|

विराटनगर : सुन तस्करी र सनम शाक्यको हत्याको विषयमा जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरु भएको छ। बिहीबार नै सरकारी वकिलहरूले प्रमाणका रुपमा प्राप्त गरेको भिडियो (श्रव्य–दृश्य) इजलासमा प्रदर्शन गर्न न्यायाधिशसँग अनुमति मागे। 

तर, आवश्यक प्राविधिक सामाग्रीको व्यवस्थापन नहुँदा उक्त दृश्य बिहीबार प्रदर्शन भएन। शुक्रबार पनि सरकारी वकिलहरुले नै बहस प्रारम्भ गरे र दिउँसो २ बजे सके। अदालतकोे अनुमतिअनुसार प्रोजेक्टर व्यवस्था भयो। प्रतिवादीका तर्फबाट बहसमा आएका वकिलहरुले प्रमाणस्वरुप संकलन गरिएको भिडियो नदेखाउन दबाब दिइरहेका थिए। दबाबका बाबजुद आचारसंहिता पालना गराएर बन्द इजलासमा भिडियो देखाउने अनुमति अदालतले दियो। सरकारी वकिलहरूले बन्द इजलासमा भिडियो देखाउन सुरु गरे। बन्द इजलासभित्र दुवै पक्षका वकिल, पीडित र अभियुक्तहरू मात्र थिए। अरुलाई भित्र पस्न दिइएको थिएन।
 
जब भिडियोमा घटनाका मुख्य फरार अभियुक्त चुडामणी उप्रेती (गोरे)ले सनम शाक्यलगायत आफ्ना सहयोगीहरुलाई सुन हराएको विषयलाई लिएर यातना दिएर सोधपुछ गरेको दृश्य सुरु भयो, प्रतिवादीका तर्फबाट बहस गर्न तयार भएर बसेका वकिलहरुले उठेर हो–हल्ला गरे। 

‘अदालतमा पहिलो पटक अव्यवहारिक काम भइरहेकोले तत्काल भिडियो देखाउन बन्द गर्नुप¥यो, श्रीमान्,’ एक वकिलले भने। त्यसपछि अन्य वकिलले होहल्ला गर्न सुरु गरेर भिडियो देखाउने कार्यप्रति आपत्ती जनाए। इजलासमा चर्को हो–हल्ला भएपछि सरकारी वकिलले भिडियो देखाउन रोके। त्यसपछि न्यायाधिश नारायणप्रसाद शर्माले शुक्रबारको इजलास स्थगित गरे। 

शुक्रबार वादीतर्फबाट सातजना सरकारी कार्यालयका वकिलले बहस सकेपछि प्रमाणसहितको भिडियो इजालसमा देखाउन खोज्दा प्रतिवादीतर्फका कानुन व्यवसायहीहरुले रोकेका थिए। 

अवैध रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आएको साढे ३३ किलो सुन हराएपछि मुख्य अभियुक्त चुँडामणि उप्रेती गोरेले यातना दिएको भिडियो र संगठित अपराधमा कसरी सञ्जाल बन्छ भनेर प्रमाणित हुने दृश्य थियो। 

‘प्रमाणसहितको भिडियो देखाएपछि घटना विवरण छर्लङ्ग हुने भएकोले प्रतिवादीको तर्फका कानुन व्यवसायीले प्रतिरक्षा गर्न डराउने भएकोले देखाउन रोक गरेका हुन्,’ उच्च अदालत विराटनगरका सहन्याधिवक्ता चिरन्जीवी पराजुलीले भने, ‘प्रतिवादीतर्फका वकिलले होहल्ला गरेपछि हामीले देखाउन पनि चाहेनम् र सुरु भएको केही मिनेटमै होहल्ला भएपछि हामीले रोकेका हौँ।’ 

‘गोरेले सुन खोज्न यातना दिएको र संगठित अपराध कसरी हुन्छ भन्ने प्रमाण भिडियोमा थियो,’ सरकारी वकिलको कार्यालय मोरङ जिल्ला न्याधिवक्ता पुण्यप्रसाद पाठकले भने, ‘भिडियोमा अभियुक्तहरूसँग वास्तविक रुपमा प्रहरीका बयान, सुन तस्करसँग जोडिएका प्रमाणहरू थिए।’

अवैध सनु र शाक्य हत्याका मुख्य अभियुक्त गोरेको गतिविधि, उनले गरेको फोन संवाद गठित छानविन समितिसँग अभियुक्तले दिएको बयानको समेत भिडियोमा थियो। तीन प्रकारबाट संकलन भएको भिडियोको प्रमाणको रूपमा इजालसमा सरकारी वकिलले पेश गर्ने तयारी गरेका थिए। उक्त प्रमाणित भिडियो प्रतिवादीतर्फका वकिलले देखाउन नहुने तर्क गरी रोकिएपनि त्यसलाई इजालसकै प्रमाणको रुपमा लिइने भएको छ।

प्रतिवादीकोतर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रमाणको रुपमा अदालतमा आइसकेको भिडियो इजालसमा देखाउनुको व्यवहारिक नहुने बताए। ‘प्रमाणको रुपमा अदालतमा भिडियो आएको छ,’ इजालस भित्र जबरजस्ती देखाउनुको औचित्य छैन,’ उनले भने, ‘अहिलेसम्म यस्तो अभ्याससमेत भएको छैन।’ शुक्रबार वादीकोतर्फबाट सरकारी कार्यालयका वकिलले बहस सकेका छन्। 

वादीकोतर्फबाट उच्च अदालतका सहन्यायाधीवक्ता चिरन्जीवी पराजुली, सहन्यायाधीवक्ता गोपाल रिजाल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, उच्च अदालतका निमित सह–न्यायाधिवक्ता मनोज आचार्य, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, सहायक जिल्लान्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्ती बहस गरेका थिए। 

वादीतर्फको बहस शुक्रबार सकिएपछि प्रतिवादीतर्फको वकिलले आइतबारदेखि बहस गर्नेछन्। 

प्रतिवादीतर्फबाट बहस गर्न काठमाडौंदेखि नाम चलेका वरिष्ठ अधिवक्ता सहभागी छन् । प्रतिबादीकोतर्फबाट वकालतनामा दर्ता गर्नेको संख्या ८० पुगेको छ। जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरी उच्च तहका अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा वैशाख १९ गते आपराधिक समूह स्थापना संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार तथा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दायर गरेको थियो। 

अभियुक्तमध्ये पक्राउ परेका ३० जनाविरुद्ध थुनछेक बहस सुरु भएको छ भने ३३ जना फरार छन्।

तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेती (गोरे)को समूहले ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुन चोरी तस्करी गरेको अभियोग छ। उनीहरूसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.