‘हामीलाई सत्ता जोगाइदिनुपर्‍यो भनेर तमसुक गर्नुपर्दैन’

|

काठमाडौं : प्रतिनिधिसभा बैठकमा दुई दिनयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा प्रश्नहरू उठिरहेका छन्। आइतबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीको भ्रमणबारे सांसदलाई जानकारी गराएपछि सोमबारको बैठका सांसदहरूले मोदीको भ्रमणबारे प्रश्नहरू उठाइरहेका छन्। 

संसदमा उठेका प्रश्नका जवाफ दिने क्रममा सरकारले मोदीको भ्रमण सफल र उपलब्धिपूर्ण भएको बताउँदै आएको छ। मोदीको भ्रमण नेपाल-भारतको सम्बन्ध सुधार गर्नका लागि निकै महत्त्वपूर्ण भएको सरकारको दाबी छ। 

सरकारको तर्फबाट संसदमा उठेका प्रश्नको जवाफ दिँदै  परराष्टमन्त्री प्रदीप ज्ञवालीले के गर्न हुन्छ, के हुँदैन भन्नेबारे सरकारलाई राम्रो हेक्का रहेको बताए। उनले भने, ‘केही सांसदहरूले पाठको कुरा गर्नुभयो। म सधैँ सिक्ने क्रममै हुन्छु तर के गर्न हुन्छ, के गर्नुहुँदैन भन्ने विषयमा सरकारलाई राम्रै हेक्का छ।’ 

उनले मोदीको भ्रमणमा राष्ट्रहितविपरीत कुनै काम नभएको स्पष्ट पारे। उनले भने, ‘हामी राष्ट्रियहितमा सचेत छौँ। भारतीय प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रहितविपरीत कुनै कुरा भएको छैन।’

‘हामीलाई सत्ता जोगाइदिनुपर्‍यो भनेर तमसुक गर्नुपर्दैन’

यस्तै, बैठकमा कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको ‘वान टु वान’ बैठकको औचित्यबारे प्रश्न उठाएका थिए। प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सरकारले राष्ट्रहित राम्ररी चिनेको र राष्ट्रहितकै पक्षमा शपथ पनि खाएकाले यसमा प्रश्न गर्न जरुरी नरहेको बताए। उनले एकान्त वार्ता अन्य देशका सरकार प्रमुख र राष्ट्र प्रमुखबीचमा पनि भएको बताए।

‘यो हाम्रो देशमा मात्र भएको छैन। अन्य देशका राष्ट्र प्रमुख र कार्यकारी प्रमुखबीच पनि हुँदै आएको छ। अौपचारिक बैठकमा समाधान हुन नसकेका कतिपय कुरा अनौपचारिकमा पनि हुन्छ’, उनले भने, ‘भर्खरै हाम्रा छिमेकमा भएको उदाहण पनि छ। चीनका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको वार्ता एउटा उदाहरण हो।’

उनले एक्लाएक्लैको वार्तामा त्यस्तो केही हुनुपर्ने सरकारसँग स्वार्थ नरहेको दाबी गरे। उनले भने, ‘हामीले सत्ता जोगाउनलाई कोहीसँग तमसुक लेखाउनु छैन। हामीसँग जनताको साथ छ।’

‘सम्‍झौताभन्दा सम्बन्ध महत्त्वपूर्ण’

भारतीय प्रधानमन्त्रीको भेटमा रेलमार्ग, जलमार्ग, कृषिका क्षेत्रमा केही काम अघि बढेका सहमति भएको मन्त्री ज्ञवालीले बताए। उनले भने, ‘भ्रमण पहिलाको जस्तो असमान र दाता र माग्ने जस्तो असमान होइन, महत्त्वपूर्ण र समानताका आधारमा भयो।’

उनले भारतीय प्रधानमन्त्रीको भ्रमणले नेपाल-भारत सम्बन्धमा आएको उतारचढावलाई अन्त्य गरेको बताए। उनले दुई देशबीच सम्बन्ध सुदृढ गर्न मोदीको भ्रमणले विश्वासको आधार निर्माण गरेको दाबीसमेत गरे। 

नेपाल र भारतको प्रतिबद्धता र कार्यान्वयनमा खाडल रहेको र यस विषयमा पनि मोदीसँग छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए। उनले भने, ‘नेपाल-भारतबीच भएका सहमति कार्यान्वयनमा केही ग्याप हुँदै आएको छ। सहमति गर्ने र कार्यान्वयन नगर्ने गर्दा मज्जा हुँदैन। यसका लागि नेपालको संविधान दिवस असोज ३ लाई आधार बनाएर कार्यान्वन गर्ने प्रतिबद्धता गरेका छौँ।’

त्यसकारण पनि यस पटकको मोदीको भ्रमणमा धेरै सम्‍झौता नभएको उनले स्पष्ट पारे। उनले भने, ‘लिस्ट मात्र लामो बनाएर मात्र हुँदैन, कार्यान्वयन पनि गर्नुपर्छ। प्रधानमन्त्रीले मोदीलाई सम्‍झौता महत्त्वपूर्ण होइन, सम्बन्ध महत्त्वपूर्ण हो भन्नुभएको छ। सम्बन्ध राम्रो भए संझौता फेरि हुन्छ।’

‘आजादको अभिव्यक्तिको भर्त्सना’

सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट भारतीय विधायक कीर्ति आजादको अभिव्यक्तिप्रति सरकारले भर्त्सना गरेको मन्त्री ज्ञवालीले बताए। उनले यस विषयमा भारतसँग पनि छलफल गर्ने स्पष्ट पारे। उनले भने, ‘आजादको ट्विट नेपाल–भारत सम्बन्ध बिगार्नेतर्फ लक्षित छ। यसप्रति हामी भारत सरकारको ध्यानाकर्षण गराउँछौँ।’

‘बाह्‍य शक्तिको दबाबमा परिवर्तन सम्भव छैन’ 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदीको अभिनन्दनमा दिएको अभिव्यक्तिको विरोध गर्दै सांसदले प्रश्न उठाए। उनीहरूले यो सार्वभौम देशको हितविपरीत भएको धारण राखे। उक्त प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सजगता अपनाउँदा अपनाउँदै पनि केही समस्या आएको स्वीकार गरे।

उनले मुख्यमन्त्रीबाट यस्तो प्रकारको धारणा आउनु राम्रो नभएको बताए। स्थानीय तथा प्रदेश सरकारले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा 'डिल' गर्दा संघीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले मुख्यमन्त्रीको अभिव्यक्ति कूटनीतिक संवाद नभएको धारणा राखे।

मोदीको भ्रमणका लागि आफूहरूले तयारी गर्दागर्दै पनि केही समस्या आएको उनको स्वीकारोक्ति थियो। उनले भने, ‘प्रदेशबाट कुनै देशको कार्यकारी प्रमुखको भ्रमण पहिलो भएकाले पनि हामीमा केही अनुभवको कमी भएको हो। तर हामीले त्यहाँ कार्यक्रमको तयारी गर्दा परराष्ट्र मन्त्रालयबाट एक जना प्रतिनिधि खटाएका थियौँ। भ्रमणको केही दिनअघि म पनि त्यहाँ गएको थिएँ।’

उनले बाह्य शक्तिको दबाबले अब परिवर्तन सम्भव नभएको स्पष्ट पारे। उनले भने, ‘नेपालको संविधानका बारेमा त्यहाँ जे शब्द प्रयोग भयो, त्यो नेपालको राजनीतिक मर्यादामा भएन। उहाँहरूले पनि अब त पाठ सिकिसक्नुभयो होला। कुनै विदेशी शक्तिको दबाबमा परिवर्तन सम्भव छैन। परिवर्तन गर्न त हामी नेपालकै राजनीतिक दल छलफल गरेर अघि बढ्नुपर्छ।’

‘पिएसअो मात्र आएका हुन्’

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था नेपालका सुरक्षाकर्मीले नै मिलाएको दाबी गरे। उनले मोदीसँग केही निजी सुरक्षाकर्मी मात्र आएको बताए। 
उनले भने, ‘भ्रमणको सबै सुरक्षा नेपाली सुरक्षा टोलीले मिलाएको हो। मोदीसँग केही निजी सुरक्षाकर्मी आएका हुन्। यो स्वाभाविक हो। हाम्रा प्रधानमन्त्री भ्रमणमा जाँदा पनि निजी सुरक्षाकर्मी लानुभएको थियो। निजी अंगरक्षक हामी पनि लान्छौँ।।’ उनले नेपालका सुरक्षाकर्मीसँग पूर्ण भरोसा र विश्वास रहेको बताए। 

‘पत्रकारको विषयमा समीक्षा हुन्छ’

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा समाचार संकलनमा गएका पत्रकारलाई समस्या भयो। भ्रमणको दोस्रो दिन शनिबार मोदीलाई काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा अभिनन्दन गर्‍यो। 

अभिनन्दनका क्रममा पत्रकारलाई विशेष पास दिइएको थियो। तर पास भएका केही नेपाली पत्रकारले सभागृहमा प्रवेश पाएनन्। यस विषयमा पनि सांसदहरूले प्रश्न उठाए। 

यस विषयमा सरकार गम्भीर भएको ज्ञवालीले बताए। पास भएका पत्रकारले पनि प्रवेश नपाएको विषयमा समीक्षा हुने उनको भनाइ थियो। उनले भने, ‘नेपाली संचारकर्मीलाई नियन्त्रित गर्नुपर्ने कुनै कारण थिएन। भ्रमणलाई मर्यादित गर्न संचारकर्मीलाई विशेष पास दिएका थियौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.