'मुख्यमन्त्रीको भाषण आपत्तिजनक'

|
फोटो : रासस

काठमाडौं : जनकपुरको जानकी मन्दिरबाट सुरु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई विभिन्न कोणबाट विश्लेषण र व्याख्या गरिँदै आएको छ। मोदीको भ्रमणलाई कसैले सम्बन्ध सुधार त कसैले पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको बताउँदै आएका छन्। 

मोदीको भ्रमणले नेपालमा रहेका पर्यटकीय स्थलको प्रचार भएको र अब विश्व भरका पर्यटकहरू नेपाल आउने पर्यटन व्यवसायिहरूको आशा छ। मोदीले पनि आफ्नो भाषणमा पर्यटनमा नेपालको धेरै सम्भावना रहेको पटक-पटक उल्लेख गरे। 

करिब ३० घण्टा नेपालमा बिताएका भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न दलका प्रमुख तथा प्रतिनिधिसँग भेटवर्ता गरे। 

भ्रमण उपलब्धिपूर्ण

२०७२ सालमा नेपालमा संविधान जारी भएपछि मधेश केन्द्रित दलहरूको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी गर्‍यो। भारतले अघोसित नाकाबन्दी गर्दा सरकारको बागडोर केपी शर्मा ओलीले सम्हालेका थिए। अोलीले अघोषित नाकाबन्दीको डटेर विरोध गरेपछि नेपाल भारतबीच तिक्तता छायो। तर, मोदीको यो भ्रमणले सम्बन्ध सुधार गर्न उपलब्धिपूर्ण भएको त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभाग प्रमुख डा.खड्ग केसी बताउँछन्।

उनले भने, ‘हुन त यो भ्रमणलाई सबैले आ-आफ्नै दृष्टिकोणबाट व्यख्या गर्छन्। तर, सबै कुरालाई नकारात्मक मात्र हेर्नु भएन। त्यस अर्थ मोदीको यो भ्रमण नाकाबन्दीपछि सम्बन्धलाई सुधार गर्न उपलब्धिपूर्ण छ।’ नाकाबन्दी पछि नेपाली जनताले भारतलाई सधै नकारात्मक दृष्टिकोणबाट हेर्ने गरेका छन्। मोदीले भ्रमणका क्रममा नाकाबन्दी गल्ती थियो भनेर भनिदिउन् भन्ने सबैको अपेक्षा थियो। तर, मोदीले नाकाबन्दीको कुरै गरेनन्। 

नेपाली जनताको यो अपेक्षा भएको भए पनि अब नयाँ ढंगबाट सम्बन्ध सुधार भएको उनी बताउँछन्। भन्छन्,‘ नेपाली जनताले मोदीले नाकाबन्दीको महसुस गरुन् भन्ने अपेक्षा गरेका थिए। तर त्यो हुन सकेन। अब नयाँ शिराबाट सम्बन्धलाई सुधार गर्नुपर्छ। भावनात्मक तरिकाले मात्र राज्य सञ्जालन हुँदैन।’ मोदीले नाकाबन्दीको कुरा गरेको भए सुनमा सुगन्ध हुने उनी बताउँछन्। 

यस्तै, मोदीको भ्रमणले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको उनी बताउँन्छन्। भन्छन्, ‘भारतीय प्रधानमन्त्रीले धार्मिक स्थलको भ्रमण गर्नुभयो। यसले नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको छ।’ भारतीय प्रधानमन्त्री नेपाल भ्रमण आउनु नै महत्त्वपूर्ण उपलब्धि भएको उनीको भनाइ छ। भन्छन्,‘भारतीय प्रधानमन्त्रीहरू लामो समयदेखि नेपाल भ्रमणमा आएका थिएनन्। नेपालबाट मात्र पटकपटक प्रधानमन्त्री भ्रमणमा जाने चलन थियो। मोदीले प्रधानमन्त्री भएपछि मात्र तीन पटक भ्रमण गर्नुभयो। यसले नयाँ 'ट्रेन' देखाएको छ।’

यस्तै, रेल मार्गको सर्वे गर्ने, अरुण तेस्रो जलविद्युत आयोजना शिलन्यास गर्नु, व्यापार घाटा रोक्नलाई प्रधानमन्त्रीले गरेको प्रस्ताव पनि उत्तिकै महत्त्वपूर्ण हुने उनी बताउँछन्।

प्रधानमन्त्री जनकपुर जानु स्वाभाविक 

प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीको स्वागतका लागि जनकपुर गएको भन्दै आलोचना हुँदै आएको छ। तर, ओली जनकपुर पुग्नु स्वाभाविक रहेको  डा.केसी बताउँछन्। प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीलाई स्वागत गर्न विमानस्थल नगएका कारणले विवाद गर्नुपर्ने कारण नरहेको उनी बताउँछन्।

भन्छन्,‘त्यस्तो विवाद गर्नुपर्ने कारण छैन। विमानस्थलमा स्वागतका लागि रक्षामन्त्री ईश्वर पोखरेल जानुभएको थियो। प्रधानमन्त्रीले त जानकी मन्दिरमा स्वागत गर्नुभएको हो। कार्यक्रमका लागि स्वागत गर्नु र कार्यक्रम कै लागि जनकपुर जानु स्वभाविक पनि हो।’

मुख्यमन्त्रीको भाषण आपत्तिजनक

शुक्रबार जनकपुर उपमहानगरपालिकाले मोदीलाई अभिनन्दन गर्न एक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा मोदीका सामू प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशी समुदायले राज्यलाई विभेद गरेको भन्दै गुनासो गरे।

मुख्यमन्त्रीको यो गुनासो आपत्तिजनक रहेको डा.केसी बताउँछन्। भन्छन्,‘नेपालको मामिलालाई उहाँले यसरी अर्को देशको कार्यकारी प्रमुख समक्ष राख्नु आपत्ति जनक थियो। यसरी राख्न पनि हुँदैन थियो।’ कार्यक्रममा उनको भाषण हेरेर मात्र गर्न दिन हुने उनी बताउँछन्। भन्छन्,‘मुख्यमन्त्रीको भाषणलाई हेरेर मात्र बाचन गर्न दिनुपथ्र्यो। यो चाहिँ कमजोरी हो।’

आन्तरिक मामिलामा नबोल्नु मोदीको राम्रो पक्ष

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक मामिलाका विषयमा मोदी समक्ष दुखेसो गरे पनि मोदीले यो विषयमा नबोल्नु धेरै राम्रो पक्ष रहेको डा. केसी भनाइ छ।  उनी भन्छन्, ‘उहाँले नेपालको आन्तरिक मामिलामा नबोलेर धेरै राम्रो गर्नुभयो। उहाँले एक कार्यक्रममा नेपाललाई जे गर्दा राम्रो हुन्छ, त्यही गर्न आग्रह गर्दै भारतको साथ रहने बताउनुभयो। त्यो धेरै राम्रो पक्ष हो।’ 

तर, मोदीका केही प्रतिवद्धता र भाषणहरू अझै पनि विश्वास गरिहाल्न गाह्रो भएको डा. केसीको तर्क छ। उनले भने,‘उहाँ(मोदी)ले पहिला पनि राम्रा कुरा र नेपाललाई समृद्ध बनाउने धेरै प्रतिवद्धता गर्नुभयो। तर पछि नाकाबन्दी भोग्नुपर्‍यो त्यसकारण झट्टै विश्वास गरिहाल्नुपर्ने अवस्था चाहिँ छैन।’

यस्तो रह्यो मोदीको ३० घण्टे नेपाल भ्रमण

पहिलो दिन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा बिहान ९ः४५ बजे आइपुग्ने कार्यतालिका थियो। तर, उनी निर्धारित समयमा आइपुगेनन्। मोदी करिब एक घण्टा ढिला गरी करिब १०ः४५ मा मात्र जनकपुर आइपुगे। त्यसले गर्दा मोदीको दिनभरको कार्यतालिकामा केही ढिला हुन गयो।

उनी जनकपुरको विमानस्थलमा अवतरण हुँदा रक्षामन्त्री ईश्वर पोखरले स्वागत गर्न पुगेका थिए। त्यहाँबाट उनी करिब ४ किलोमिटर दूरीमा रहेको रामजानकी मन्दिरमा गए। उनका लागि त्यहाँसम्म जान भारतबाट ल्याइएको 'बुलेट प्रुफ' गाडी ल्याइएको थियो। 

उनलाई जानकी मन्दिरमा स्वागत गर्न प्रधानमन्त्री ओली पुगेका थिए। जानकी मन्दिरमा भाषण गर्ने क्रममा मोदीले ओलीलाई दुई पटकसम्म कोली भनेर सम्बोधन गरे। नेपालले आफूलाई गरेको स्वागतप्रति खुसी रहेको बताउने क्रममा ओलीलाई कोली सम्बोधन गरेका थिए। उनले भने,‘ स्वागतका लागि यस्तो राम्रो प्रबन्ध मिलाइदिनु भएकोमा नेपालका आदरर्णीय प्रधानमन्त्री मेरा भाइसाब 'कोली'जीलाई धन्यवाद।’

काठमाडौंको यात्रा

नेपालको राजधानी काठमाडौं नआइ सिधै अन्य ठाउँमा पुग्ने सम्भवत् पहिलो नेपालका विशिष्ठ पाहुना भए मोदी। हालसम्म नेपालमा निमन्त्रणा गरिएको विशिष्ठ पाहुनाहरू काठमाडौं नआई सिधै देशको अन्य ठाउँमा गएका थिएनन्। 

उनले जनकपुरका करिब चार घण्टा बिताए। चार घण्टाको समयमा मोदीले जनकी मन्दिरमा विशेष पूजा गर्नुका साथै नागरिक अभिनन्दन ग्रहण गर्नसमेत भ्याए। त्यसपछि ओली काठमाडौं आए। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई स्वागत गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुगेका थिए। 

काठमाडौं आएर मोदीले केही समय आराम गरे। त्यसपछि उनी ‘गार्ड अफ अनर’ ग्रहण गर्न टुँडिखेल पुगे।

त्यसपछि मोदीले प्रधानमन्त्री ओलीसँग एक्लै वार्ता गरे। ओलीसँग वार्ता गरेपछि उनले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरे।  शुक्रबार नै मोदी र ओलीले अरुण तेस्रोको 'स्वीच' थिचेर शिलान्यास गरे। त्यसपछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरियो। 

भ्रमणको दोस्रो दिन

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदी दोस्रो दिनको भ्रमण धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथबाट सुरु भयो। उनी भारतीय सेनाको हेलिकोप्टरमार्फत बिहानै मुक्तिनाथ पुगेर करिब साढे एक घण्टा त्यहाँ बिताए। त्यसपछि काठमाडौं फर्किएका मोदी दिनभर निक्कै व्यस्थ रहे। 

उनी विशेष पूजाका लागि भन्दै पशुपति पुगे र करिब आधा त्यहाँ घण्टा पूजाआजा गरे। त्यसपछि उनले केही नेताहरूसँग भेटघाट गरे। उनलाई भेट्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत अन्य नेताहरू पुगेका थिए। 

त्यसपछि उनी काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा पुगे। त्यहाँ करिब एक घण्टा बिताएपछि उनी भारततर्फ प्रस्थान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.