|

तुलसीपुर : युवा लेखक जिएस पौडेलले लेखेको पहिलो उपन्यास ‘एक सर्को माया’को तुलसीपुरमा समीक्षा गरिएको छ। प्रेम, जीवन र दर्शनमा आधारित उपन्यासका बारेमा विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरुले धारणा राखेका थिए।

कार्यक्रममा कवि दीपा धितालले उपन्यासमा प्रेमका बारेमा उल्लेख गरिएता पनि चुरोटको विषयलाई वढि प्राथमिकता दिएको भन्दै टिप्पणी गरिन्। उनले उपन्यामा विभिन्न कथाहरु एकआपसमा जेलिएकाले पढ्दै जाँदा नयाँ अनुभूति भएको बताइन्। ‘औसत नेपाली उपन्यास भन्दा यो अलि फरक छ’, उनले भनिन्। 

लेखिका शारदा धितालले उपन्यासमा चुरोटलाई धेरै प्राथमिकता दिएका बताउँदै लागू औषध सेवन र प्रेमलाई समानान्तर दूरीमा देखाउन खोजिएको धारणा राखिन्। ‘प्रेमको स्वेच्छिक व्याख्या गरिएको उपन्यास शैलि र शिल्पगत दृष्टिले नयाँ खालको रहेको छ’, धितालले बताइन् । 

विद्यार्थी राजेश कुँवरले पुस्तकको समीक्षा गर्दै हरेक विद्यार्थीका लागि पुस्तक प्रेरक रहेको बताए। समाजमा विद्यामान जातीय विभेदका विरुद्ध पुस्तकले सशक्त आवाज उठाउन सफल भएको उल्लेख गर्दै कुँवरले सामाजिक विषयवस्तुलाई समेत उपन्यासले समेटेको बताए। ‘मान्छे प्रेम र कुलतमा फसेपछि कहाँबाट कहाँसम्म पुग्छ भन्ने कुरालाई उपन्यासले बलियो ढँगले उठाएको छ’, कुँवरले भने ।

बुलबुल प्रकाशनले प्रकाशित गरेको पुस्तकका कारेमा रेडियो प्रस्तोता अच्युत घिमिरले पनि बोलेका थि । उनले १९औ पुस्तकका रुपमा ‘एक सर्को माया’लाई बुलबुल प्रकाशनले प्रकाशन गरेको बताउँदै नेपाली उपन्यास जगतमा नयाँ प्रयोग भएको समेत बताए । ‘औलामा गन्न सकिने राम्रा उपन्यासभित्र यो उपन्यास पर्दछ’ उनले भने। 

पुस्तकका लेखक जिएस पौडेलले उपन्यासमा प्रेमकथालाई नयाँ ढँगबाट प्रस्तुत गर्ने प्रयास गरेको बताए। आफू माल्दिभ्समा बस्दा अनुभूत गरेको कुरालाई उपन्यासमा उठाएको उनको भनाइ थियो। समीक्षा कार्यक्रमको सहजिकरण साहित्यकार वसन्त विवश आचार्यले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.