|

काठमाडौै‌ं :  'वाह मूर्ति बनाएर पनि पैसा कमाइँदो रै'छ त।' कक्षा सातमा पढ्दै गरेका नविन सुवेदीले पहिलोपल्ट आफ्नो मेहनतको फल पाउँदा दङ्गदास भएर मनमनै गमे। गृहजिल्ला  मोरङमा बाल्यकाल  बिताएका उनले यस्तै माटा र ढुङ्गाबाट मनमौजी रूपमा मूर्ति बनाउन थाले।

एक कान दुर्इ कान मैदान हुँदै उनको कला पूर्वी तराईका फाँटदेखि पहाडी जिल्लासम्म पुग्यो। मान्छेहरु उनलाई देविदेवताका मूर्ति बनाइदिन आग्रह गर्थे। मनमौजी रुपमा मूर्ति बनाउन थालेका उनले केहि पैसा आर्जन गरेपछि बाआमा पनि दङ्ग पर्थे। स्कुलमा उनको प्रशंंसा हुन्थ्यो। उनी भन्छन्, 'जिन्दगीमा एउटा राम्रो मूर्तिकार  बन्छु भन्ने बच्चै देखि अठोट लिएको थिएँ। केही हदसम्म पूरा गरेँ।'

नख्खुस्थित उनको काम गर्ने  थलोमा आइतबार पुग्दा उनी एक्लै महादेवको मूर्तिलाई आकारमा ढाल्दै थिए। लगभग दुई दर्जन मूर्ति बनाइसकेका उनले, मूर्ति बनाउने माटो भक्तपुरबाट ल्याउँछन्। उनी भन्छन्, 'मूर्ति बनाउने यो माटो त्यति उपयुक्त छैन तर विदेशबाट ल्याउन सकिँदैन। त्यसैले यही माटोको भर पर्नु परेको छ।' मोरङमै हुदाँ उनले नेपाली सेलिब्रेटीहरुको मूर्ति बनाएका थिए जुन आजसम्म जारी छ। उनी भन्छन्, 'एकदमै धेरै लहडी मान्छे हुँ म  फूर्सद भयो कि मूर्ति बनाईहाल्थेँ।' उनको रहर नशामा परिणत भयो।

त्यसपछि उनी ललितकला क्याम्पसमा भर्ना हुन काठमाडौं आए। ललितकलापछि उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पास गरे। कीर्तिपुर बसाइ तीन चार  वर्ष रह्यो। ठाउँको अभाव रहेकाले उनी जग्गा खोज्दै नख्खु दोबाटोमा पुगे। अहिले पाँच वर्षका लागि भाडामा लिएर  मूर्ति बनाइरहेका छन्। 'एक्लै छु, काठमाडौंमा चिनेजानेको पनि कोही छैनन्।' यसकारण बजारका लागि समस्या भइरहेको उनले दुखेसो पोखे। राज्यका सबै सयन्त्रमा गएर सहयोग मागे पनि कसैबाट सहयोग नपाएकोमा खिन्न छन्। उनी भन्छन्, 'बजारीकरण गर्न सकेको छैन अर्को कुरा देशमा केही गर्छु भनेर लागेको पनि वर्षौं भयो। अपेक्षाकृत सहयोग पाइएको छैन।'

चन्द्रागिरी डाँडोमा राखिएको पृथ्वीनारायण शाहको पूर्णकदको मूर्ति पनि उनैले बनाएका हुन्। त्यसपछि मात्र अलि चर्चा हुन थालेको छ। चर्चाले मात्र पेट नभरिने हुनाले घर बाटनै पैसा माग्नु पर्ने अवस्था रहेको बताउँछन् उनी। उनले रेजिन फाइबर ग्लास र ढुङ्गाहरुको प्रयोग गरेर नेपाली कला संस्कृति झल्किने मूर्ति बनाइरहेका छन्। कृष्णहरि बराल, रामकृष्ण ढकाल, भक्तराज आचार्य, पारीजात,राजेश हमाल लगायत सेलिब्रेटीहरुको  मूर्ति कुनै उनका घरमा कुनै उनको टहरोमा थन्किएका छन्। 

आफ्नो कला शिल्प र क्षमताको कुनै न कुनै दिन मूल्यांकन हुनेमा ढुक्क रहेका उनी आगामी दिनमा यो कामलाई अलि बृहत् बनाउने  सोचमा छन्। 'अहिलेसम्म देश भित्रका सेलिब्रटी र विशिष्ट व्यक्तिको मात्र बनाइरहेको छु।अब अन्तराष्ट्रिय स्तरका व्यक्तिको पनि बनाएर एउटा पार्कमा सजाउने इच्छा छ।' उनी भन्छन्, 'सके शहर मै बनाउँला नसके आफ्नै गाउँमै भए पनि पार्क बनाउछु।' 

अस्तव्यस्त काठमाडौको भीडभाडबाट अलि पर रहेर आफ्नो कला निखार्दै दिन रात मूर्ति बनाइरहेका ३३ वर्षीय नविन  भन्छन्, 'शहरमा बाँच्न सकिएन भने गाउँ जान्छु। गाउँमा नै खेतीपाती र मूर्ति बनाउने काम गर्नुपर्ला।' विदेश जाने कुरा सोचिसकेका छैनन् उनले। हालसम्म राज्यले केहि नगरेपनी आगामी दिनमा पक्कै केही सहयोग  गरिदेला भन्ने आशामा छन् उनी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.