|

काठमाडौं  : संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपाल को आन्तरिक अवस्था ‘भद्रगोल’ बन्दै गएकोे छ। भद्रगोल अवस्थाकै कारण जनताबीच पार्टी कमजोर र प्रभावहीन बन्न थालेको छ।

७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालमा पार्टी सञ्चालनका लागि विधानसमेत अभाव छ। पूर्ण विधान नभएकै कारण सो पार्टी विधिवत रूपमा सञ्चालन हुन सकेको छैन।

पार्टी एकीकरण गर्दैगर्दा नेताहरूले एक वर्षभित्र एकता महाधिवेशन गर्ने उद्घोष गरेका थिए। तर, एकीकरण भएको एक वर्ष बितिसक्दासमेत अधिवेशनको तयारीसमेत हुन सकेको छैन। पार्टी पनि एकीकरणअघि रहेका ६ पार्टीका अध्यक्षको ‘सिन्डिकेट’कै आधारमा सञ्चालन भइरहेको छ।

संघीय संसद्मा चौथो ठूलो दलका रूपमा रहेको राजपा नेपालले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारीसमेत छनोट गर्न सकेको छैन। आन्तरिक विवाद, विधान अभावका कारण पदाधिकारी छनोट गर्न नसकिएको हो।

संसदीय दलको नेता बन्नका लागि अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले लबिङ गरिरहेका छन्। यी दुई नेताबीचको टकरावका कारण राजपा नेपालले संसदीय दलको नेता छनोट गर्न नसकेको हो। दलको नेता छनोट गर्न अध्यक्षमण्डलको बैठक एक महिनाअघि बसे पनि छनोट गर्न सकेन। उता, पछिल्ला दिनमा ठाकुर स्वयं बिरामी परेपछि बैठक वा छलफलसमेत हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.