|
तस्विर : रासस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकीय भ्रमणका बारेमा आइतवार प्रतिनिधिसभामा जानकारी गराएका छन्। संसदको विशेष समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले मोदीको भ्रमणका क्रममा भएका सहमति, सम्झौतामा राष्ट्रिय हितलाई शिरमा राखिएको स्पष्टोक्ति दिएका छन्।

नेपालले कसैसँग पनि दुश्मनी नचाहने र सबैसँग मित्रता चाहने बताउदै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई शिरोधार्य गरिएको बताए। देशको शिर निहुरिन दिने, नोक्सान हुने कार्य आफुले कहिलेपनि नगर्ने बताउदै प्रधानमन्त्री ओलीले विगतमा विग्रिएको भारतसँगको सम्बन्ध सुधारको दिशमा रहेको स्पष्ट पारे।

मोदीको भ्रमणबारे प्रधानमन्त्री ओलीले सहमति, सम्झौता लगायतका विषयहरु यसरी राखे---

नेपाली जनताको सचेतताप्रति आभारी छु

मेरो निमन्त्रणामा छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गरेर स्वदेश फर्कनुभएको छ। यस भ्रमणबारे हामी सबैलाई प्रायः सबै कुराहरु जानकारी नै छन्। आजको सञ्चार सुबिधा र पहुँचको उपलब्धताको समयमा सबैकुरा पारदर्शी नै छन्।

तरपनि कतिपय कुराहरुका सन्दर्भमा जानकारी नभएको अन्यौंल र अष्पष्टता भएको हुन सक्दछ। एउटा छिमेकी देश त्यसमा पनि हाम्रा निम्ती सम्बन्धको निकै धेरै महत्व राख्ने देशको कार्यकारी प्रमुख प्रधानमन्त्री मोदीको औपचारिक र राजकीय भ्रमणको सम्बन्धमा यस गरिमामय संसदले औपचारिक रुपमा जानकारी प्राप्त गर्नु जरुरी हुन्छ। भ्रमण भन्दा अगाडि पनि भ्रमणबारे संसद चालु भएको बेला सबै कुरा राखेकै हुँ।

म नेपाली जनताको देशभक्ति देशप्रतिको सजगताको प्रसंसा गर्न चाहान्छु। यस भ्रमणको क्रममा पनि नेपाली जनताले सरकारलाई लगातार गल्ती नहोस्, कमिकमजोरी नहोस्, कमजोरी नदोहोरियोस्, चुक्ने काम नहोस्, विगतका कमजोरी सच्याउने काम होस् भनेर लगातार खबरदारी गर्ने काम भयो। नेपाली जनता, बुद्धिजिवी, सबैबाट आम चासो र चिन्ता व्यक्त गर्ने काम भयो। राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रियता, अखण्डता, स्वाभिमानप्रति सजग नरहने हो भने यी कुनैपनि कुरा जोगाउन सक्ने अवस्था रहँदैन। नेपाली जनताको जागरुकताले नै यसलाई सफल बनाउने हो।

यस भ्रमण पहिले नेपालका पूर्व प्रधानमन्त्री, पार्टीका नेता, विपक्षी दलका नेता, पूर्व पराष्ट्रमन्त्री, विज्ञ लगायतका व्यक्तिहरुसँग ब्यापक छलफल गरेर मैले सुझावहरु लिएँ। सबैको सुझाव राष्ट्रहितको पक्षमा, सन्तुलित सम्बन्धको पक्षमा, स्वाभिमान झुक्न नदिइकन सम्बन्ध सुमधुर, सुदृढ बनाइयोस र अगाडी बढाइयोस् भनेर एकैकिसिमको थियो। यी महत्वपुर्ण सुझावका लागि हार्दिक धन्यवाद भन्न चाहान्छु।

भ्रमण जनकपुरबाट शुरु भयो। मोदी जीले रामजानकी मन्दिरमा पूजाअर्चना गर्नुभयो। हामीले संयुक्त रुपमा रामायण सर्किटको शुभारम्भ गरेका छौ। यो धनुषा धाम, जनकपुर, त्रिवेणी धामलाई समेटेर बनाइनेछ।

हामीले जनकपुर-अयोध्या सोझो बससेवा पनि संयुक्त रुपमा प्रारम्भ गर्‍याैं। हाम्रा उपमेयर लगायत जनप्रतिनिधिहरुको सहयोगमा पहिलो यात्रा शुरु भयो। अयोध्यामा त्यहाँका मुख्यमन्त्रीले त्यसलाई स्वागत गर्नुभयो। जनकपुरमा मित्रता अभिवृद्धि गर्ने सन्दर्भमा आम जनताका सकारात्मक चासो देखियो। मोदीजीलाई नागरिक अभिनन्दन गरियो। त्यस सन्दर्भमा अभिव्यक्त भएका कति कुरा राष्ट्रिय, कुटनीतिक मर्यादाको कसिमा कमजोर र अनुपयुक्त रहेको पनि देखियो। त्यो अनुभवको कमीका कारण पनि हुन सक्छ। परराष्ट्र सञ्चालनका क्रममा, नेपाल भारतका सम्बन्धका क्रममा नेपाल सरकारको त्यो नीति होइन। त्यसमा हाम्रो स्पष्ट नीति छ।

जनकपुरपछि हामीले काठमाडौंमा स्वागत गर्‍याैं। परराष्ट्र मन्त्रीले शिष्टाचार भेट गर्नुभयो। त्यसपछि उपराष्ट्रपति ज्युसँग र राष्ट्रपति ज्युसँग मोदी जिको शिष्टाचार भेटघाट भयो। हामी दुई प्रमको एक्लाएक्लै भेट पनि गर्‍यौं। दुई पक्षीय वार्ता भयो। 

दोस्रो दिन उहाँ मुस्ताङ जानुभयो। मुस्ताङबाट काठमाडौं फर्किसकेपछि काठमाडौंमा नागरिक अभिनन्दन गरियो। हामीले संयुक्त रुपमा पत्रकार भेटघाट गरी यसबिचमा भएका सहमति, सम्झौताहरु सार्वजनिक गरेका छौं।

नेपाल र भारतबीचको मैत्री सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने। पुराना सोचहरु भन्दा पृथक दुइ सार्वभौमसत्ता सम्पन्न स्वाधिन राष्ट्र हुन्। एकअर्काका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, स्वतन्त्र ढंगले सञ्चालन गर्ने। भौगोलिक अखण्डतालाई सम्मान गर्ने र राष्ट्रिय हितलाई यथोचित ढंगले सम्मान गर्ने। यी कुराहरु कुराकानीका क्रममा १६ बुँदे संयुक्त बक्तव्यमा आएका छन्। मेरो भारत भ्रमणका क्रमममा जारी संयुक्त बक्तव्यमा पनि थुप्रै कुराहरु आएका छन्।

विगतका सम्झौता कार्यान्वयन गर्ने सहमति गरेका छौं

केही विषयमा हामीले सहमति गरेका छौं। विगतमा गरिएका कतिपय सहमति र सम्झौता थिए र छन्। तिनीहरुलाई हामीले कार्यान्वयन गर्नुपर्नेछ। ती कार्यान्वयनमा ढिलाइ भइरहेको छ। अब उपयुक्त समयमा उपयुक्त कार्यान्वयनका लागि समयसिमा तोक्ने कुरा भएको छ। औपचारिक रुपले सेप्टेम्बरको समय तोकेका छौं भने अनौपचारिक रुपले हाम्रो संविधान जारी भएको दिन संविधान दिवसको दिनलाई आधार मानेर विगतका सम्झौतालाई कार्यान्यन गर्ने सहमति गरेका छौं।

दुई देशका कृषि मन्त्री स्तरिय तहमा तत्काल बैठक बसेर कुन ठाउँमा ? के कुरामा ? कुन ठाउँमा ? कस्तो सहयोग अगाडि बढाउने ? पहिले विषय ठाउँ तय हुनुपर्‍यो। त्यसपछि हाम्रा आवश्यकताअनुसार के काम गर्ने तय गर्नुपर्‍यो। त्यो तुरुन्तै गर्ने सहमति गरेका छौ।

काठमाडौ-रक्सौल रेवले निर्माणका लागि प्राविधिकको संयुक्त कार्यदल बनाएर सर्वे गर्ने र यसबारे छिट्टै समझदारी पत्रमा हस्ताक्षर गर्ने कुरा भएको छ। उहाँहरुको तर्फबाट डिभिजनलाई जिम्मा दिइसकिएको छ। हाम्रो तर्फबाट कार्यदल बनाएर काम अगाडी बढाउनुपर्ने छ। भारतकै खर्चमा सर्वेमा तथा लगानिमा त्यो निर्माण हुने हो।

नदीको बाटोबाट जलमार्ग सञ्चालन गर्नेबारे मेरो अघिल्लो भारत भ्रमणमा कुरा अगाडि बढाइएको थियो। प्राविधिकहरुको संयुक्त कार्यदल बनाएर तुरुन्तै सर्भे गर्ने गर्ने कुरा भएको छ। विदेशमन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको तत्काल बैठक बसाउने कुरा भएको छ। आर्थिक विकासको गति दिन कसरी सकिन्छ ध्यान दिने कुरा छ।  

हाम्रो बिचमा ब्यापक ठूलो ब्यापार घाटा छ। यसप्रकारको असाधारण ब्यापार असन्तुलन लाई कुन बाटोबाट घटाउन सकिन्छ ? त्यसबारे ब्यापार सन्धिको आगामी ३ महिनामा समग्र पुनरावलोकन गर्ने। चिया, अलैची, जुटको निकासीमा देखिएका समस्या समाधानमा अविलम्म पहल गर्ने।

हामीसँग विरजञ्ज, सिमरा हुँदै एउटा मात्रै एयर इन्ट्रि रुट छ। अबको समयमा एयर इन्ट्रिय रुट थप हामीलाई चाहिएको छ। थप चार रुट दिन प्राविधिक टोली गठन गरी काम गर्ने कुरा भएको छ। यसलाई २२ सेप्टेम्बरको समय दिएका छौं।

सिमानामा बाँध, पुल, बाटो बनाउने नाममा बनाइने बाँधका कारण नेपालको जमिन डुबानमा पर्ने गरेको छ। यो अत्यन्तै अन्ययायपुर्ण, अनुचित काम भएको छ। यो सुहाउदो छिमेक सम्बन्ध होइन। अघिल्लो भ्रमणमा पनि मैले यसबारे कुरा उठाएको थिए। अहिले पनि उठाएको छु। यो समस्या समाधान हुनुपर्छ। भारतको जमिन र वस्ती बचाउने नाममा हाम्रो जमिन र वस्ती डुवाउने काम उचित हुँन सक्दैन। यो तत्काल समाधान गर्ने कुरा भएका छन्।

यसबारे तत्काल संयुक्त कार्यदल बनाएर त्यसक्षेत्रको भ्रमण गरेर समस्या समाधान गर्नेतर्फ लाग्ने गर्ने कुरा भएको छ।

उर्जा व्यापारबारे पहिले नै सन् २०१४ मा बिटिए गरिसकेका हौं। त्यसबिपरित भारतले ५१ प्रतिशत आफ्नो लगानी राखेको कुरा अगाडी आयो। यो नेपालमा लगानीलाई हतोत्साही गर्ने कार्य हो। २०१४ को सहमति बिपरित हुने त्यस कार्यलाई हटाएर दुइपक्षीय उर्जा व्यापार अगाडी बढाउनुपर्छ भन्ने कुरा गरेका छौ। यसलाई अब ५१ प्रतिशत भारतीय लगानी वा एकपक्षीय कुराबाट नेपालमा लगानीलाई हतोत्साही गर्ने, २०१४ को सहमति बिपरित गर्ने कुरा नगर्ने कुरा भएको छ।

अरुण तेस्रो जलविद्युत परियोजनाको हामीले शिलान्यास गरेका छौ। यसलाई सम्पुर्ण रुपमा आगामी पाँच वर्षभित्र सम्पन्न गरिसक्ने कुरा गरेका छौ। एकैचोटी सबै काम सम्पन्न गरेर ५ वर्षभित्र नौ सय मेगावाट उर्जा उत्पादन र प्रयोग गर्ने उद्देश्यले।

म पहिलोपटक प्रधानमन्त्री भएका बेला यसअघिका पुराना सन्धी सम्झौताको समग्र पुनरावलोकन गर्ने, सुधार, खारेज के गर्ने ? खासगरी १९५० को सन्धि के गर्ने ? भन्ने बारेमा ४ जनाको अध्ययन टोली बनाएका हौं। टोलीले काम गरिरहेको छ। इपिजीको काम अहिलेसम्म सन्तोषजनक छ।

पञ्चेश्वर बहुउद्देश्यी बारेमा टनकपुरमा १३ सय मिटरको लिंक रोड बनाउने सहमति गरिसक्नुभएको छ। दोधारा-चाँदनीबारे के गर्ने ? महाकालीमाथि ३ वटा पुल खासगरी सिर्सिया, झुलाघाट र दार्चुलामा पुल बनाउने कुरा टुङ्ग्याउने कुरा छ। महेन्द्रनगरमा ४ लेनको पुल निर्माण गरिसकेपछि भारततिर ६.८ किलोमिटर बनाउनेबित्तिकै हाइवे नै जोडिन्छ। पहिले तपाइहरुले गर्नुस भनेर हामीले भनेका छौ। यसलाई उहाँहरुले सकारात्मक रुपमा लिनुभएको छ।

बुटवल-गोरखपुर ट्रान्समिसन लाइनका सम्बन्धनमा उर्जा मन्त्रालयको संयुक्त टोली बनाएर काम गर्नेछौ।

हामीले हुलाकी मार्ग निर्माण गरिरहेका छौ। उहाँहरुले गत वर्ष ८० करोड जस्तो उपलब्ध गराउनुभयो। हाम्रो तर्फबाट स्थानीय तवरमा केही कामहरु गर्नुपर्ने छ। यस सम्बन्धमा दुवै तर्फबाट तदारुकता दिने कुरा भएको छ। विराटनगर, भैरहवा, नेपालगञ्जमा इन्टिग्रेटेड चेकपोष्टका सम्बन्धमा छिट्टै काम गर्ने भन्ने कुरा भएको छ। जुट, एलपी ग्यासका समस्या तुरुन्तै समाधान गर्ने भनेका छौ। नेपालका बैंकहरुमा, बैंकिङ सिस्टममा रहेका समस्याहरु। खासगरी नोटहरुका सम्बन्धमा हामली कुरा उठाएका छौ तर, उहाँहरु यस विषयमा खास बोल्नुभएको छैन।

हामीलाई अरु थप बन्दरगाहाहरु आवश्यक पर्छ। त्यसबारे अध्ययन गर्छौ भन्नुभएको छ। हाम्रा मेडिकल विद्यार्थीहरुका विषयमा पनि कुरा उठाएको छु। हाम्रा मेडिकल विद्यार्थीहरुले उनीहरुका विद्यार्थीले पाउने सुविधा पाइरहेका छैनन्। त्यो कुरा उठाएका छौ। हाम्रो मेडिकल काउन्सिलले गरेका सर्टिफाइ नमान्ने कुरा हुदैन मान्नुपर्छ, समान हुनुपर्छ भनेका छौ।

राष्ट्रिय हित छाड्न सक्दैनौं

कुनैपनि कुरा एउटा पनि शब्द, एउटा काम, ब्यवहार राष्ट्रको सार्वभौमसत्ता, स्वाधिन हैसियत, आफ्ना मामलामा आफै निर्णय गर्ने भौगोलिक अखण्डताका प्रश्न राष्ट्रिय हितलाई कुनैपनि हकमा कमजोर हुन दिएका छैनन। हाम्रा सबै लेखन, सम्झौता, सहमति, बक्तव्य पारदर्शी छन्। दुविधा भएमा वक्तव्यमा सामेल नगर्ने तर हामी हाम्रो राष्ट्रिय हित छाड्न सक्दैनौ।

यतिसारो सजगता नअपनाएपनि हुन्थ्यो होला तर विगतका घटनाले पनि होला सजगता धेरै देखियो। सजगता र सुझावका लागि धन्यवाद। हामीले राष्ट्रिय हितका प्रश्नमा जे भएपनि विरोध गर्ने र जे भएपनि समर्थन गर्ने खालको तरिका अवलम्वन गर्नु वान्छनिय हुदैन।

कतिपयले 'वान अन वान' कुराकानीको महत्व र यसप्रकारका भिजिटको महत्व नबुझ्ने कुरा देखिन्छ। मेरो एक महिना अघि भारत भ्रमणका क्रममा त्यहाँका पत्रकारले सोधेका थिए के-के एग्रिमेन्ट/सम्झौता भए ? भनेर। मैले 'मित्रता कुनैपनि सम्झौता,  सहमति भन्दा ठूलो हुन्छ' भनेर जवाफ दिए। कतिपय सामुहिक तवरमा हुन नसकेका काम व्यक्तिगत तवरमा गर्नुपर्छ।

अहिले भन्दा ३ वर्ष अघि तनावग्रस्त अवस्थामा थियौं। त्यस स्थितीबाट नाकाबन्दीको स्थितीमा गयो। म प्रधानमन्त्री हुँदा नाकाबन्दी लागेको थियो। नाकाबन्दीको स्थितीबाट आज कमसेकम नाकाबन्दी नहुने मात्रै होइन सम्बन्ध सुधारको स्थितीमा आइपुगेका छौ। जायज ढंगले बोलिएका कुरालाई अर्थपुर्ण ढंगले नै लिनुपर्छ।

हामी जोसँग पनि सम्बन्ध राष्ट्रिय हित, लाभका लागि सबैसँग सन्तुलित सम्बन्ध गर्छौ। हामी दुश्मनी कसैसँग चाहदैनौं। मित्रता सबैसँग चाहन्छौ, पारस्परिक साथ सहयोग चाहान्छौ। कसैसँग शत्रुता चाहदैनौ।

तीन वर्षअघिको सम्बन्ध तिक्ततायुक्त, तनावयुक्त थियो। म प्रधानमन्त्री हुँदा नाकाबन्दी नखोल्दासम्म म भारत जान्न भने। नाकाबन्दी खोलेर भारत गएँ। त्यसपछि सम्बन्ध सुधारको नयाँ आकार शुरु भयो। बराबरीको हैसियत, बराबरी सम्बन्धको कुरा गर्‍यौं। तिनका आधारमा व्यवहार गर्छाैं।

भारतीय प्रधानमन्त्री मोदीले यस भ्रमणका क्रममा दिइएको अभिव्यक्तिमा हाम्रा सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वभिमानका आधारमा अगाडी बढ्ने कुरा गर्नुभएको छ। यस कुरामा चित्त नदुख्ने र सहयोग रहने कुरा बोल्नुभएको छ। यो सम्बन्धको प्रस्थाविन्दु हो। कतिपयले हाम्रो अखण्डतामाथि चुनौति गरेर, भारतकै कतिपय व्यक्तिले हाम्रो अखण्डतामाथि चुनौती गरेर बोल्ने दुश्साहस गरे। त्यसबारेमा मोदीले पनि बोले। त्यस प्रकारका केही गैरजिम्मेवार तत्व, प्रवृत्ति पनि देखापरे। हाम्रोमा केही-केहीले मोदीलाई स्वागतै गर्नु हुँदैनथ्यो। सम्बन्ध सुधार गर्नैहुदैनथ्यो भन्ने गरे। हामीले सम्बन्ध सुधार गर्नुपर्छ। अन्तराष्ट्रिय अधिकारका साथ न्यायोचित अधिकारका साथ समान सम्बन्ध बनाएर अगाडि बढ्नुपर्छ।

दक्षिण र उत्तर कोरियाका बीचमा लामो समयदेखि त्यत्रो तनाबको स्थिती थियो। अहिले उहाँहरुबीच सम्बन्ध सुधार भयो। चिन र भारतका प्रमुख बीचमा ३ राउण्ड व्यक्ति व्यक्ति र टिमसहित वार्ता भएका छन्। सम्बन्धहरु बिग्रनु नराम्रो हो। कहिलेकाँही विभिन्न कारणले सम्बन्धमा दरार आइदिन्छ। चिसोपनमा खुसी हुने होइन। सम्बन्ध सुध्रिएको राम्रो। त्योबेला पनि हामीले सम्बन्ध बिग्रिएकोमा खुसी छैनौ भनेका थियौं। हामी बिग्रिने कारण समाधान गर्न चाहान्छौ भनेका थियौं। हामीले हस्तक्षेप शिरोधार्य गर्ने होइन। पारस्परिक लाभ, पारस्परिक सहयोग निर्माण गर्ने सम्बन्धमा अगाडी बढ्नुभयो।

मोदीले नेपाल आएर मित्रता अभिवृद्धि गर्ने सम्बन्धमा जुन काम गर्नुभएको छ उहाँप्रति आभार व्यक्त गर्छु। उहाँले सिमानामा बाँध बाँधेर डुबाउछु भन्नुभएको छैन। डुबिएकोमा समाधान गर्छु भन्नुभएको छ।

ढुक्क हुनुभए हुन्छ। हामीले गरेका वक्तव्य, सहमति अध्ययन गर्नुभए हुन्छ। वक्तव्य, घोषणापत्र सार्वजनिक छन। कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु। राष्ट्रिय हितलाई शिरोधार्य गरिएको छ। मनमा राखिएको छ।

देशको शिर निहुरिन दिने काम कहिले गर्दिन

नेपालको स्वाधिनता, स्वाभिमान, सावधानी र सचेत प्रयासको उपज हो। त्यसलाई मैले बुझेको छु। प्रधानमन्त्रीको हैसियताले देशको शिर निहुरिन दिने, नोक्सान पर्न दिने कहिले गर्दिन।

हामी यसै ब्यापार घाटामा छौ अझै घाटामा पर्न दिने। यसै गरिबीमा छौ अझै गरिब हुन दिने कुरा हुन सक्दैनन। मान्य जि हरु आश्वस्त हुनुस, यसपालीको मोदीको भ्रमण दुइ देशको लाभ र स्वाभिमानका पक्षमा भएको छ। अझै काम गर्न धेरै बाँकी छन् यसलाई अगाडी बढाउनुपर्छ। इपिजी क्रियाशिल छ। विभिन्न चरणमा विभिन्न ढंगमा वार्ताहरु भएका छन्।

हामी हाम्रा दुवै ठूला छिमेकीहरुसँग पारस्परिक, भरपर्दो र समान सम्बन्ध कायम गर्छौ। छिट्टै म चिन भ्रमणमा जान्छु। म दुइ छिमेकी बिचमा मात्रै सम्बन्ध राम्रो बनाउने होइन। हामी दुनियाँसँग हिस्सेदारी मद्दत, सुमधुरता कायम गर्छौ। हाम्रो छिमेक सम्बन्ध प्राथमिकताका साथ सन्तुलित ढंगले पारस्परिक लाभका सम्बन्ध हुनुपर्छ। हामी विश्वशान्ति, समृद्धिको पक्षमा छौ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार प्रतिनिधि सभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमणबारे जानकारी गराउदैं)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.