|

गोरखा : जिल्लाको भीमसेन थापा गाउँपालिकाको केन्द्र विवाद समाधान भएको छ। गाउँपालिकाको केन्द्र खान्चोकमा राख्ने, अधिकांश विषयगत कार्यालय घ्याम्पेसालमा र केही कार्यालय बगुवामा राख्ने गरी विवाद टुंग्याइएको गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए। कार्तिक १९ गते गाउँ कार्यपालिकाको बैठकले बगुवामा संचालन भइरहेको गाउँ कार्यपालिकाको कार्यालय घ्याम्पेसालमा सार्ने निर्णय गरेपछि विवाद सुरु भएको थियो।

बहुमतको उक्त निर्णयप्रति असन्तुष्ट पक्षले बिगत ८९ दिनदेखि रिले अनसन गरिरहेका थिए भने उक्त निर्णय खारेजीको माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। सहमतिपछि आइतबार जुस खुवाइएर अनसन तोडाइएको बगुवाका स्थानीयवासी ध्रुव भट्टले जानकारी दिए। 

राजनीतिक सहमति जुटाउन माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, चूडामणि खड्का, कृष्ण धिताल, जगन्नाथ खनाल, ध्रुव भट्टलगायतका नेता तथा कांग्रेसको तर्फबाट चिनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, हरि घले, राजेन्द्र बजगाइँ, नन्दप्रसाद न्यौपानेलगायत नेताको निरन्तर बैठक भएको थियो। ‘कांग्रेस र माओवादीका जिल्ला तथा केन्द्रीय तहका नेताहरूको निरन्तरको वार्ता तथा संवादपछि हालै विवाद टुंग्याइएको छ’, अध्यक्ष पाण्डेले भने, ‘सहमतिपत्रमा दुवै पार्टीका जिल्ला प्रमुखले संयुक्त हस्ताक्षर गरेर गाउँपालिकालाई दिएको छ। अब केही दिनभित्र गाउँ कार्यपालिकाको बैठक बसी निर्णय कार्यान्वयन तहमा जान्छौँ।’

संयुक्त हस्ताक्षरित पत्रमा आन्दोलनरत पक्षले सर्वोच्चमा दायर रिट फिर्ता लिने, जारी अनसनलगायतका आन्दोलन अन्त्य गर्ने सहमति भएको ध्रुव भट्टले जानकारी दिए। केन्द्रसम्बन्धी विवादका कारण उक्त गाउँपालिकाको विकास निर्माणको काम आठ महिनादेखि अवरुद्ध थियो। आर्थिक लेखापरीक्षण हुन सकेको थिएन भने सम्पन्न भएका केही विकास निर्माणको कामको भुक्तानी पनि हुन नसकेको गाउँपालिकाले जनाएको छ।

विवाद समाधान गर्न संघीय तथा प्रादेशिक सरकारले समेत कार्यदल बनाएर अध्ययन गरी मध्यमार्गी उपाय अपनाएर समाधान गर्न सुझाव दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.