|

ललितपुर : आर्थिक क्षेत्रका सुपरिचित ‘विद’ सुजीव शाक्य अब नेपाली पाठकसमक्ष उपस्थित भएका छन् । पब्लिकेशन्स नेपालयले प्रकाशन गरेकोे उनको पुस्तक ‘अर्थात् अर्थतन्त्र’ शनिबार विमोचित भएको छ।

लेखपढमा रुची राख्ने विविध व्यक्तित्वहरूको उपस्थितिका माझ ललितपुरस्थित हिमालय होटलमा सुजीवले आफूलाई प्रस्तुत गरेका थिए। मञ्चमा सुजीवको प्रस्तुतिले अर्थतन्त्रको गाँठोलाई रोचक पाराबाट फुकालेको थियो। आफ्ना विषयलाई वर्णन गर्न उनले पुस्तकमा पनि त्यही शैली अपनाएका छन्। 

‘हाम्रा सबै कुराकानी जताबाट घुमेर गए पनि अन्तिममा टुंगिने त उही अर्थतन्त्रमै हो,’ उनले पुस्तकको नामाकरणको रहस्य खोल्दै भने, ‘त्यसैले यसको नाम ‘अर्थात् अर्थतन्त्र’ राखेको हुँ।’

कार्यक्रमको प्रारम्भ सुजीवले हौस्याँउदै आएका नयाँ पुस्ताका व्यावसायीहरूको प्रस्तुतिबाट भएको थियो । अन्तर्राष्ट्रिय क्षेत्रलाई आकर्षित गर्ने शैक्षिक पृष्ठभूमिका बावजूद नेपालमै केही गरेर देखाउने अठोट बोकेका ती तन्नेरीहरूमा ‘फिनलिट नेपाल’ का प्रकाश कोइराला, ‘अर्बन गर्ल’ की निकिता आचार्य, ‘एभरेष्ट समिट लज’ की केन्चो ओङडी र विद्यार्थीमा सुजीवकै सुपुत्री सुयेशा शाक्य थिए।

त्यसपछि मञ्चमा उपस्थित भएका सुजीवले नेपालका आर्थिक क्षेत्रको विसंगति एक–एक गर्दै गए। आजको युगमा संसार कहाँ छ र हामी कहाँ छौं भन्ने जानकारी दिँदै नेपाली समुन्नतीका आधारहरू पहिल्याउने काम पुस्तकले गरेको उनले बताए। सुजीव अर्थशास्त्रको विद्यार्थी हुन्। अर्कोतिर उनको सानिध्यता नेपाली लेखनको क्षेत्रसँग पनि रहँदै आएको छ।

‘कलिम्पोङमा स्कुल पढ्दा पारसमणि प्रधानको संगत पाएदेखि लिएर नेपाल आएपछि कामकै सिलसिलामा कमलमणि दीक्षितसम्मको सामिप्य पाएँ,’ उनले भने, ‘यसबाट आफूले जानेबुझेका कुरा नेपालीमा लेख्ने हुटहुटी पलाएको हो।’

सुजीवले यसअघि अंग्रेजीमा लेखेको ‘अनलिसिङ नेपाल’ पेन्गुइन बुक हाउसले प्रकाशित गरिसकेको छ। प्रस्तुत पुस्तक भने आफूले मैना धितालको सहयोगमा तयार पारेको उनले जानकारी दिए।

नेपाली अर्थतन्त्रको भाग्यरेखा इतिहासबाटै निर्देशित भएको सुजीवले तर्क छ। त्यसलाई अथ्र्याउँदै उनले एकै कालखण्डमा उदाएका अर्थशास्त्री आदमस्मिथ र नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले पहिल्याएका बाटाहरूबाटै आफ्नो पुस्तक सुरु हुने जानकारी दिए। 

‘नेपालको दुवैतिरका मुलुक न ढुँगा हुन् न हामी तरुल हौं,’ सुजीवको भनाइ थियो, ‘हामी त दुइ विशाल छिमेकी बीचका पुल पो हौँ।’

आफू लामो समय नेपालको निजी क्षेत्रमा संलग्न रहेको बताउने सुजीवले यस मुलुकका निजी क्षेत्रलाई पुस्तकले धेरै प्रश्न उठाएको बताए। कार्यक्रम प्रस्तोताको रुपमा मञ्चमा उभिएका सुजीवले कुसल ढंगबाट दर्शकको ध्यानलाइ निरन्तर आफूमा केन्द्रित गर्न अनेक रोचक सन्दर्भहरु उभ्याएका थिए।

‘नेपालमा कार्टेलिङ र सिन्डिकेटबाट मुक्त एउटै मात्र व्यवसाय मःम पसल हो,’ उनले उपस्थित सबैलाई हँसाउँदै थपे, ‘हाम्रा सम्पूर्ण व्यापारहरू मःम पसलजस्तै प्रतिस्पर्धी र सेवामुखी हुनुपर्छ।’

आफूले मुलुकको उज्यालो भविष्य देखिरहेको बताउने आशावादी सुजीवले त्यसैका बाटा र घुम्तीहरूलाई यो पुस्तकले प्रस्तुत गरेको बताए। कार्यक्रमको अन्त्यमा उनले सहभागीहरूका प्रश्नको जवाफसमेत दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.