|

काठमाडौं : विभिन्न पत्रिकामा प्रकाशित  'बंगुरको मासु नखाँदा नेपाली सेनाको जागिर गयो' भन्ने शीर्षकको समाचारप्रति नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे एक विज्ञप्ति निकालेको छ। 

विज्ञप्तिमा भनिएको छ, 'नेपाली सेना आफैँमा एक समावेशी संगठन भएकाले सम्पूर्ण भाषा, भाषी, जात जातिका व्यक्तिहरुको धर्म, संस्कृति, रितिरिवाज तथा परम्पराको सधैँ उच्च सम्मान गर्दै आइरहेको र सो सन्दर्भमा नेपाली सेनाको स्वीकृत स्केलमा प्राप्त कुखुरा तथा खसीको मासु तथा अण्डा नखाने शाकाहारी सकलदर्जालाई उक्त स्केलबराबरको रकमबाट फलफूल, दूध-दहीजस्ता खाद्यवस्तुको व्यवस्था हुने गरेकोबाट कसैलाई पनि जबरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरिएको स्पष्ट नै रहेकोले पनि भान्छामा पाकेको बंगुरको मासु नखाँदा जागिर गयो भन्ने आशयको समाचार आधारहीन र कपोलकल्पित भएको स्पष्ट हुन्छ।' 

२०६० माघ ५ गते सैन्य दर्जामा भर्ना भई बाँके जिल्लाको राँझास्थित श्री नं. ४ बाहिनी अड्डामा कार्यरत प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाई उपदानमा राजीनामा जान पाऊँ भनी राजी–खुसी सिलसिलेवार पेस गरेको राजीनामाको कागजादअनुसार नै नियमानुसार उपदानमा राजीनामा स्वीकृत भएको हुँदा ‘दबाब र योजनाबाट जागिर गएको’ भनी प्रेशित तथ्यहीन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दछ। 

साथै, यस प्रकारको समाचार प्रसारण पूर्वनेपाली सेनाको सम्बन्धित निकायमा सोधपुछ गर्न सकिने व्यवस्था रहँदा रहँदै सो नगरेको देखिन्छ। सबै जात, जाति, भाषा, भाषीहरु तथा धर्मका व्यक्तिहरु सदिऔँदेखि एक–आपसमा मिलेर बसेको हाम्रो जस्तो समाजमा यस्ता आधारहीन र अतिरञ्जित समाचारबाट सामाजिक एकता र सद्भावमा खलल पुग्न सक्ने वास्तविकतातर्फ सम्बन्धित सबै सम्वेदनशील भई भविष्यमा समाचार सम्प्रेषण हुने कुरामा नेपाली सेना विश्वस्त रहँदै प्रेशित समाचार सच्याउन ध्यानाकर्षणसमेत सेनाले गरेको छ। 

हेर्नुस् विज्ञप्तिको पूर्णपाठ :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.