|

सुर्खेत : सुर्खेतमा आत्महत्या गर्ने दर उच्च रहेको पाइएको छ।

आत्महत्या गर्नेहरूमा झुन्डिएर आत्महत्या संख्या उच्च रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। शनिवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गरिएको सार्वजनिक सुनाई कार्यक्रममा यस्तो जानकारी दिइएको हो।

कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म ५२ जनाले झुण्डिएर आत्महत्या गरेका छन्।  १५ जनाले बिष सेवन गरी आत्महत्या गरेको प्रहरी उपरिक्षक उमाप्रसाद चुतुर्वेदीले जानकारी दिए।

त्यसैगरी यो आर्थिक वर्षमा एक सय ३१ वटा सार्वजनिक अपराध सम्बन्धी मुद्दा कार्यालयमा दर्ता भएको उनले बताए। चालु आर्थिक वर्षको अहिलेसम्म ११ वटा बहुविवाहको मुद्दा कार्यालयमा दर्ता भएको पनि एसपी चतुर्वेदीले बताए। उनका अनुसार लागू औषधसम्बन्धी २४ वटा, जबरजस्ती करणीसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन्।

सुर्खेत प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि गाउँ-गाउँमा पुगेर सचेतनामुलक कार्यक्रम गर्ने, प्रहरीको गस्ती परिचालन गर्नेलगायतका काम गरिरहेको छ। प्रहरीको कार्यालयले प्रत्येक तीन-तीन महिनामा नागरिक सुनुवाई गरेर आफूहरूले गरिरहेको काम र आगामी योजनाको बारेमा जानकारी दिँदै आएको छ।

यसै बीच समाजमा भइरहेका तर बाहिर आउन नसकेका अपराधिक क्रियाकलापप्रति ध्यान दिन सुर्खेत प्रहरीलाई नागरिकहरूले सुझाव दिएका छन्। वीरेन्द्रनगरमा भएको नागरिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि,व्यवसायी, राजनीतिक दललगायत अन्य नागरिकहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई यस्तो सुझाव दिएका हुन्।

यस्तै पछिल्लो समय सुर्खेतको सुरक्षा अवस्था चुनौतिपूर्ण रहेको भन्दै उनीहरूले प्रहरी र नागरिक समाज सबै एक भएर यसतर्फ ध्यान दिनुपर्ने बताएका छन्। कार्यक्रममा सहभागीहरूले भनसुनका आधारमा अपराधीलाई कारवाही गरिँदैन भन्ने गुनासोप्रति पनि प्रहरीलाई गम्भीर हुन सुझाव दिएका छन्। कार्यक्रममा बोल्दै सहभागी रमेश पौडेलले समाजमा धेरै अपराधहरू लुकेर रहेको भन्दै प्रहरीको  ध्यानाकर्षण गराए।

यस्तै, वीरेन्द्रनगर नगरपालिका १२ का वडा सदस्य चन्द्रा धामीले आफ्नो गाउँ नजिक प्रहरी विट मात्रै स्थापना भएको तर प्रहरी नभएको भन्दै गुनासो गरिन्। त्यहाँ हुने घटनाप्रति पनि प्रहरी प्रशासनको ध्यान जानुपर्ने उनले बताइन्।

युवा नेता तोरण विकले जनशक्तिको अभाव छ भन्दै प्रहरी प्रशासन पन्छिन नपाउने बताए। उनले भने ‘जनशक्तिको कमी छ भने सम्बन्धित निकायमा पहल गनु पर्छ तर सुरक्षामा कमि आउनु हुदैन् ।’

राजनीतिक दलका प्रतिनिधिहरूले पनि जिल्लामा शान्ति/सुरक्षाका लागि आफूहरूको साथ सधैँ प्रहरीलाई रहने प्रतिवद्धता जनाएका छन्। प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले शान्ति/सुरक्षा मजबुत बनाउनका लागि नागरिकको साथ अत्यावश्यक रहेको बताए।

उनले सिमीत स्रोत साधनका बाबजुत पनि काम गर्नुपर्ने भएकाले यसमा सबैको सहयोगको खाँचो रहेको बताए। कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले न्याय सम्पादन गर्ने क्रममा कहीँ पनि भनसुनका आधारमा काम नगरिएको स्पष्ट पारे। साथै उनले अपराध नियन्त्रणमा आफूहरू संवेदनशील भएको भन्दै कोही कसैलाई पनि छुट नदिने दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.