|

कंचनपुर : डकर्मी पेसालाई पुरुषहरूले मात्रै अँगाल्न सक्छन् भन्ने मान्यतालाई कंचनपुरका महिलाहरूले गलत सावित गरेका छन्। यहाँका महिलाहरू दक्ष डकर्मी बनेर आधुनिक घर निर्माणको कार्यमा संलग्न भएका छन्।

पहिला ज्यामी बनेर पुरुष डकर्मीसँगै काम गर्दै आएकी लालझाडी गाउँपालिकाकी आशारानी रानालाई इन्च टेप समातेर घरको  नापनक्सा गर्दै जग राख्ने, पिलर बाँध्ने,  चिनाइको कार्य गरेको देखेर उनलाई चिन्नेहरू जिब्रो टोक्ने गर्छन्।

उनले पुरुष डकर्मीभन्दा राम्रो कार्य गरेर यहाँका महिलाहरूका माझमा अलग्गै पहिचान बनाएकी छन्। तीन वर्षअघि उनले यहाँकै एक गैरसरकारी संस्थाबाट डकर्मीसम्बन्धी सीप सिकेर दक्ष डकर्मी बनेकी हुन। डकर्मी पेसा अपनाएर उनको आर्थिक अवस्थामा समेत निकै सुधार आएको छ। उनी भन्छिन्, ‘डकर्मी पेसाको कमाइले परिवार पाल्न सहज भएकाले भविष्यको जीउने आधार यही पेसालाई बनाउने सोचेकी छु।’

उनीसँगै तालिम लिएर दक्ष बनेका आधा दर्जन महिलाहरू समेत डकर्मी पेसामा आवद्ध भएर काम गर्न थालेका छन्। महिलाले पनि घर बनाउने भनेर विगतमा कामै नदिने स्थानीय वासिन्दाहरूले महिलाहरूले पुरुषको तुलनामा टिकाउ, बलियो, राम्रो डिजाइनका घर इमान्दारी साथ बनाउने भएकाले सहजै काम दिन थालेका छन्।

पहिला सीप नहुँदा पुरुष डकर्मीसँगै ज्यामी बनेर काम गरेको अनुभव सुनाउँदै डकर्मी पेसामा संलग्न शुक्लाफाँटा नगरपालिकाकी सेवारानी चौधरीले भनिन्, ‘ पुरुष ज्यामीभन्दा कम ज्याला पाउने, चाहेको बेला पैसा नपाइने विगतमा समस्या थिए अहिले त्यो समस्या कम छ।’

घर निर्माणसम्बन्धी काम सिकेपछि आफैँ ज्यामी र आफैँ डकर्मी बनेर काम गर्दै आएकाले पुरुषकै दाँजोमा कमाइ हुने गरेको उनको भनाइ छ।

‘परिवारकै सदस्यहरूले समेत महिलाले घर निर्माणको काम गर्न सक्दैनन् भनेर शंकालु नजरले महिलाहरूलाई हेर्ने गर्थे’, उनले भनिन्, ‘घर नै निर्माण गरेर देखाई मनग्य आम्दानी गरेर देखाएपछि घरका सदस्यहरू समेत दंग छन्।’

यहाँका डकर्मी महिलाहरूले सामूहिक रूपमै घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका छन्। हालसम्म विद्यालय भवन, शौचालय, सार्वजनिक भवन, निजी घरहरू गरी तीन दर्जन बढी निर्माणका कार्य सम्पन्न गरेका छन्। डकर्मी महिलाहरूले परिवारबाट हौसला र प्रोत्साहन पाएका कारण काम गर्न झनै हौसला थपिएको बताए। परिवारको हौसलाबाटै समाजमा इज्जत र काम पाउन थालेको अनुभव यी महिलाहरूको छ।

‘सन्तोषजनक रूपमा काम गरेकै कारण घर निर्माण गर्नेहरूले पालो पर्खेर पनि खोजीखोजी काम दिने गरेका छन्’, दीपादेवी चौधरीले भनिन्। विगतमा ज्यामी छँदा ढुंगा बोक्ने, पानी ओसार्ने, सिमेन्ट–बालुवा मिसाएर गारो बनाउने काम गरेर दैनिक १०० देखि १५० रुपैयाँ मुस्किलले पाइने गरेको डकर्मी रुक्मणि रानाले बताइन्। ‘डकर्मी बनेर काम गर्दा आम्दानी चार गुणाले बढेको छ’, उनले भनिन्, ‘चिनजान बढेकाले काम पाउन सहज भएको छ।’

डकर्मी भएर काम गर्दै आएका महिलाहरूले काम गर्न सजिलोका लागि आफूसँगै एक दर्जन बढी महिला ज्यामीलाई रोजगारी दिएका छन्। पुरुष ज्यामीसँग काम गराउन गाह्रो हुने र समस्या राख्न अप्ठ्यारो हुने देखेर महिला ज्यामी राखेर काम गर्दै आएको डकर्मी पेसामा संलग्न महिलाहरूको भनाइ छ। महिला डकर्मीसँग काम गर्न सजिलो भएको र ज्यालासमेत राम्रै पाइएकाले सन्तुष्ट रहेको ज्यामी काम गर्दै आएकी कलावती खुनाले बताइन्।

डकर्मी काम गर्दै आएका महिलाहरूले मासिक रूपमा २५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म कमाउँदै आएका छन्। ज्यामी महिलाहरूले आठ हजारदेखि १० हजार रुपैयाँ कमाउने गरेको उनीहरूले बताए।

डकर्मी पेसाको कमाइले महिलाहरूले परिवारका लागि आवश्यक खाद्यान्न लत्ताकपडा, बालबालिकाको विद्यालयको खर्च जुटाएर केही पैसा वचत गरी केहीले घरघडेरीसमेत जोडेको उनीहरूले बताए। 

आधा आकाश ढाक्ने महिलाहरू पुरुषभन्दा कुनै कुरामा कम नभएकाले महिलाहरूले हिम्मत गरेर आयआर्जनका कार्यक्रम र प्राविधिक कार्य गर्न चुह्लोचौको र मेलापातबाट फुर्सद निकालेर अगाडि सर्नुपर्ने डकर्मी महिलाहरूको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.