|

दमक(झापा) : मलद्वारमा क्यान्सर भएर रकम अभावमा उपचारबाट वञ्चित झापा दमककी एक युवतीलाई हङकङमा बस्ने नेपालीहरूले करिव १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। हङकङको सामसुइपो नेपाली परिवार र झापा हङकङ समाजको पहलमा संकलन भएको सहयोग शनिबार हस्तान्तरण गरिएको छ।

दमक नगरपालिका २ घर भएकी २४ वर्षीय जानुका पराजुलीलाई हङकङमा बस्ने नेपालीहरूले १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। बिपन्न परिवारकी पराजुलीको उपचारका लागि रकम नभएपछि हङकङमा बस्ने नेपालीहरूले सहयोग रकम संकलन गरी पठाइ दिएका हुन्। विर्तामोडका कुमार राईको पहलमा संकलित सहयोग रकम शनिबार हस्तान्तरण गरिएको हो। 

पराजुली दुई वर्षदेखि घरेलु कामदारको रुपमा हङकङमा बस्दै आएकी थिइन्। रकम संकलनमा पहल गर्दै आएका राईकी छोरी बिनाकुमारी राईको घरमा काम गर्दै आएकी पराजुलीको मलद्धारमा घाउ देखिएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताइन्। चेकजाँचका क्रममा क्यान्सर भनेर प्रमाणित भएपछि थप उपचारका लागि उनलाई नेपाल फर्काइएको थियो। उनी लगभग १४ महिना जति हङकङमा घरेलु कामदार भएर बसेकी थिइन्। 

भारतको दिल्लीमा रहेको राजिबगान्धी क्यान्सर हस्पिटलमा पराजुलीको उपचार हुँदै आएको छ। उपचारमा संलग्न चिकित्सकले शरीरको अन्य भागमा क्यान्सर नफैलिएको हुनाले समयमै उपचार गरेको अवस्थामा रोग ठिक हुने आश्वासन दिएको पीडित पराजुलीले बताइन्। यसअघि झापा हङकङ समाजले तीन लाख १४ हजार रुपैंयाँ सहयोग गरिसकेको छ। त्यो समेत गरेर आफूसँग भएको थप गरी सातलाख रुपैयाँ चेकजाँचमा खर्च भइसकेको उनले बताइन्।

सामसुइपो नेपाली समाजले हङकङले शनिवार नौलाख ८० हजार रुपैंयाँ प्रदान गरेको छ। समाजका अध्यक्ष विनोद राईको सक्रियतामा सो रकम संकलन भएको हो। मलेशियामा रहेका नेपालीहरूले समेत ५० हजार रुपैयाँ संकलन गरेर पठाइदिएको जानकारी उनले दिइन्। सात धूर जग्गामा बनेको टिनको तीनकोठे घरबाहेक पराजुली परिवारको अन्य कुनै चल अचल सम्पति छैन। आमा र भाइसँग उनी त्यो घरमा बस्दै आएकी छन्। ‘कमाएर परिवार पाल्ने म मात्र थिएँ’ पराजुलीले भनिन्, ‘म नै यस्तो अशक्त भएपछि आमाको विचल्ली हुने भएको छ।’ उनका पिताको नौ वर्षअघि निधन भएको थियो। उनको उपचारका लागि आवश्यक पर्ने रकम अभाव भएपछि दमकका अगुवाको सक्रियतामा ‘जानुका पराजुली बचाउ अभियान’ सुरु भएको छ। 

स्थानीय अगुवा लक्ष्मी सुब्बाको नेतृत्वमा गठित समितिले पराजुलीको उपचारका लागि आर्थिक संकलन गर्न थालेको हो। समितिले पराजुलीको उपचारका लागि सहयोग गरिदिन सम्पूर्णमा आग्रह गरेको छ। समितिले पनि आइतबारदेखि सडकमा चिया र बिस्कुट बिक्री गरेर सहयोग संकलन गर्न सुरु गर्ने जनाएको छ। उनको उपचारका लागि राष्ट्रिय वाणिज्य बैंक दमकमा जानुका पराजुली बचाउ अभियानको खाता नम्बर २१४००२५६१११० मा रकम जम्मा गरिदिन समितिले सबैमा आग्रह गरेको छ।

दमक नगरपालिका एकका अध्यक्ष ताराप्रसाद अधिकारीले सरकारको तर्फबाट क्यान्सर पीडितलाई प्रदान गरिने एक लाख रुपैंयाँ पाउनका लागि यथाशक्य चाँडो सिफारिस गरिने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.