामुख र उपसभामुखको निर्वाचन, मुख्यमन्त्रीको विश्वासको मत, प्रदेशको नीति तथा कार्यक्रमदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन २० घण्टाभित्र भएका कामहरु हुन्। प्रदेश सभाको सोह्रौ बैठक दुई मिनेटमा सकिएको थियो भने सबैभन्दा लामो तेह्रौ बैठक पौने चार घण्टा चलेको थियो।

सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको पहिलो अभ्यास फलदायी बनेको भन्दै आगामी अधिवेशनलाई अझ व्यस्त बनाउने बताए। ‘१७ दिन बसेको बैठकमा ८ बिधेयक प्रस्तुत भएमध्ये चार वटा पारित भइसकेका छन्’, उनले भने– ‘सिक्ने चरणमा पनि महत्त्वपूर्ण काम भएका छन्।’

यसबीचमा ‘बिजनेश’ नपाएका कारण संसद स्थगितसमेत भएको थियो। तर सभामुख घर्तीले त्यसलाई स्वीकार गर्दैनन्। प्रदेश सभाबाट प्रदेश सभा नियमावली, आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, सार्वजनिक लिखत प्रमाणिकरण गर्न बनेको विधेयक, गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धमा बनेको विधेयक र प्रदेश सरकारको चालु आर्थिक वर्षको सेवा र कार्यहरूका लागि संचित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्न बनेको विधेयक पारित भएका छन्।

अधिवेशन अन्त्य अगावै दर्ता भएका तीन विधेयकमाथि भने छलफल हुन बाकी छ। स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधासम्बन्धी विधेयक विधायन समितिमा छलफलपछि संसदमा पेश भएको छ। प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा प्रदेश सभाका पदाधिकारीहरुको पारिश्रमिकसम्बन्धी विधेयक भने विधायन समितिमै छलफलमा छन्।

पहिलो अधिवेशन सकिदासम्म पनि प्रदेश सभामा भौतिक संरचनाको अभाव टरेको छैन्। अस्थायी संरचनमा रहेको प्रदेश सभालाई व्यस्थित गर्न कर्मचारी र पूर्वाधार अभाव भएको सचिवालयले जनाएको छ। ७४ जना कर्मचारी आवश्यक हुनेमा अहिले जम्मा २८ जना रहेका छन्। 

प्रदेश सभाका रहेका चार समिति तथा संसदीय दलको कार्यालय व्यवस्थापनसमेत भइसकेका छैनन्। सभामुख घर्तीले केही समयभित्रै आसपासका संघसंस्थाका भवनलाई समितिको कार्यालयका रुपमा प्रयोग गरिने बताए।

प्रदेश सभामा ८७ सांसद रहे पनि अहिलेसम्म ८६ जना मात्रै उपस्थित हुने गरेका छन्। राजपाको समानुपातिक सांसद विना पन्तले अहिलेसम्म पनि शपथ लिएकी छैनन्। 

उपसभामुख कृष्णी थारुले सिकाईको चरणमा रहेको प्रदेश सभाले पहिलो अधिवेशन विवादरहीत टुंग्याउन सकेको बताइन्। ‘संसदमा कति विवाद र तनावका अवस्था हुन्छन्, हाम्रो प्रदेशमा कुनै दिन पनि संसद अवरुद्ध भएन, यो गर्वको कुरा हो’, उनले भनिन्।

कानुन निर्माणको चरणमा पनि निकै कम संसद बैठक बसेकोमा कतिपय सांसदहरु भने रुष्ट छन्। सरकारले समयमै काम दिन नसक्दा लामो दिनको अन्तरमा बैठक बोलाउने गरिएको छ। प्रदेश सरकार सञ्चालनका लागि डेढ दर्जन कानुनको आवश्यकता छ। पहिलो अधिवेशन बैशाख २५ गतेबाट अन्त्य भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.