|

पर्वत : केही दिन यता बढेको गर्मीका कारण जिल्ला अस्पताल पर्वतमा भाइरल प्रभावित बिरामीहरुको संख्या ह्वात्तै बढेको छ। अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने गरे तापनि पछिल्लो समय दैनिक करिब १०० भन्दा बढी बिरामी आउने गरेका छन्। 

गर्मीका कारण भाइरल र ज्वरोका बिरामी पछिल्ला केही दिन यता उच्च दरमा बढेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा. बुद्धिबहादुर थापाले बताए। डा. थापाका अनुसार उपचारका लागि अस्पतालमा आउने बिरामीमध्ये धेरैजसो बालबालिका रहेका छन्। 

१५ शय्या क्षमता रहेको अस्पतालमा बिरामीको चाप अझै बढे बैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गर्नपर्ने अवस्था आएको अस्पताल प्रशासनले बताएको छ। गाउँगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइएको डा. थापाले बताए। 

चिकित्सकका अनुसार बिरामीहरुमा ज्वरोसँगै झाडापखाला, टाइफाइड, रुघाखोकी र छालाका समस्या छ।  अत्यधिक गर्मी, दूषित पानी र खानपिनमा सावधानी नअपनाउँदा र हावाहुरीका कारण भाइरलको प्रकोप बढेको चिकित्सकहरूको भनाइ छ। भाइरलेको प्रकोपबाट बच्न दूषित खाना र खानेपानी प्रयोग नगर्न र संक्रमण देखिएमा तत्काल स्वास्थ्य केन्द्रमा जान चिकित्सकहरूले सुझाव दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.