|

कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिकाका साविकका लालु माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा बिजुलीका पोल गाडेर तार टाँगिएको छ। पोल गाडिएको वर्षौँ बितिसक्दा पनि यहाँ विद्युत प्रवाह हुन सकेको छैन।

हचुवाका भरमा साविकका गाबिसको विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट ती पोल गाडेर तार डागिएको हो। दश वर्षअघि गाडिएका पोल र टाँगिएका तारबाट विद्युत् प्रवाह नहुँदा पोल र तारमा खिया लागेर करौडौँ रुपैयाँ नोक्सान भएको छ।

तार र पोल अलपत्र

लालु, माल्कोट, कुमालगाउँ, रुप्सा र कोटबाडामा विगतमा साविकका गाबिस र कर्णाली रोजगारको बजेटबाट खरिद गरिएका कयौं पोलहरु लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको शिक्षक नबराज शाहीले बताउँछन्। ‘गाबिस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्न मात्र बिजुलीका पोल खरिद गर्ने निर्णय गरिएको छ।’ उनले भने, ‘बिद्युतको आयोजना नै नभएको ठाउँमा किन पोल र तार चाहियो।’

पोल गाडिएको ती गाउँहरूमा बिद्युत आयोजनाको सर्भे भएका कारणले गाबिसको बजेटबाट पोल खरिद गरिएको गाउँमा पोल गाडिएको नेकपा एमाले नेता एवम् नरहरीनाथ गाउँपालिका अध्यक्ष टंक बिष्टले बताए। ‘दुई ठाउँमा बिद्युत् आयोजना सर्भे भएको छ।’ उनले भने, ‘त्यसो भएर गाबिसको बजेटबाट पोल र तार खरिद गरेका हौँ।’

खर्च कति ?

पोल तारमा साविकको लालु गाविसले आर्थिक वर्ष २०६७/०६८ कर्णाली रोजगार कार्यक्रमबाट ४५ लाख र गाविसको २७ लाख रुपैयाँ खर्च गरेको छ भने माल्कोट गाविसले गरेको खर्चको यकिन विवरण छैन।

कुमालगाउँ गाबिसले आ.व.२०७०/७१ को विकासे अनुदानबाट २५ लाख रुपैयाँ खर्च गरेर पोल खरिद गरिएको अध्यक्ष बिष्टले बताए। 

गाउँमा बिद्युत आयोजनाको पूर्वाधार निर्माण नगरी विद्युतीय पोल र तार ल्याएर अलपत्र अवस्थामा छोड्ने कार्य आर्थिक सहायताको दुरुपयोग भएको स्थानीय सामाजिक अभियान्ता निर्मल कुमारले बताए।

‘विद्युतका पोल र तारका नाममा आर्थिक सहायता दुरुपयोग गर्ने एउटा उद्देश्य देखिन्छ’, उनले भने, ‘न बिद्युत आयोजना छ । न कतैबाट बिद्युत ल्याउने तयारी छ । हचुवाका भरमा बिद्युतका पोल गाडिनुमा मुख्य कारण आर्थिक सहायताको दुरुपयोग हो।’

एउटा मात्र आयोजना

जिल्लामा एउटा ५०० किलोवाटको शान्तिघाट साना जलबिद्युत आयोजना रहेको छ। सो आयोजनाले जिल्लालाई पुग्ने जति विद्युत आपूर्ति गर्न सक्दैन। 

साथै पोल गाडिएका गाउँहरूमा विद्युत आपूर्ति गर्नका लागि नेपाल बिद्युत प्राधिकरण कालिकोट शाखासँग समन्वय नभएको शाखाका एक कर्मचारीले बताए। 

हचुवामा योजना

पोल र तार खरिद गर्ने लक्ष्य आर्थिक अनियमिता नै रहेको नरहरीनाथ गाउँपालिकाका सामाजिक कार्यक्रता बिरेन्द्रबहादुर बुढाले बताए। ‘हचुवाका भरमा पोल र तार खरिद गरियो।’ उनले भने, ‘यसमा तत्कालिन गाबिस, राजनीतिक दलका बोर्ड सदस्यहरूले यो अनियमित गर्ने बाहेक अर्को लक्ष्य राखेनन्।’

करौडौँ रुपैयाँ खर्च गरेर गाडिएका बिजुली पोल र तारहरू अहिले अलपत्र अवस्थामा रहेका छन्। यसरी अलपत्र पारिएका साविकका पाँचवटा गाविसमा गाडिएका बिजुली पोल र तारमा कति खर्च भयो भन्ने प्रमाण कुनै निकायसँग पनि छैन्। 

एउटा लहडमा बिजुली पोल र तारहरु किन्ने र गाउँ गाउँमा गाड्ने काम भएको र त्यसको ठूलो रकम दुरुपयोग भएको स्थानीय रामबहादुर बटालाले बताए। ‘हचुवाका भरमा पोलहरू गाडियो।’ उनले भने, ‘त्यसमा ठूलो रकम दुरुपयोग भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.