|

चितवन : लौरोको सहारामा खाली खुट्टाले ठमठम हिँड्‍डुल। कुप्रो ज्यान छ। फरासिलो बोली। जीवनको उत्तराद्र्धमा भए पनि युवा जोशमा देखिन्छन्, ८३ वर्षीय झ्यापुराम प्रजा। पटकपटक वीरेन्द्र राजाको दर्शनभेटसँगै तक्मा पाएका झ्यापुराम बुढेसकालमा पनि चेपाङ दाजुभाइको सहाराका लागि अझै दौडिन्छन्।

लोथर, कोराक, सिद्धी धादिङको स्वादुलमा अहिले पनि चर्चित झ्यापुराम एउटा जिउँदो इतिहास हुन्। राप्ती नगरपालिका वडा नम्बर १३ स्यामराङ अर्थात् साबिक लोथर  ७ मा उनको घर।

२०२९ सालतिर गाँमा रुख रोप्ने अभियान चाल्दा आफूविरुद्ध उत्रिएको विरोधको स्वर अझै ताजै छ उनको मानसपटलमा। प्रजादेखि राजासम्मको पहुँचका झ्यापुराम २०३२ देखि ४६ सालसम्मको अवधिमा पटकपटक प्रधानपञ्च बने। जिल्ला पञ्चायतमा मनोनीत पनि भए। 

जिविस सदस्यसमेत बन्ने पहिलो चेपाङ हुन्। विसं २०३१ सालमा राजाको हातबाट गोरखा दक्षिणबाहु प्राप्त गरेका झ्यापुराम राजाको १० पटक दर्शनभेट पाएका थिए । त्यतिबेला दर्शनभेट पाउनु ठूलै महत्त्वको कुरो हुन्थ्यो। 

राजाबाटै ३ हजार पुरस्कार पाउने झ्यापुरामले नै चेपाङ गाउँमा स्कुल बनाउने अभियानको सुरुआत गरेका थियो। ‘यो थाउँ(ठाउँं)मा मलाई चियाउ नै नपर्ने, प्रधानपञ्च हुँदा सबै स्कुल ल्याउने म हो,’ विगत सम्झँदै गर्वका साथ उनले भने। 

राजाले भरतपुरमा जग्गा दिँदासमेत उनले लिएनन्। ‘भैगो, गाउँमै बस्छु भनेर बसेन पो,’ उनले त्यो क्षण स्मरण गरे, ‘राजा वीरेन्द्रबाट दर्शन भेट पाएर मलाई तक्मा दिएको छ, चेपाङको जाति पिछडिएको भनेर सरकारले भरतपुरमा एउटा घडेरी द्‍याथ्यो, तर बस्न मन लागेन, जनतासँग उनीहरुको दुखसुखमा बस्न मन लाग्यो।’ 

गाउँका झगडा मिलाउनेदेखि विहेवारी, भोज भतेरमा अहिले पनि झ्यापुरामको उपस्थिति आवश्यक हुन्छ। चेपाङको अनिकाल हट्न नसकेकोमा चिन्ता व्यक्त गर्ने झ्यापुरामले भने, ‘सरकारले केही गर्दिए हुन्थ्यो।’

जिविस सदस्यसमेत रहेका उनी बहुदल आएपछि स्वर्गीय गिरिजाप्रसाद कोइलालाले आग्रहमा का‌ंग्रेसमा छिरेका हुन्। पारिवारिक पृष्ठभूमि कोट्याउँदै भने, ‘मेरो दुई‘टा श्रीमती गैंसक्यो, २ भाइ छोरा, दुई छोरी हो, नातीहरू सात भाइ छ।’ 

उनको पालामा चितवन जिल्लामा जम्मा बजेट आउँथ्यो पाँच लाख। अहिले बल्ल केही चेपाङले खान पाएको बताउने झ्यापुराम पहिले र अहिले चेपाङमा ठूलो परिवर्तन आएको अनुभव सुनाउँछन्। ‘पहिले त चेपाङहरू म देख्दा भाग्थे, अहिले भाग्दैन, धेरै चलाख भैसकेका छन्,’ उनले भने।
 
पुख्र्याैली घर धादिङबाट विसं २०३५ सालमा चितवन आएका थिए झ्यापुराम। उ बेला बाटो थिएन। अहिले बाटोघाटो बनेकोमा खुसी छन्। तर राम्ररी गाडी चल्ने भएको छैन।

सरकारसँग भने झ्यापुराम आक्रोस पोख्छन्, ‘सरकारलाई भन्नु त धेरै कुरा छ, स्वयं सरकारले चेपाङलाई हेर्नुपर्छ, सबै बाटो बनाउनुपर्छ, अहिलेसम्म अरुअरु संस्थाले हेर्या छ।’

द्वन्द्वका बेला तत्कालिन माओवादीलाई संरक्षण गरेकाले दुःख पाएको अनुभवसमेत उनीसँग ताजै छ। तर राजाको तत्क्माले जोगायो। 

‘अहिले माओवादीको सरकार खै त हाम्ललाई केही गरेन,’ झ्यापुराम आक्रोस पोख्छन्। माओवादी कालमा १७२ जना उनको घरमा बसेका थिए। घरबाट माओवादी गएपछि सेना आएर किन खान दिएको भन्दै झपार्थे।

‘ओई तिम्ले किन खाना ख्वाको’, भनेर सेनाले कञ्चटमा गोली ताक्थ्यो,’ हाउभाउ लगाउँदै भने। ‘खाना त खान्छ त, नखुवाए गोली मार्छ त के गर्ने?’सेनालाई जवाफ दिए।
 

एकदिन राति माओवादीलाई खाना खुवाएको भनेर समातेर पहाडको टुप्पोतिर लग्यो सेनाले। ‘महाराजधिराजले दिएर गएको प्रमाण(तक्मा) थियो र कुटेन, झ्यापुराम सम्झन्छन्।

अरुलाई कति कुट्यो, कुट्यो।’ तक्मा नभएको भए ज्यान के हुन्थ्यो थाहा थिएन। अहिले हामीलाई हेर्‍यो त ? माओवादीको सरकार हो नी खै त हेर्‍या उनले प्रतिप्रश्न गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.