|

काठमाडौं : मधेश केन्द्रित दलहरूले राज्यसत्ताले आफूहरूको माग पूरा नगरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुखेसो पोख्ने गरेको बेलाबेला चर्चा चल्ने गरेको छ।

संविधान निर्माणपछि मधेसमा भएको आन्दोलनका समयमा पनि उनीहरूले मोदी समक्ष नेपाल सरकारले आफूहरूको माग पूरा नगरेको दुखेसो पोखेको निकै चर्चा चल्यो। अहिले पनि मधेस केन्द्रित दलहरूले संविधान संशोधनको माग गरिरहेका छन्। संविधानले उत्पीडित वर्ग, मधेसी, दलित, आदिवासी, मुस्लिमलगायत समुदायको अधिकार सुनिश्चित नगरेको भन्दै मधेस केन्द्रित दलहरूले सरकारलाई संविधान संशोधनमार्फत अधिकारको रक्षा गर्न माग गरिरहेका छन्।

संविधान संशोधनका लागि संसदमा दुई तिहाई बहुमत आवश्यक पर्छ। दुई तिहाई बहुमत पुर्‍याउन र यही माग पूरा गराउनका लागि उनीहरूले सरकारलाई समर्थनसमेत गरेका छन्।

नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राज्य सत्ताले विभेद गरेको गुनासो गरे। उनले पटक पटक नेपालको केन्द्रीय सरकारले मधेसी समुदायप्रति विभेद गरेको भन्दै मोदी समक्ष गुनासो गरे।

उनले यो गुनासो प्रदेश २ सरकार र जनताको पक्षबाट राखेको बताए। हिन्दी भाषामा सम्बोधन गरेका उनले मोदीलाई स्वागत गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउँदै आफ्ना मनमा रहेका सबै दुखेसो मोदी समक्ष राखे। उनले भने, ‘महामहिमज्यू, अब म तपाईंको ध्यान प्रदेश २ मा आकर्षण गर्न चाहान्छु। यो प्रदेश आर्थिक रूपमा अत्यन्त पछाडि छ।’

राज्यको विभेदकारी नीतिका कारण प्रदेश २ गरिब बन्न पुगेको भन्दै उनले मोदी समक्ष दुखेसो गरे। ‘राज्यद्वारा मधेसप्रति जारी विभेदकारी नीति र पूर्वाहग्रहपूर्ण मानसिकताका कारण मधेसका जनता तुलनात्मक रूपमा गरिब, बेरोजगार, शोषित, उत्पीडित र अभावग्रस्त जीवन जिउन बाध्य भएका छन्’, उनले भने। 
उनले आफूहरूको संघर्ष विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी नै रहेको पनि बताए।

मुख्यमन्त्री राउतले समान्य परिवारबाट आएका मोदी भारतको प्रधानमन्त्री भएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै अवस्था आउनुपर्ने बताए। उनले सबै प्रकारका विभेद अन्त्य गरेर नेपाललाई समृद्ध बनाउनुपर्ने बताए। उनले भने, ‘हामी पनि नेपालको अभिन्न अंग हौँ। देशमा विभेद नहोस् भन्ने हामी चाहन्छौँ। सबै वर्ग, जाति र समुदायले राज्यको हरेका तहमा क्षमताका आधारमा समान अवसर पाउनुपर्छ। जस्तो : महामहिम, तपाईं एक सामान्य परिवारमा जन्मनुभएको हो तर तपाईं भारतको प्रधानमन्त्री जस्तो सर्वोच्च पदमा पुग्न सफल हुनुभयो।’

नेपाल र भारतको सीमामा पटक पटक विवाद उत्पन्न हुने गरेको छ। कहिले सीमाको विवाद हुन्छ त कहिले नेपालमा उत्पादित वस्तु सहज रूपमा निकासी गर्न नपाउँदा समस्या उत्पन्न हुन्छ। सीमा क्षेत्रमा प्राय: भारतीय सुरक्षाकर्मीले दुःख दिइरहन्छन्। सीमामा अापराधिक घटना बढिरहेको छ। जनताले सरकार समक्ष यी समस्या समाधानका लागि पटक पटक आग्रह गरिरहेका छन् तर अधिकांश भूभाग भारतीय सीमासँग जोडिएको प्रदेशका मुख्यमन्त्री राउतले मोदी समक्ष यो कुरा भने उठाएनन्। 

बरु उनले नेपाल र भारतको सीमामा रोटी–बेटीको भावनात्मक सम्बन्ध रहेको बताए। उनले भने, ‘नेपाल र भारतको सीमामा हाम्रो भावनात्मक सम्बन्ध छ। हाम्रो दुई देशका बीच राजनीतिक सीमा छ, जसले हामीलाई अलग हुन दिँदैन। नेपाल–भारत सीमाले पुलको काम गरेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.