|
फाइल फाेटाे

चितवन : संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति जायज भएको दाबी गरेका छन्। अध्यक्ष यादवले मुख्यमन्त्री राउतले मोदीको नागरिक अभिनन्दनका बेला दिएको अभिव्यक्ति देशभक्तिपूर्ण भएको भन्दै त्यसमा विरोध गरिरहन नपर्ने दाबी गरेका हुन्।

सोमबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरूको भेटमा यादवले मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई देश, विदेशका बौद्धिक जगतले समेत यथार्थको चित्रण भनी टिप्पणी गरेको दाबीसमेत गरे। प्रदेश २ को सरकारको नेतृत्व यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले गरेको छ। अध्यक्ष यादवले मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीलाई नभई मुलुकको यथार्थ चित्रण गर्न उक्त अभिव्यक्ति दिएको तर्कसमेत गरे।

अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा दिन नसकेर प्रधानमन्त्री केपी ओलीले मुलुककै अपमान गरेको गम्भीर आरोप पनि लगाए। यादवले नेपाली सेनासहितका सुरक्षा निकायको मनोबल गिराउने गरी सरकारले मोदीको सुरक्षामा भारतीय सुरक्षा फौज परिचालन गरेकोमा आपत्तिसमेत जनाए। केन्द्र सरकारले मोदीलाई सुरक्षा दिन नसकेको सन्देश दिएको अध्यक्ष यादवको भनाइ छ।

अध्यक्ष यादवले मोदीलाई स्वागत गर्न केन्द्र सरकारले मन्त्री पठाउनु पनि सकारात्मक नभएको टिप्पणी गरे। मुख्यमन्त्री राउतले ‘संविधानविरुद्ध संघर्ष गर्नुपरेको’ अभिव्यक्ति मोदीलाई नागरिक अभिनन्दन गर्ने क्रममा दिएपछि त्यसको सर्वत्र आलोचना हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.