|

काठमाडौं : नेपाल भ्रमणका क्रममा चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा नेपाली भाषामा सम्वोधन गर्दा उनको निक्कै चर्चा भयो। अझ संसदमा भाषणको क्रममा उनले बुद्ध नेपालमा नै जन्मिएका हुन् भनिदिए। 

त्यस बखत भारतीय पक्षले शान्तिका प्रतिक गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेको थियो। तर, भारतीय प्रधानमन्त्री मोदीले नेपालमा नै जन्मिएको भनेपछि नेपाली जनताले उनको निक्कै प्रशंसा गरे। तर, तेस्रो पटक नेपाल भ्रमणमा आउँदै गरेका मोदीले अघिल्ले छविलार्इ टिकाइ राख्न सकेनन्।

विस २०७२ असोजमा नेपालमा संविधान जारी भएपछि संविधानप्रति असन्तुष्टि जनाउँदै मधेश केन्द्रित दलहरूले गरेको आन्दोलनलाई समर्थन गर्दै मोदीले अघोषित् नाकाबन्दी गरेपछि फाटेको नेपाली मन अझै जोडिन सकेको छैन।

त्यो अघोषित् नाकाबन्दीपछि नेपाल अाउँदै गर्दा उनको सामाजिक सञ्जालमा विरोधको ओहिरो लागेछ। अझ २०७१ सालमा आएका बेला गरेका केही प्रतिवद्धता पूरा नगर्दा नेपाली जनताले उनको तीब्र अालोचना गरिरहेका छन्। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणमा नेपाल भ्रमणमा आएका भरतीय समकक्षी मोदीले आफ्ना धेरै प्रतिवद्धता पूरा गर्न सकेका छैनन्। यस्तै थाेरै प्रतिवद्धता भारत सरकारले पूरा गरेको छ।

यी हुन् पूरा भएका प्रतिवद्धता

मोदीले पहिलो पटक नेपाल भ्रमण गर्दा भारतबाट नेपालमा सम्पर्क गर्दा दूरसञ्चार शुल्क १२ रुपैयाँबढी लाग्ने गरेको थियो। तर, उनले नेपालको संसदमा संवोधन गर्दै उक्त शुल्क घटाउने प्रतिवद्धता गरेका थिए। त्यसपछि भारतीय सरकारले सरकारी टेलिकममार्फत नेपालमा फोन गर्दा  ६ रुपैयाँ ५० पैसा मात्र लाग्ने गरेको छ।

भारतमा धेरै नेपाली काम गर्ने भएकाले परिवारमा सम्पर्क गर्दा निक्कै समस्या हुने गरेको थियो। त्यसबेला मोदीले भनेका थिए,‘नेपालबाट अमेरिक सम्पर्क गर्दा सस्तो लाग्छ। तर, नजिकै भारतमा फोन गर्दा महंगो हुन्छ। यसमा मेरो ध्यान गएको छ। हामी यसलाई घटाउँछौँ।’

उनले त्यस क्रममा नेपालमा पर्यटनको सम्भावना धेरै भएको भन्दै नेपालले भारतबाट पर्यटन प्रवर्द्धन गर्न सक्ने बताएका थिए। उनले पर्यटन व्यवसायबाट सबैले रोजगार पाउनेमा जोड दिएका थिए। उनले भनेका थिए,‘ पर्यटन व्यवसायबाट चना बेच्ने, ट्याक्सिवाला, रिक्सावाला र चिया बच्नेले पनि कमाउँछन।’ नेपालका पर्यटकीय क्षेत्रमा अहिले अधिकांश भारतीय पर्यटकहरू भेटिन्छन्। भारतमा पनि नेपालबाट धेरै काम गर्न जाने गरेका छन्।

त्यस क्रममा उनले नेपालमा विजुली दिएर अन्धकार हटाउनेसमेत प्रतिवद्धता गरेका थिए। यस्तै, नेपाली विद्यार्थीलाई भारत सरकारले छात्रवृत्ति प्रदान गर्ने मोदीले घोषणा गरेका थिए। अहिले बर्सेनि सयौँ विद्यार्थीले छात्रवृत्ति पाएका छन्।

पूरा हुन बाँकी प्रतिवद्धता

यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल आएका मोदीले के-के प्रतिवद्धता गर्छन् भन्ने हेर्न बाँकी नै छ। तर, उनले समाजिक सञ्जालमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा भारत सरकारको पूर्ण साथ रहने उल्लेख गरिसकेका छन्। यद्यपि, पहिला गरेका केही प्रतिवद्धताहरू अझै पूरा गर्नबाट भने उनी चुकेका छन्।

नेपाल-भारत सीमा बन्यो त ब्रिज?

मोदीले पहिलो पटक नेपाल भ्रमणका क्रममा नेपाल–भारत सीमा अवरोध हुन नहुने बताएका थिए। जसले गर्दा दुवै देशको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो।

लामो समयदेखि नेपाल-भारतको सीमानामा बेला-बेला अवरोध हुने गरेको छ। त्यसबेला मोदीले सीमा ‘ब्यरियर’ होइन ‘ब्रिज’ बन्नुपर्ने बताएका थिए। तर, हालसम्म ‘ब्रिज’ भने बन्न सकेको छैन।

अहिले पनि पटक-पटक सीमा विवादका घटनाहरू आइरहेका छन्। यस्तै नेपालमा उत्पादित कृषि उपज भारततर्फ निकासी गर्न बेला-बेला समस्या आउने गरेको छ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना

मोदीले संवोधनका क्रममा पाँच हजार छ सय मेगावट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना दुई देशको सहकार्यमा एक वर्षभित्र सम्पन्न हुने दाबी गरेका थिए। तर, उक्त आयोजना वर्षैदेखि अलपत्र छ। नेपाल-भारतबीचको सीमा पर्ने भएकाले पटकपटक यहाँ पानी विवादसमेत हुँदै आएको छ।

मोदीले पहिलो भ्रमणका क्रममा भारत ‘प्रोएक्टिभ’ भएर काम गर्ने बताएका थिए। उक्त योजना निर्माण भएपछि नेपालमा पाँच गुणा विद्युत उत्पादन हुने उनको दाबी थियो।

महाकालीमा पुल

तत्कालीन समयमा नेपाल सरकारले महाकाली नदीमा चार लेनको पुल बनाउन भारत सरकारसँग आग्रह गरेको थियो। त्यस क्रममा मोदीले पनि बनाइदिने आश्वासन दिएका थिए।

उनले भनेका थिए,‘नेपाललाई दुःख पर्दा भारतलाई पनि दुख्छ। हामी यति नजिक छौँ। अब महाकालीमा पुल बनेपछि हाम्रो दूरी अझ नजिक हुने छ। हामी महाकालीमा पुल बनाउन सहयोग गछौँ।’ तर, भारतीय पक्षले समयमा रकम उपलब्ध नगराउँदा नेपालले अाफ्नै खर्चमा उक्त स्थानको पुल निर्माण सुरु गरेको छ।

स्याटलाइट

मोदीले संसदबाट भारतको नेतृत्वमा सार्क राष्ट्रका लागि अन्तरिक्षमा एउटा भू-उपग्रह (स्याटलाइट) स्थापना गरिने बताएका थिए। जसबाट सार्क राष्ट्रले लाभ लिन सक्ने उनले उद्घोष गरेका थिए। उक्त भू-उपग्रहको माध्यमबाट शिक्षा र सञ्चारको क्षेत्रमा फाइदा पुग्ने बताएका थिए। तर, अहिलेसम्म स्याटलाइट स्थापना हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.