कुर्दैछन् लोकमानको मुद्दामा सर्वोच्चको फैसला

|
फोटो साभारः panossouthasia.org

काठमाडौं : अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले आइतबार समाचार प्रकाशित गर्‍यो- पत्रकारको निर्वासनले उठ्यो नेपालमा प्रेस स्वतन्त्रतामाथि प्रश्न।

समाचार अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका पत्रकार कुन्द दीक्षितबारे थियो। समाचारमा भनिएको थियो- 'काठमाडौंमा एसियाका खोज पत्रकारहरुको सम्मेलन आयोजना गर्न मुख्य भूमिका खेलेका दीक्षित आफै भने कार्यक्रममा उपस्थित हुन सकेनन्। उनी सम्भावित गिरफ्तारीबाट जोगिन यतिबेला निर्वासनमा छन्।'

पत्रकार कुन्द दीक्षित निर्वासनमा रहेको समाचार अन्तर्राष्ट्रिय मिडियामा आएपछि कतिपय नेपाली मिडियाले पनि उक्त समाचार साभार गरे।

एपीमा समाचार आउनुअघि काठमाडौंमा तीन दिनसम्म खोज पत्रकारितासम्बन्धी एसियाली सम्मेलन भएको थियो। सम्मेलनको सहआयोजक खोज पत्रकारिता केन्द्र नेपालका सदस्यसमेत रहेका दीक्षित कार्यक्रममा उपस्थित भएनन् बरु भिडियोमार्फत आफू आउन नसक्नाको कारण सहभागीलाई सुनाए।

त्यही भिडियोमा आधारित थियो एपीको समाचार

दीक्षितको भिडियो सन्देश

असोज ८ गते काठमाडौंको याक यती होटलमा ५० मुलुकका ३ सय ५० खोज पत्रकार भेला भएका थिए। 'अनकभरिङ एसिया' नाम दिइएको उक्त कार्यक्रमको आयोजना खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल, खोपके जस्तै संस्थाहरुको विश्व सञ्जाल 'ग्लोबल इन्भेस्टिगेटिभ जर्नलिज्म नेटवर्क' र जर्मन संस्था कोनराड एडिनोर फाउन्डेसनले गरेका थिए।

'नेपाली टाइम्स' अंग्रेजी साप्ताहिकका सम्पादक समेत रहेका दीक्षितले भिडियो सन्देशमा भनेका छन्- 'म विरुद्ध नेपालमा राजनीतिक रुपमा संगठित गतिविधि भएको छ। त्यसैले म नेपाल आउन सक्ने स्थिति भएन। तपाईँहरुले मेरो मातृभूमिमा राम्रोसँग समय बिताइरहनुभएको छ भन्नेमा म आशावादी छु।'

पुलित्जर पुरस्कार विजेता पत्रकार मार्था मेन्डोजाले काठमाडौं डेटलाइनमा एपीमा लेखेको समाचारपछि कतिपयले प्रश्न उठाएका छन्- कुन्दलाई जबर्जस्ती देश छोड्न बाध्य किन बनाइयो? 

When a state institution pursues you with vengeance, being innocent is not enough @kundadixit was forced to flee

— Rubeena Mahato (@rubeenaa) September 26, 2016

यस्तै कतिपयले प्रश्न उठाएका छन्- कुन्द देश छोडेर किन भाग्नुपर्‍यो? उनले के गल्ती गरेका छन्?

Why did @kundadixit Ji had to leave and what is the meaning of "POSSIBLE ARREST"?
Possible arrest for what? By whom? 😳
Why Kunda Ji anyway? https://t.co/8gVneAxPZ7

— Lhamo Y Sherpa (@Lhamo_Y) September 26, 2016

सरकारको भनाई

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले कुनै पनि नागरिकलाई देशनिकाला नगरिने बरु आवश्यक परेमा सरकारले सुरक्षा प्रदान गर्ने बताए। 'कुनै पनि नागरिकलाई  राज्यले देशनिकाला गर्दैन, सुरक्षा माग गरेको खण्डमा सुरक्षा प्रदान गर्छ', उनले भने, 'कुन्द दीक्षितलाई देश निकाला गरेको भन्ने सत्य होइन।' 

नेपालको संविधानको धारा ४५ मा देशनिकाला विरुद्धको हकमा 'कुनैपनि नागरिकलाई देश निकाला गरिने छैन' उल्लेख छ।

किन विदेश गए दीक्षित?

दीक्षित परिवारमाथि भूमिसुधार मन्त्रालयले जग्गा तथा राजश्व अनुसन्धान विभागले विदेशमा सम्पत्ति रहेको विषयमा छानबिन गरिरहेका छन्।

यी अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दवावमा भैरहेको कुन्द दीक्षितका भाइसमेत रहेका पत्रकार/प्रकाशक कनकमणि दीक्षितले दावी गर्दै आएका छन्।

थाहाखबरसँगको कुराकानीमा उनले अख्तियारको नाम भने लिएनन्। 'एक संस्थाले समानन्तर राज्य चलाएर हामीलाई दुःख दिने काम गरिरहेको छ', दीक्षितले भने 'उहाँलाई पनि दुःख दिने काम भयो। त्यसपछि दाइ बाहिर जानुभएको हो', दीक्षितले भने।

तर एपीको समाचारमा आएजस्तो 'देशनिकाला' शब्दसँग भने विमति राखे। 'देशनिकाला भन्ने शब्दसँग म सहमत छैन', दीक्षितले भने, 'धेरै संस्थालाई दबाव दिएर सामानन्तर राज्य चलाइरहेको संस्थाले बाहिर जाने स्थिति बनाएको हो', उनले भने।

दीक्षितले आफ्ना दाजु कुन्द दीक्षितलाई अख्तियारले दु:ख दिएको बताए पनि अख्तियारले भने यसलाई अस्वीकार गरेको छ। अख्तियारका प्रवक्ता गणेश कार्की कुन्द दीक्षितमाथि अख्तियारले कुनै पनि अनुसन्धान अघि नबढाएको बताउँछन्।

'जग्गाको विषयमा भूमि सुधार मन्त्रालयले अनुसन्धान गरिरहेको होला, राजश्वको विषयमा सम्बन्धित कार्यालयले अनुसन्धान गरेको होला', अख्तियार प्रवक्ता कार्कीले भने 'अख्तियारले कुन्द दीक्षितमाथि कुनै किसिमको अनुसन्धान अघि बढाएको छैन।'

नेपालको प्रेस स्वतन्त्रता

भिडियो सन्देशमा कुन्द दीक्षितले नेपाल सरकारले 'घुमाउरो शैलीमा धम्की दिएर प्रेस स्वतन्त्रता हनन गर्न थालेको' बताएका छन्। पत्रकारलाई जेल हाल्दा प्रेस स्वतन्त्रताका पक्षधरले चर्को विरोध गर्ने भएकाले राज्यले घुमाउरो शैलीमा प्रेस स्वतन्त्रताको हनन् गर्दै सेन्सरसिप लाद्न खोजेको उनको आरोप छ।

'सरकारले पत्रकारलाई दुःख दिने शैली बदलेको छ', उनले भनेका छन्, 'सेन्सरिप लाद्न सरकारले घुमाउरो शैलीमा धम्की दिन्छ। यो झन् खतरानक छ,' कुन्दले भनेका छन्।

नेपालसहित ५० मुलुकका ३५० पत्रकार सहभागी सम्मेलनमा कुन्द दीक्षितले 'लोकतन्त्रिक व्यवस्था भएका नेपाल लगायत अन्य मुलुकमा प्रेस स्वतन्त्रताको स्थिति विरोधाभासपूर्ण भएको' टिप्पणी गरे। तानाशाही राज्य प्रणालीमा समेत भोग्नु नपरेको स्थिति लोकतान्त्रिक प्रणालीमा खप्नुपरेको उनको भनाई थियो।

के यस्तै हो त स्थिति?

खोज पत्रकारिताका केन्द्र नेपालका सम्पादक शिव गाउँले सरकारले आफूप्रति 'क्रिटिकल' (आलोचनात्मक)  मिडियाको हिसाबकिताब मागेर दु:ख दिने काम गरेको बताउँछन्। 'सरकारले सेना वा प्रहरी पठाएर मिडियामा दमन गर्ने नीति परिवर्तन गरेको छ', नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका गाउँले भन्छन्, 'अहिले आफूप्रति 'क्रिटिकल' मिडियाको राजश्वको विषयमा चासो लिन्छ। सबै मिडियाको विषयमा चासो लिनुपर्‍यो नि।'

खोपकेकै महासचिव पवन आचार्य 'धादिङको रेडियोमा भएको आक्रमण र आचारसंहितामा रहेका बन्देजले प्रेस स्वतन्त्रता हनन् गर्न खोजेको देखिने' बताउँछन्।

तर आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक पर्शुराम खरेल नेपालमा 'राजनीतिक वा संस्थागत रुपमा प्रेस स्वतन्त्रता हननको स्थिति नरहेको' बताउँछन्। 'अहिले सरकारी पक्षबाट नेपालमा प्रेस स्वतन्त्रता हननको स्थिति छैन। विदेशी मिडियाले लेखेकै भरमा मात्र विश्वास गर्नुहुँदैन', खरेल भन्छन्, 'वस्तुगत स्थितिको विश्लेषण गर्ने हो भने उहाँले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्नुभएको हो। नेपालमा प्रेस स्वतन्त्रताको स्थिति उहाँले दाबी गरेको जस्तो छैन।'

तर हिमाल मिडियाका प्रकाशक कनकमणि दीक्षित 'ठूला ब्रोडसिट दैनिकमा सरकारको दवाव रहेको' दाबी गर्छन्। 'हिमाल साउथ एसियाको प्रकाशन बन्द हुनुमा पनि राज्यकै दवाब प्रमुख कारण हो', उनी भन्छन्।

कनकमणि संस्थापक सम्पादक रही २९ वर्षदेखि अंग्रेजी भाषामा प्रकाशन हुँदै आएको 'हिमाल साउथ एसिया' यसै वर्षबाट बन्द गर्ने निर्णय दीक्षितसमेत संलग्न हिमाल मिडियाले गरेको थियो। 'राज्यको असहयोगका कारण पत्रिका प्रकाशन बन्द गर्ने निर्णयमा पुगेको' प्रकाशकको दाबी छ।

पत्रकार महासंघ मौन?

पत्रकार र मिडियासँग जोडिएका ससाना विषयमा समेत विज्ञप्ति निकाल्ने नेपाल पत्रकार महासंघ यस विषयमा मौन छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट 'यदि त्यस्तो हो भने दीक्षित विदेशमा बस्न बाध्य पारिनुको कारण महासंघले छिट्टै पत्ता लगाएर आधिकारिक धारणा सार्वजनिक गर्ने' बताउँछन्। 'कुन्द दीक्षितले नेपालमै बसेर पत्रकारिता गर्न पाउनुपर्छ', उनले भने, 'उहाँ जत्तिको प्रतिष्ठित पत्रकारले नेपालमै बसेर पत्रकारिता गर्ने वातावरण किन भएन यो विषय महासंघको गम्भीर चासोको विषय बनेको छ।  फलोअप  गरेर महासंघले आधिकारिक धारणा सार्वजनिक गर्छ।'

कहाँ छन् कुन्द?

काठमाडौंमा आफूविरुद्ध भइरहेको 'संगठित राजनीतिक क्रियाकलाप' का कारण नेपाल आउन नसकेको भन्दै भिडियो सन्देश पठाएका कुन्द दीक्षित कहाँ छन् भन्ने चर्चा सोसल मिडियामा छ। उनको पारिवारिक स्रोतलाई उदृत गर्दै उनी निकट स्रोतका अनुसार उनी सिंगापुरमा छन्। उनले त्यहीँबाट एउटा न्यायिक फैसला पर्खिरहेका छन् जसको आसपासमा मुलुकको वर्तमान राजनीतिसमेत जेलिएको छ। 

उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध सर्वोच्चमा चलिरहेको मुद्दाको नतिजा पर्खिरहेका छन्। 

'उहाँ अहिले कानुनी उपचार खोजिरहनु भएको छ' कुन्दका भाइ कनकमणिले भने, 'सर्वोच्च अदालतको फैसला कुरेर बसिरहनुभएको छ।'

के हो सर्वोच्चको मुद्दा? सर्वोच्चले उठायो आफ्नै पुरानो फैसलामा प्रश्न: अप्ठेरोमा लोकमान

सम्बन्धित समाचारः 'झण्डै बन्द भएको' लोकमानको फाइल यसरी खुल्यो सर्वोच्चमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.