|

जनकपुरधाम : कुनै बेला जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानका पर्खालहरू फोहोरले भरिएका हुन्थे। बाह्रविघा रंगभूमि मैदानको चारैतर्फको पर्खालमा स्कुल-कलेज, होटल, सिनेमा हल तथा विभिन्न संघसंस्थाहरूका विज्ञापन, प्रचार प्रसारका सामग्रीहरू टाँसेर कुरूप बनाइएकाे हुन्थ्याे। तर अहिले भने बाह्रविघा केशरिया रङमा रंगिएका मिथिला चित्रकलाले मनमोहक देखिएको छ। अहिले यसले सबैकाे ध्यान अाकर्षित गर्ने गरेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभन्दा केही दिनअघिसम्म कुरूप देखिएका सडक छेउछाउका पर्खालहरू अहिले रंगिएर कलात्मक स्वरूपमा परिवर्तन भएका छन्। मोदी जनकपुरधाम आउन लाग्दा जनकपुरका सार्वजनिक स्थलहरूमा रातारात तयार गरिएको मिथिला चित्रकलाले साँच्चिकै मिथिलाको झल्को दिन थालेको छ।

आफ्नै छुट्टै गौरव र पहिचान बोकेको मिथिला चित्रकला जानकी मन्दिर, विवाह मण्डप र बाह्रविघा मैदानमा सम्भवत: पहिलो पटक यसरी बनाइएको हो। यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवगमनमा रातारात बनाइएको अलौकिक मिथिला चित्रकलालाई यही अवस्थामा संरक्षण गरेर कति दिन राख्न सकिन्छ? त्यो भने चुनौतीपूर्ण रहेको मैथिली भाषाका प्राध्यापक परमेश्वर कापडी बताउँछन्। उनी भन्छन्, ‘मोदीको स्वागतका लागि बनाइएको चित्रकलालाई संरक्षण गर्न सकिए धेरै राम्राे हुन्छ। मिथिला चित्रकला कला मात्र हाेइन। यसमा संस्कृति पनि छ। अहिले यसकाे जर्गेना, विकास र व्यावसायिकताकाे खाँचाे देखिन्छ।’ उनले घर आँगनको शृंगारका लागि कोरिँदै आएको मिथिला चित्रकलालाई यसरी अतिविशिष्ट व्यक्तिको स्वागतमा सजाइँदा यसले मिथिलावासीकै पहिचान स्थापित गराएकाे बताए। यसले संस्कृति संरक्षण र संवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनिल मल्लिक भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा जनकपुरधामका मुख्य सडकको पर्खालमा बनाइएको मिथिला चित्रकलाको संरक्षण गर्न नसकिए पुनः पुरानै अवस्थामा पुग्ने त होइन भन्ने आशंका व्यक्त गर्छन्। मल्लिकले मिथिला चित्रकला एउटा अलौकिक नेपालको सांस्कृतिक सम्पदा भएकाले यसलाई संरक्षण र सम्वर्द्धन गर्न सकिने बताए।

‘जनकपुरकाे पहिचान मिथिला र मैथिली संस्कृतिको प्रवर्द्धन गरी विश्वसामु उभ्याउन सकिन्छ’, उनले भने। मल्लिकले मिथिला चित्रकलाले जनकपुरलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने दाबी गर्दै भने, ‘मोदीको स्वागतमा बनाइएका चित्रकलालाई संरक्षण र संवर्द्धन गरेर कसरी टिकाउने भन्ने महत्त्वपूर्ण विषय हो। चित्रकलालाई सोही अवस्थामा राख्नेमा सरोकारवाला निकाय लाग्न जरुरी छ।’

जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाम मिथिला संस्कृतिको एउटा धरोहर भएको बताए। साहले मिथिला चित्रकला जनकपुरकाे अभिन्न अंग भएकाले यसकाे संरक्षणमा कुनै कसर नराख्ने पनि बताए। उनले कुनै संघसंस्थाले आफ्नोे प्रचार प्रसार सामग्री लगाएको खण्डमा स्पष्टीकरण सोध्नेदेखि लिएर कानुनी उपचारसमेत खोज्ने निर्णय गरिसकेको पनि सुनाए।

प्रमुख साहले भने, ‘जनकपुरको मुख्य सडकको संरक्षण गर्ने दायित्व एउटा सचेत नागरिकलाई पनि जान्छ। त्यसैले सबैले आआफ्नो ठाउँबाट सक्दो संरक्षणको प्रयासमा सहयोग गर्नुपर्छ अनि मात्र संरक्षण सम्भव छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.