|

विराटनगरः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा अधिनाकवाद लाद्ने प्रयास गरेको आरोप लगाएका छन्।

विधान मिच्ने, २ महिनामा गर्ने काम २ वर्षमा पनि नगर्ने र प्रादेशीक संरचना निर्माणका क्रममा विधान विपरीत तदर्थ समिति बनाउने प्रयास नै अधिनायकवाद भएको भन्दै कोइरालाले देउवाको नेतृत्वमा कांग्रेस अगाडि बढ्न नसक्ने बताए। 

‘२ महिनामा गर्ने काम २ वर्षमा पनि भएको छैन, विधानको पालना गरिएको छैन, सहमतिलाई पनि कुनै निर्णय गर्दा पालना भएको छैन, प्रादेशीक संरचना बनाउँदा चुनावबाट गर्नुपर्नेमा तदर्थ समिति चयनको बाटोमा लाग्नु भएको छ,’ विराटनगरमा सोमबार प्रेस युनियनले गरेको पत्रकारसम्मेलनमा बोल्दै कोइरालाले भने, ‘यो सबै शक्ति संचय गर्ने अधिनायकवादी चरित्र हो, अधिनायकवाद घरभित्रबाट, संस्था, पार्टी वा सरकारमा जन्मने कुरा हो ।’
वर्तमान नेतृत्व जति लामो रह्यो त्यति नै बढी कांग्रेसलाई घाटा हुने बताउँदै कोइरालाले १ महिनाभित्र जिल्ला सभापतिहरुको भेला गर्ने र १ वर्षभित्रमा अधिवेशन आव्हान गरेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।

‘अहिलेको नेतृत्वबाट नेपाली कांग्रेस अगाडि बढाउँछु भन्ने कुरा गलत छ,’ कोइरालाले भने, ‘सभापतिलाई निरन्तरता दिने भनेको कांग्रेसलाई निरन्तर कमजोर बनाउने प्रयास हो ।’

अर्को प्रसंगमा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अधिनायकवाद लाद्ने प्रयास गरिरहेको बताए। ‘राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान विभाग, अनुगमनको अधिकार, सम्पत्ती सुद्धिकरण विभाग लगायत सबै आफैंले किन राख्नुप¥यो,’ कोइरालाले भने, ‘ प्रधानमन्त्रीले चाहेको बेलामा आफैंले सोधी खोजी गर्ने अधिकार त छँदै थियो, सबै शक्ति आफूमा केन्द्रीत गर्ने प्रयास अधिनायकवादको द्योतक हो ।’

कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको पनि बताए। भारतका प्रधानमन्त्रीले ३ वर्षमा ३ पटक नेपाल आउनु भनेको महत्वपूर्ण उपलब्धी भएको भन्दै कोइरालाले धार्मिक पर्यटनमा पनि यस पटकको भ्रमणले टेवा दिने बताए। मोदीको भ्रमणको बेला २ नम्बर प्रदेशका मुख्यमन्त्रीले जनकपुरमा आयोजित अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्ति असोभनीय रहेको भन्दै कोइरालाले विभेदपूर्ण व्यवहारको विषय घरभित्रै छलफल गरिनुपर्ने र पाहुनाका अगाडि गुनासो गर्नु उपर्युक्त पनि नहुने बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.