|

काभ्रेपलाञ्चोक : पनौती नगरपालिका-एक रयालेमा बिहीबार बेलुका परेको असिना पानीले करोडौंको तरकारी बाली नष्ट गरेको छ। तरकारीको पकेट क्षेत्र मानिने कुशादेवी र्‍यालेको डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा, फलामे लगायतका ठाउँका किसानले लगाएको आलु, काँक्रो, फर्सी, चिचिण्डो तितेकरेला र भेँडे खुर्सानी लगायतका तरकारीको बोट असिना पानीले नष्ट पारेको हो।

बिहीबार दिउँसो ठूलो मात्रमा परेको असिना पानीले तरकारीको बोट नै नष्ट पारेपछि त्यहाँका किसानहरू चिन्तित बनेका हुन्। किसानले आफूले लगाएको तरकारीको फल फल्न लागेको र फूल फुल्दै गरेको बोट नै नष्ट भएपछि वर्षदिनको कमाई माटोमा मिलेको दुखेसो सुनाए। टापुका किसान गोमा सापकोटोले बारीमा लगाएको तरकारी असिना पानीले नष्ट गरेपछि आफ्नो वर्ष दिनको कमाई खेर गएको बताए। ‘अर्काको बारीमा भाडा तिरेर लगाएको तरकारी खेती पनि सबै नष्ट पारिदियो। अब कसरी छोरा छोरीको पढाई खर्च र घर खर्च चलाउने हो ?’ दुखेसो पोख्दै सापकोटाले भने। खेतीबाट नै जीवन धान्न सजिलो भएकाले सबैथोक त्यसैलाई नै ठानेर खेती कमाइबाट जीवन गुजार्दै आएकी उनले यसवर्ष अब कसरी परिवार धान्ने भन्ने चिन्ताले सताउन थालेको बताइन्। उनले पाँचवर्ष अगाडिदेखि १० रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेती गर्दै आइरहेकी छन्। 

भूइचालो आउँदा बरु बाहिर बसेर खाना खाएर बाँच्न सकिने आधार भएको र अहिले त खाना खाने मुख्य पेशा नै सखाप पारेपछि झन ठूलो समस्या खेप्नु परेको बताइन्। असिना पानीले लगाएको तरकारी बाली नष्ट पारेपछि अब कसरी आम्दानीको विकल्प खोज्ने भन्ने चिन्तामा परेको स्थानीय वासिन्दा राजन सापकोटाले बताए। ‘हिजोसम्म पाखाभित्तामा हरिया थाँक्राभरि फलेका काँक्रा र फूल फुल्दै गरेका तरकारी एकै दिनमा सबै सखाप पारिदियो। अब के गर्ने गर्ने ?’ उनले भने, ‘अब मकै छर्न पनि ढिला भइसक्यो। अरु खेती गर्ने समय पनि वितिसकेकोेले यहाँका आम किसान फतक्कै गलेका छन्।’ किसानका लागि स्थानीय सरकारले तरकारीको बीउ उपलब्ध गराइदिए ठूलो राहत हुने थियो’ सापकोटाले भने। उनले तरकारी खेतीबाट वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी गर्दै आइरहेको बताउँछन्।

अर्का किसान शिवहरी सापकोटाले आफूले लगाएको बाली सबै नष्ट भएकाले स्थानीय सरकारले वीउ मात्रै भए पनि उपलब्ध गराए केही राहत मिल्ने बताए। किसानका लागि पहिलाको अवस्थामा नै ल्याउन स्थानीय तहले सहयोग गर्नुपर्ने अर्का किसान वेदप्रसाद सापकोटाले बताए। ‘अब किसानले लगाएको बालीको विमा गर्ने व्यवस्था हुनुपर्‍यो।’ उनले भने। वडा १ का सचिव शम्भुप्रसाद अधिकारीले क्षतिको विवरण संकलन गरेर नगरपालिकामा पेश गर्ने तयारी भएको बताए। ‘हामीसँग त वडामा बजेट पनि छैन।अब लगत संकलन गरी पठाउने हो। नगरपालिकाले के व्यवस्था गर्छ त्यहीबाट थाहा हुन्छ।’ अधिकारीले भने, ‘असिना पानीले करिब दशदेखि १२ करोड बराबरको तरकारी बाली क्षति भएको अनुमान छ।’ 

एक हजार १२७ घरधुरी रहेको सो क्षेत्रका करिब ९० प्रतिशत बासिन्दाको जीवन खेतीपातीबाटै गुजारा गर्दै आइरहेका छन्। काभ्रेका किसानले फलाएको तरकारी कालीमाटीमा बिक्री हुँदै आएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.