|

काठमाडौं :  उपत्यकाभित्रै रहेका तरकारी बजारमा तरकारीको मूल्य फरक फरक  पाइएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार र अन्य तरकारी बजारमा अनुगमन गर्दा एउटै तरकारीको मूल्य पनि फरक फरक पाइएको हो।

तरकारी व्यवसायीहरूले तरकारीको मूल्य निर्धारणमा मनोमानी गर्दा आपसमा जोडिएर रहेका पसलमै समेत तरकारीको मूल्य फरक फरक हुने गरेको छ। कालीमाटी तरकारी बजारमा हरियो खुर्सानीको खुद्रा मूल्य ४८ रुपैयाँ प्रतिकिलो  छ। तर, त्यही खुर्सानी मैतीदेवीमा ७० रुपैयाँ र कुपण्डोलमा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको पाइयो। त्यस्तै, कालीमाटीमा खुद्रा मूल्य ३८ रुपैयाँ प्रतिकिलोेका दरले रहेको ठूलो गोलभेंडा कुपुण्डोलमा ५० रुपैयाँ प्रतिकिलो र मैतीदेवीमा ४० रुपैयाँ प्रतिकिलोेका दरले बिक्री भइरहेको थियो।

कालीमाटी तरकारी बजारमा प्रतिकिलो ५५ रुपैयाँका दरले रहेको भन्टा कुपुण्डोलमा उपभोक्ताले ७० रुपैयाँमा खरिद गरिरहेको देखियो। खुद्रा विक्रेताहरूले ग्राहकले खरिद गर्ने परिमाणका आधारमा तरकारीको मूल्य निर्धारण गरिने बताएका छन्।

त्यस्तै, सानो गोलभेंडाको मूल्य ठाउँअनुसार २२ रुपैयाँदेखि ४५ रुपैयाँसम्ममा बिक्री गरेको पाइयो। कालीमाटी फलफूल तथा तरकारी बजारमा ३३ रुपैयाँ प्रतिकिलोेका दरले रहेको काउली अन्य बजारमा ६० रुपैयाँसम्म पर्ने गरेको छ। सोही काउली काभ्रेका किसानले १५ रुपैयाँ प्रतिकिलोेका दरले बिक्री गर्ने गरेका छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले तरकारीको गुणस्तर, खरिदको स्रोत र तरकारी खरिद बिक्रीको तहका आधारमा तरकारीको मूल्य फरक हुने गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.