थप हवाई रुटको माग

|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संझौता भएको छ। दुई सार्वभौम सम्पन्न राष्ट्रको एकअर्काको आन्तरिक मामिला र वैदेशिक सम्बन्धको मामिलामा हस्तक्षेप नगर्ने संझौता भएको हो। 

आइतबार मोदीको भ्रमणबारे संघीय संसदको प्रतिनिधिसभामा जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको भौगोलिक अखण्डतालाई सम्मान गर्ने सहमति भएको जानकारी दिए। उनले भने, ‘एकअर्काको भौगोलिक अखण्डताको सम्मान गर्ने, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, राष्ट्रियहितमा हस्तक्षेप नगर्ने लगायत कुरा हामीले कुराकानीका क्रममा राखेका छौँ। मोदीजी र मेरो संयुक्त १६ बुँदे वक्तव्यमा पनि उल्लेख छ।’

प्रधानमन्त्री ओलीले विगतमा गरिएका कतिपय सहमति र संझौतालाई कार्यान्वयन गर्नेतर्फ पनि जोड दिएको बताए। उनले भने, ‘विगतमा भएका केही सहमति र संझौताहरू कार्यान्वयनमा ढिलाई भएको छ। ती संझौता उपयुक्त समयमा सकिनुपर्छ भन्नेमा हामीले जोड दियौँ। ’

यस्तै, दुई देशका कृषिमन्त्री तहमा बैठक बसेर सहकार्य र सहयोग अघि बढाइने बताए। उनले भने, ‘नेपाल र भारतको कृषिमन्त्रीको तहमा अब छिट्टै छलफल हुन्छ। अनि नेपाल र भारतको आवस्यकता अनुसार कृषिमा नयाँ संझौता हुन्छ। त्यसका निम्ति हाम्रो आवस्यकता तय हुनुपर्यो। यसका निम्ति मन्त्री स्तरको बैठकबाट तुरुन्त निर्णय हुने सहमति हामीले गरेका छौँ।’

काठमाडौं–रक्सौल रेलमार्ग निर्माणका लागि प्राविधिकहरूको संयुक्त कार्यदल बनाएर सर्भे गर्ने मोदीको भ्रमणका क्रममा सहमति भएको ओलीको भनाइ छ। त्यसका लागि छिट्टै नै समझदारी हस्ताक्षर गर्ने गरी सहमति भएको समेत ओलीले जानकारी दिए। त्यसका निम्ति भारतको तर्फबाट एउटा डिभिजनलाई जिम्मा दिएको र नेपालको तर्फबाट कार्यदल निर्माण गरेर पठाउने संसदलाई जानकारी दिए। ती कार्यदलले छिट्टै काम थाल्ने ओलीले बताए। ओलीका अनुसार उक्त रेलमार्ग भारतकै खर्चमा सर्भे र निर्माण हुने छ।

यस्तै, नेपाल-भारतबीच जलमार्ग सञ्चालन गर्ने विषयमा पनि सहमति भएको थियो। यो विषय ओलीको भ्रमणका क्रममा पनि उठेको थियो। उक्त कामका लागि प्रविधिकको टोली बनाएर तुरुन्त सर्भेक्षण गर्ने सहमति मोदीको भ्रमणका क्रममा भएको छ। 

नेपाल-भारत संयुक्त आयोगको तत्काल विदेशमन्त्री स्तरीय बैठक बोलाउनेरने र सम्बन्धका बारेमा पुनारवलोकन गर्ने विषयमा पनि मोदी र ओलीबीच छलफल भएको थियो। नेपालको आर्थिक विकासमा ध्यान दिने सहमति भएको ओलीले जानकारी दिए। 

नेपाल र भारतबीचको व्यापारमा धेरै नै असन्तुलन छ। नेपालको व्यापार सधैँ नै घाटामा छ। व्यापार घाटालाई सन्तुलन गर्न पनि उपाय अपनाउने सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। उनले भने,‘नेपाल र भारतको व्यापारमा धेरै असन्तुलन छ। असन्तुलन भन्न पनि नसुहाउने असाधारण असन्तुलन छ। त्यसलाई के के बाटोबाट असन्तुलन घटाउन सकिन्छ। त्यसका निम्ति आगामी तीन महिनाभित्र व्यापार सन्धिको समग्र पुनारवलोकन गर्ने र भारतीय बजारमा नेपाली उत्पादनको पहुच पढाउने विषयमा सहमति भएको छ।’

नेपालबाट चिया, अदुवा, जुट, अलौँचीलगायत कृषि उत्पादनहरू भारततर्फ जाने गरेका छन्। तर, यी उत्पादित कृषि जन्यवस्तुको निकासीमा समस्या देखिँदै गएको छ। यसको समस्या समाधानाका निम्ति पनि केही समति भएको प्रधानमन्त्रीले संसदमा जानकारी गराए। 

नेपालमा अहिले अन्तर्राष्ट्रिय हवाई उडानमा एउटा मात्र एयर इन्ट्रि रुट छ। वीरगंज र सिमराबाटको एयर प्रवेश मार्गबाट मात्र उडानहरू काठमाडौं आउन सक्छन्। त्यसका लागि पनि ओलीले मोदी समक्ष कुरा उठाएका छन्। प्रधानमन्त्री ओलीले एयर रुट थप बढाउन माग गरेको बताए। उनले भने, ‘हामीले अब थपएयर रुट चाहिएको बताएका छौं। नेपालगंज, भैरहवा, विराटनगरबाट प्रवेश मार्गको माग गर्‍यौँ। थप चार रुढ दिन प्राविधिक पक्षको अध्धयन गर्न निर्देशन दिएका छौँ। यो २२ सेक्टेम्बरसम्ममा गर्छौँ।’

बर्खायाम लागेपछि प्रत्येक वर्ष नेपालको तराई क्षेत्र डुबानमा पर्ने गरेको छ। सीमानामा बाँध बाँधिने, बाटो बनाउने  पुल बनाइने गरेका कारण नेपालको जमिन डुबानमा पर्ने गरेको छ। 

यो छिमेक सम्बन्ध नसुहाने र अन्यायपूर्ण भएकाले यस विषयमा पनि कुरा राखेको ओलीले संसदमा जानकारी दिए। अघिल्लो भ्रमणमा पनि यी कुरा उठाएको र अहिले पनि आफूले उठाएको ओलीले बताए।

भारतले आफ्नो जमिन बचाउन नेपालको जमिन डुबानमा पार्नु उचित नभएको बताए। यो समस्या समाधान गर्न भारत तत्पर भएको बताए। यो बर्खाअघि नै अनुगमन टोली बनाएर केही समस्याको समाधान गर्ने सहमति भएको जानकारी गराए। दुईपक्षय उर्जा व्यापारका विषयमा पनि छलफल भएको बताए। 

यसै क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको पनि शिलन्यास भएको ओलीको भनाइ थियो। ओलीले उक्त आयोजना पाँच वर्षभित्र सम्पन्न हुने जानकारी दिए। 
महाकाली नदीमा तीनवटा पुल बनाउने विषयमा आफूहरूदले कुरा राखेको ओलीले जानकारी गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.