|

नेपालमा एक समय लिगको चर्चा शिखरमा थियो। त्यही समयमा नेपाली फुटबलले एउटा उत्कृष्ट गोलरक्षक पायो। अझ राष्ट्रिय टिमको भरपर्दो विकल्पका रूपमा उभिए, विकेश कुथु। केही समय त उनी राष्ट्रिय टिमका नियमित सदस्यसमेत बनेका थिए।

फुटबलमा आउनका लागि धेरै खेलाडीलाई परिवारको सहयोग रहँदैन, लुकिछिपी फुटबल खेलेर कला देखाएर विस्तारै प्रसिद्ध हुँदै गएपछि फुटबलमा साथ पाउने गर्छन् तर कुथुको भने फरक अनुभव रह्यो। उनको परिवारै फुटबलमा होमिएकाले स्कुल जीवनबाटै उनी फुटबलमा निर्बाध रूपमा आफूलाई प्रस्तुत गर्न सफल भए। त्यसैले उनले ८-९ कक्षाको सानो उमेरमै जिल्लास्तरीय फुटबलमा कहलिए। त्यसो त परिवारको सहयोगका बाबजुद मैदान नहुँदा बाह्रबिसेबाट सात किलोमिटर टाढा रहेको लामोसाँघुमा अभ्यास गर्न पुगेको अनुभवले उनको रहरलाई ‘प्रोफेसन’मा परिणत गरेको थियो।

दाजु बिएम कुथु र मामा बालगोपाल श्रेष्ठले उनलाई फुटबल सिकाउने काम मात्र गरेनन्, फुटबलमा पोख्तसमेत बनाए। मामा श्रेष्ठ एपिएफ क्लवका खेलाडी र दाजु एन्फाको दोस्रो व्याचका खेलाडी भएकाले पनि विकेशलाई फुटबल खेलमा अगाडि बढ्न थप प्रशिक्षक आवश्यक भएन।

यसरी बने गोलरक्षक

मामा नरेन्द्र शाक्यको गोल रक्षा गर्ने तरिकाबाट विकेश निकै प्रभावित बने। उनलाई त्यतिबेला राष्ट्रिय गोलरक्षक हुन्छु भन्दा पनि मामा जस्तो बन्ने रहर थियो अनि उभिन थाले, गोलपोस्टमा। 

२५ वर्षअघि सिन्धुपाल्चोकको बाह्रबिसेमा वीरेन्द्र कुथु र मीना कुथुको कान्छा छोराको रूपमा जन्मिएका कुथुले आफ्नो खेलयाधाबारे सम्झँदै भने, ‘दादाले फुटबल खेल्दा हात भाँचेकाले आमालाई चाहिँ सधैँ डर हुन्थ्यो।’ तर बुबाले भने सधैँ उनलाई फुटबलमा लाग्ने प्रेरणा दिए। त्यसो त विकेशको परिवारमा मामा र दाजु मात्र होइन, फुपू रूपा कुथु पनि महिला राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी बनेकी थिइन्।

राष्ट्रिय क्लवको नजर

जिल्लामा हुने विभिन्न प्रतियोगिताहरूमा स्थानीय सुनकोसी क्लवबाट खेलेका विकेशको चर्चा त्यति बेला चुलियो, जति बेला सिन्धुपाल्चोकको खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता सिन्धु–भोटेकोसी कपमा उनले गरेको प्रदर्शन उत्कृष्ट रह्यो। विकेश सम्झन्छन्, ‘त्यो बेलाको प्रदर्शन मेरो जीवनको कोसेढुंगा नै हो, जसले मलाई राष्ट्रियस्तरमा परिचित गरायो।’ हुन पनि हो, उनले उक्त प्रतियोगितामा विकेश सम्मिलित सुनकोसी क्लवले ए डिभिजनका सफल मानिएका त्रिभुवन आर्मी, नेपाल पुलिस क्लव, एपिएफ र हिमालयन शेर्पा जस्ता नामी क्लवलाई हराउँदै उपाधि जित्यो। घरेलु टोलीले ट्रफी जित्दा कुथुका मामा–भान्जा ‘नायक’ सावित भएका थिए। उक्त खेल हेर्न सारा गाउँले उल्टिएर मैदान पुगेको स्मरण उनको मानसपटलमा ताजै छ। 

कुथु भन्छन्, ‘हामीले चार संस्करणको प्रतियोगिता जित्दा सबै जना भन्नुहुन्थ्योे– सानो भान्जो एक दिन पक्कै ठूलो मान्छे बन्नेछ।’ आफ्नो खेल करियरमा विकेशका दाजु बिएम र मामा बालगोपाल जिल्लाका अब्बल खेलाडीमा गनिन्थे। सिन्धु कप र जिल्लामा प्रतियोगिता हुँदा यी तीन मामा भान्जा एउटै टिमबाट खेल्थे। जमानाका चर्चित खेलाडी बालगोपालको भान्जा भएकाले मैदानभित्र र बाहिर कुथु दाजुभाइलाई सबैले भान्जा नै भन्थे। टिम सदस्य तथा फुटबल गुरु मामा र दाजुलाई उछिन्दै दोस्रो सिन्धु कपमा पाएको उत्कृष्ट गोलकिपरको उपाधि आफ्नो सम्झनलायक पहिलो उपाधि मान्छन् कुथु। 

ग्रामीण भेगमा चर्चित बनिरहेका कुथु स्नातक अध्ययनका लागि काठमाडौं आएसँगै उनको सोही प्रदर्शनका कारण राष्ट्रिय क्लवको नजरमा उनी परेका थिए।  

अमेरिका त्यागेर फुटबल करिअरमा 

स्नातकपछि आमाले छोरो फुटबलमा भन्दा अमेरिका गएर करिअर बनाओस् भन्ने चाहनुभएको थियो। पढाइमा पनि अब्बल भएकाले आमाको इच्छा स्वाभाविक थियो। उनको मनमा जाऊँ भन्ने विचार नआएको पनि होइन तर साथी समिन महतले उनलाई फुटबलमै केही गर्न सकिने भनेपछि उनले अमेरिकी सपना त्यागेर फुटबलमा होमिए।

त्यसपछि उनले पहिलो पटक ०६७ सालमा सरस्वती क्लवबाट एक सिजन खेले र आफ्नो भूमिकाकै कारण क्लवको सम्भावित रेलिगेसन टारे। उनलाई राष्ट्रिय खेलाडीको रूपमा परिचित बनाउने काम भने पूर्व कप्तान तथा उत्कृष्ट गोलरक्षक उपेन्द्रमान सिंहले गरे। सिन्धु कप खेल्न हिमालयन शेर्पा क्लव पनि सिन्धुपाल्चोक जाने गरेको थियो। त्यसको प्रशिक्षकका रूपमा उपेन्द्रमान रहेका थिए। उनै सिंहले कुथुको प्रतिभा चिनेका थिए।

सिंह कुथुलाई गुमाउन चाहँदैनथे। त्यसैले कुथुको गोल रक्षा गर्ने कौशल देखेर उनले २०६८ सालमा हिमालयन शेर्पामा कुथुलाई भित्र्याए। राष्ट्रिय लिग खेलको हिमालयन शेर्पा त्यस समयमा दोस्रो भएको थियो तर कुथुको चर्चा भने पहिलो स्थानमै रह्यो। 

हिमालयन शेर्पामा उत्कृष्ट बनेका कुथु भक्तपुरे क्लव अर्थात उपेन्द्रमान सिंहको क्लव मध्यपुर २०६९ सालमा ए–डिभिजनमा उक्लिएसँगै पहिलो रोजाइको गोलरक्षकको रूपमा टिममा स्थान बनाए। ०६९ सालमा आयोजना भएको एनसेल कपमा उनी मध्यपुरबाट खेल्दै सर्वोत्कृष्ट गोलरक्षक बनेका थिए। २०७० सालमा मध्यपुर छाडेर उनी एक सिजनमा जावलाखेलको गोलपोस्ट सम्हाल्न पुगे।

गोलरक्षकको निखारता थप परिष्कृत हुँदै जाँदा उनले आर्मीको पोस्ट सम्हाल्ने जिम्मा पाए। २०७१ सालमा नवयुग श्रेष्ठ, भरत खवास, राजु तामाङको सहयोगमा पुगेर आर्मीलाई लिगमा दोस्रो स्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उनी सम्झन्छन्। लिगमा उनले आर्मीको तर्फबाट खेल्दै प्रतियोगिताको सबैभन्दा कम गोल खाने गोलरक्षकको कीर्तिमान बनाए।

१६ खेल खेल्दै १३ खेलमा आर्मीको पोस्टमा गोल हुनबाट बचाएका थिए। त्यसयता लगातार आर्मीको पोस्ट सम्हाल्दै आएका छन् उनले। २०७४ सालमा विकेशले आर्मीलाई छवटा खेल पेनाल्टी सुटआउटमा जिताएका थिए, जसमध्ये चारवटा फाइनल खेल थिए।

राष्ट्रिय टोलीमा डेब्यु

२०६६ सालमा १९ वर्षमुनिको राष्ट्रिय टोलीमा उनलाई बोलाइए पनि प्रतियोगिता रद्द भएपछि नेपालको टिमबाट खेल्ने उनको सपना पूरा भएन। २०१२ अगष्ट २६ मा भारतको नेहरू कपमा क्यामरुनविरुद्धको खेलको अन्तिम ३५ मिनेटमा उनले सिनियर टिमबाट डेब्यु गर्ने मौका पाए। पहिलो रोजाइका गोलरक्षक रितेश थापा घाइते भएपछि उनले डेब्यु हुने मौका पाएका थिए। उनी डेब्यु हुनुपूर्व नेपाल ४–० ले पछि परेको थियो। डेब्यु गर्दै गर्दाको क्षण सम्झँदै विकेश भन्छन्, ‘खेल जिताउन त सक्दिनँ होला तर गोल रोक्न सक्छु भन्ने आत्मविश्वासले मैदान छिरेको थिएँ, एक गोल मात्र खाएँ।’ 

नेहरू कपमा १६१औँ वरियताको नेपाल दोस्रो खेलमा क्यामरुनसँग ५–० ले हारेको थियो। उनको यही डेब्यु खेलमा थापालाई म्याच फिक्सिङको आरोप लागेको छ। त्यसयता निरन्तर राष्ट्रिय टिममा पर्दै आए पनि उनी दोस्रो रोजाइमा सीमित थिए। तर पछिल्ला दुई प्रतियोगिमा विकेशले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई दुई उपाधि दिलाउमा महत्त्वपूर्ण योगदान गरिसकेका छन्। उनले नेपाली टिमबाट नौ क्याप जित्दा जम्मा दुई गोल मात्र खाएका छन्।

उपाधि खडेरीको अन्त्य

पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङ नहुँदा विकेशले बंगबन्धुमा नेपालको गोलपोस्ट सम्हाल्ने मौका पाएका थिए। मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशविरुद्ध बराबरी खेल्दा उनले विपक्षी टिमलाई नेपालको पोस्टमा गोल हुने कुनै अवसर दिएनन्। श्रीलंकाविरुद्ध १–० ले विजयी बन्दै सेमिफाइनल पुगेको नेपाली टिमको गोलपोस्टमा ७६औँ मिनेटमा मात्र माल्दिभ्सले गोल गरेको थियो। उक्त प्रतियोगिताको उपाधि जित्दा नेपालको पोस्टमा माल्दिभ्सले एक मात्र गोल गर्न सफल भएको थियो।

नेपाललाई २३ वर्षपछि उपाधिको खडेरी तोडेर बंगबन्धु जिताएपछि उनको चर्चा अझै चुलियो। बंगबन्धु मैदान नेपालका लागि भाग्यशाली खेलमैदान दरियो। सन् १९९३ को साफ गेममा समेत नेपाली टिमले बंगबन्धुमा नै उपाधि जितेको थियो। तत्कालीन समयमा खेलाडीहरू बालगोपाल महर्जन र उपेन्द्रमान सिंह नेपालका प्रशिक्षकको रूपमा बंगबन्धुमा सहभागी थिए। बंगबन्धुको उपाधि जितेको एक महिना नबित्दै नेपालले १२औँ सागमा फुटबलमा गोल्ड मेडल हात पार्दासमेत उनले नेपाली गोलपोस्टमा विपक्षीको दर्जनौँ प्रहार निस्तेज बनाएका थिए। भारतसँगको फाइनल भेट सम्झँदै विकेश भन्छन्, ‘भर्खरै मुलुक नाकाबन्दीबाट मुक्त भएको थियो। हामीले गोल्ड मेडल भन्दा पनि नाकाबन्दीको पीडा सम्झेर खेल्यौँ।’

साग गेमको फाइनलअघि भारतले नेपालको राष्ट्रगान बन्द गरिदिनु आफ्नो फुटबल करियरको अविष्मरणीय पल रहेको विकेश बताउँछन्। ‘भारतले बीचमै राष्ट्रगान बन्द गरिदियो, हामीले आफैँ गाएर पूरा गर्‍यौँ। सायद त्यसैले हुनुपर्छ- सबैले मेडलभन्दा नि आत्मसम्मानका लागि खेल्यौँ।’ अझै पनि उनी करिअरको उत्कृष्ट समयमा छन्। सीमित अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै पनि राष्ट्रिय टिमका भरपर्दो सदस्य बनेका विकेश पछिल्लो समय किरणको पहिलो विकल्पका रूपमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.